जेठ २७, फलेवास | पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा एक व्यक्तिको शनिबार रूखबाट लडेर मृत्यु भएको छ ।

सोलुखुम्बु सल्लेरी घर भई विगत ३ वर्षदेखि सोही क्षेत्रमा मजदुरी गर्दै आएका ४० वर्षीय राजकुमार बस्नेतको रूखबाट लडेर मृत्यु भएको हो । विगत एक महिनादेखि स्थानीय दिलमाया नेपालीको घरमा बस्दै आएका बस्नेत शनिबार साँझ दिलमायाको बारीमा रहेको काभ्रोको रुखमा घाँस काट्न चढदा रूखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रक्सीको नशामा ढोकाको आग्लो प्रहार गर्दा एकको मृत्यु

पर्वतको फलेवास नगरपालिका–२ थापाठानामा ढोकामा लगाउने आग्लो प्रहार गरेर एक जनाको मृत्यु भएको छ । स्थानीय थापाठाना बजारका विनोदविक्रम कुँवरको आग्लो प्रहारबाट शंकरपोखरीका ३३ वर्षीय सूर्यबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो ।

मादकपदार्थ सेवन गरेका सूर्य र उनकी श्रीमतीले विनोदलाई गालीगलौज गरेपछि उनीहरूबीच झगडा भएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब निरीक्षक यमबहादुर नेपालीले जानकारी दिनुभयो । झगडाकै क्रममा विनोदले सूर्यलाई पटक पटक नबोल्न आग्रह गर्दा नमानेपछि ढोकाको आग्लो प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

उपचारका क्रममा नै सूर्यको शनिबार मृत्यु भएको हो । अभियुक्त विनोदलाई शुक्रबार राति नै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्वतको नियन्त्रणमा राखिएको छ भने विनोदकी श्रीमती राधिकालाई पनि थप अनुसन्धानका लागि शनिबार नियन्त्रणमा लिइएको छ । – रासस

June 10, 2018
पर्बत - PBT, समाज
रूखबाट लडेर मृत्यु, ढोकाको आग्लो प्रहार गर्दा अर्को एकको मृत्यु
By साझासवाल
4 मिनेट पढाइ