पढ्न करिब 1 मिनेट लाग्छ

असार २९, म्याग्दी | धवलागिरि गाउँपालिका–२ मरेनीमा आलुको बीउ भण्डारण गर्न भवन निर्माण गरिएको छ ।

रु सात लाखको लागतमा भवन निर्माण गरिएको हो । उक्त भवनमा दश मेट्रिक टन बीउ आलु भण्डारण गर्न सकिने गाउँपालिकाका कृषि शाखा प्रमुख योगन्द्र राईले जानकारी दिनुभयो ।

जिल्ला कृषि विकास कार्यालयको रु दुई लाख ६१ हजार, गाउँपालिकाको रु दुई लाख र कृषकको रु दुई लाख ४२ हजार लगानीमा भवन निर्माण गरिएको हो । गाउँपालिकाको सहयोगमा फर्निचर र र्याकको व्यवस्था गरिएको छ ।

“गाउँपालिकाका लागि आवश्यक आलुको बीउ भण्डारण गरेर कृषकलाई उपलब्ध गराइनेछ,” गाउँपालिकाका अध्यक्ष थमसरा पुनले भन्नुभयो । गाउँपालिकाले वडा नं २ लाई ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आलुखेतीका लागि छनोट गरेको छ ।

आलुको बीउ भण्डारण गर्न नसकेका मरेनीका कृषक बीउका लागि सदरमुकाम बेनी र ढोरपाटन क्षेत्र धाउँदै आएका थिए । अब गाउँमै भण्डारण गर्न सकिने भएपछि बीउ खोज्न अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । रासस