2026-09-19 09:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिँढीमा बसेर मेरै बाटो हेरेर …, आफैले गाएको गीतमाझैँ पिँढीमै बित्यो आधा जीवन

रमेश गिरी | पुष १३, भक्तपुर (रासस) | 

“पिँढीमा बसेर मेरै बाटो हेरेर 

मेरी आमा रुँदिहुन् मलाई सम्झेर 

परदेशी छोरा नआउँदा 

चिठीपत्र नपाउँदा 

मनमा विरह चल्दो हो आँशुले धोती भिज्दो हो” 

यस्ता आमाको न्यानो माया र विरहको व्यथा गीतमार्फत पस्केर नेपालीको मन जित्न सफल चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेले आज आफ्नै आँगनमा देहत्याग गर्दा परिवारको मात्रै नभई भेला भएका अधिकांशको आँखा त्यसैगरी रसाए । 

आँगनमा लडिरहेको उहाँको देहलाई हेरेर आँशु पुछ्नेहरु “पिँढीमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुँदिहुन् मलाई सम्झेर…” बोलको गीतको चर्चा गरिरहेका थिए । उहाँकी छोरी सम्झना भन्छिन्, “यो गीतमा जस्तै उहाँको प्यारो पिँढीमा झण्डै आधा जीवन बिताउनु भएका बुबाले आज त्यही पिँढी पनि छाडेर जानुभयो ।” 

विसं २०१२ साउन १ गते जन्मिनुभई एक सयभन्दा बढी जीवन्तपरक गीत गाएर नेपाली गीतसङ्गीतका क्षेत्रमा निकै लोकप्रियता हासिल गरी हृदयाघातका कारण सात वर्षअघि पक्षाघात भई घरमै थलिनुभएका लामिछानेले ६३ वर्षका उमेरमा आज अपराह्न आफ्नै निवास चाँगुनारायण नगपालिका–७ स्थित चारघर चौतारामा देहत्याग गर्नुभएको हो । 

‘घाँस काट्ने खुर्केर 

आयो जोवन हुर्केर 

कसलाई दिऊँ यो जोवन…।’ 

विरहका मात्रै होइन युवा प्रेमका गीत गाउने यी साधक घरको पिँढीबाट पुराना दिनहरू सम्झिएर टोलाइरहनुहुन्थ्यो । उहाँलाई भेट्न जानेहरुले विरहका गीतको सम्झना गराउँदा उहाँको आँखाबाट मात्रै होइन, भेट्न जानेहरुको मन पनि कट्क्क काट्थ्यो, आँशु तप्प चुहिन्थ्यो । 

गायिका कोमल वलीसँग लामिछानेले गाएको गीत “तिम्रो र मेरो मायाको डोरो बेरौँ कि फनफनी…” मात्रै नभई “फाटेको दौरा लाएर, खोले सिस्नो खाएर, हात र खुट्टा टेक्दैछु भारी बोक्दैछु… जस्ता उहाँले गाएको गाउँघरको यथार्थ जीवन बोकेका गीत पनि उत्तिकै चर्चामा आए । 

औषधोपचार गर्ने खर्चको जोहो नहुँदा एकाध संस्था र कलाकर्मीले दिएको थोरै सहयोगबाहेक राज्यबाट कुनै सहयोग नपाएका पीडित लामिछानेले आफ्नै जीवनको यथार्थलाई पनि गीतमार्फत ल्याउनुभयो । 

“पर्नु पर्यो पिर जेठा, 

मलाई पर्यो पिर 

एउटा थाप्ला दुईटा नाम्लो 

ज्यानलाई पर्यो पिर…” 

दुईटी श्रीमती ल्याउँदा कान्छीले दिएको दुःखलाई सम्झेर गाएको यो गीतलाई यथार्थपरक ढङ्गले गाउने गायक लामिछानेको पार्थिव शरीरलाई बिदाइ गर्नसमेत कान्छी श्रीमती र कान्छी श्रीमतीबाट जन्मिएका एक छोरी नआएको चर्चा वागेश्वरी–७ महादेव मन्दिर नजीकै रहेको घाटमा उहाँको देह जलिरहँदा चलेको थियो । 

वरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेको ६३ वर्षको उमेरमा भक्तपुरको चाँगुनारायण– ७ चारघर चौतारास्थित उहाँ कै निवासमा शुक्रबार निधन भएपछि उहाँकी शोकाकुल परिवार । तस्विरः रमेश गिरी, भक्तपुर, रासस

टीकाराम र पद्मकुमारीको कान्छो सन्तानका रूपमा जन्मी सानैमा बुबा गुमाउँदाको पीडा र छोराले गीत गाएको हेर्ने आमाको चाहना पूरा गर्न रेडियो नेपालमा स्वर परीक्षण उत्तीर्ण गरेर २०३६ सालमै रेडियो नेपालमा पहिलो गीत रेकर्ड भयो, ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर…।’ सो गीत चर्चित भएसँगै ‘गाई त बाँध्ने पातलो दाम्लो…’, ‘पर्नु पर्यो पीर, जेठा मलाई पर्यो पीर…’, ‘भयो डामाडोल…’, ‘फाटेको दौरा लाएर खोले सिस्नु खाएर…’, ‘तिम्रो र मेरो मायाको डोरो, बेरौँ कि फनफनी कान्छी…’ लगायत गीत गाउँदै गीतियात्रामा उहाँ अगाडि बढ्नु भएको उहाँकी श्रीमती दुर्गादेवी बताउनुहुन्छ । 

श्रीमतीसंँगै दुई छोरा र त्रछ छोरी रहेका लामिछानेको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न उहाँको भूकम्पले भत्काएर जीर्ण बनेको घरको पिँढीमा न कोही नेता पुगे, न कोही सरकारी प्रतिनिधि नै । घाटमा उहाँको देह जलिरहँदासम्म पनि कलाकर्मी र गायकगायिका श्रद्धाञ्जलि अर्पण गर्न नआएको देख्दा गाउँका मलामी भने एक स्रष्टाप्रति बेवास्ता भएको गुनासो गरिरहेका थिए । 

वरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेको ६३ वर्षको उमेरमा भक्तपुरको चाँगुनारायण ७ चारघर चौतारास्थित उहाँ कै निवासमा शुक्रबार निधन भएपछि दाहसंस्कार गरिँदै । तस्विरः रमेश गिरी, भक्तपुर, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई