साउन १३, नुवाकोट | पञ्चकन्या गाउंँपालिकामा पहिराले आज दुई घर भत्काएको छ ।

पञ्चकन्या गाउँपालिका–२ कविलासका हर्कबहादुर थापा र रुद्रबहादुर थापाको घर पहिराले भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिराले दुई घर भत्काउँदा लाखौंँको क्षति भएको छ ।

भूकम्पपछि पुनःनिर्माण गरिएको घर पहिराले पूर्ण रुपमा क्षति पुर्याएको पञ्चकन्या – २ का वडाध्यक्ष ध्रुवप्रसाद मिश्रले जानकारी दिनुभयो । केही दिन पहिले आएको पहिरो डोजरले हटाइए पनि पुनः गए राति पहिरो आएपछि घर बस्नै नमिल्ने गरी भत्किएको वडाध्यक्ष मिश्रले बताउनुभयो ।

पहिरो पीडित थापाद्वय छिमेकीको शरणमा बसेका छन् । पहिराबाट मानवीय क्षति र पशुचौपायामा क्षति नपुगे पनि घरमा रहेको खाद्यान्नलगायत सामग्रीमा भने क्षति पुगेको प्रहरीले जनाएको छ ।