<p><b>साउन २९, संखुवासभा | </b>चैनपुर नगरपालिका–२ चित्लाङमा लगातार पहिरो गइरहेको छ । <br></p><p>अविरल वर्षापछि यहाँ चार परिवार पहिरोको उच्च जोखिममा छन् । केही समय अघि डोजर प्रयोग गरी सडक खनेपछि यहाँ लगातार पहिरो जान थालेको हो । स्थानीयवासी घनश्याम गौतम, हरिनारायण गौतम, हेमलाल गौतम र दिनेश गौतमको घर पहिरोले पुरिने डर छ । </p><p>स्थानीय भगवती माविका प्रधानाध्यापक माधवप्रसाद गौतमका अनुसार पहिरोका कारण चैनपुरस्थित बाल मन्दिरको पर्खाल भत्केको छ । सडक अवरुद्ध छ । विसं २०७२ वैशाखमा गएको भूकम्पबाट उक्त विद्यालयमा क्षति पुगेको थियो । विद्यालय पुनःनिर्माणका लागि स्थानीय उद्योगपति कृष्णगोपाल श्रेष्ठले रु ५० लाख सहयोग गर्नुभएको छ । अहिले भवन निर्माण भइरहेको छ । रासस</p>
संखुवासभाको चित्लाङ पहिरोको जोखिममा
