फागुन ८, रसुवा । भौगोलिक विकटताका कारण ग्रामीणवासीको सेवा प्रवाह चुस्त दुरुस्त हुन नसकेको भन्दै कालिका गाउँपालिकाले वडा थप गर्ने प्रस्ताव गरेको छ ।

गाउँपालिकाका अध्यक्ष सीतादेवी पौडेल अधिकारीका अनुसार वडा नं १ को राम्चे र वडा नं ५ को जिवजिवे क्षेत्रको भूभाग तथा वडा नं ४ को धुसेनी, रूप्सेपानी, घडेरीडाडा, भदौरे क्षेत्रमा साविक कायम वडा सिमानालाई परिमार्जन गरी दुई वडा थप गर्न हालै सम्पन्न गाउँपालिकाको चौथो गाउँ परिषद्बाट प्रस्ताव पारित गरिएको छ ।

प्रस्तावित वडा क्षेत्रमा भएको प्राकृतिक स्रोत, सेवाग्राहीको सहजता, जनसङ्ख्यासमेत विषेशज्ञद्वारा स्थलगत अध्ययन एवं रेखाङ्कन गराई वडा थप गर्ने व्यवस्थाको लागि प्रदेश सरकारमार्फत केन्द्रीय सरकारसमक्ष अनुरोध गरिएको उहाँले बताउनुभयो । प्रस्तावित वडा थपको स्वीकृत हुनसके राम्चेका बासिन्दाले ठूलो राहत मिल्ने त्यस क्षेत्रका बासिन्दाले अपेक्षा राखेका छन् ।

गाउँपालिकाको चौथो परिषद्ले वडा थपको अलावा स्वास्थ्य सेवा व्यवस्थित गर्न र एकीकृत सम्पत्ति करमा समेत कायम गरी समयसापेक्ष सहज तथा सुलभ बनाएको छ । ग्रामीण महिलामा परेको स्वास्थ्यको समस्याप्रति गम्भीरतापूर्वक विश्लेषण गर्दै स्थानीयस्तरबाट बढी जनघनत्व भएको कालिकास्थान क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयको स्वामित्वमा रहेको एड्रा नामक भवनमा शल्यक्रियसहितको प्रसूति सेवाको व्यवस्थापन गर्न रु २७ लाख बजेट विनियोजन गर्दै सेवा सञ्चालन गराउन स्वीकृतको लागि प्रदेश सरकारमार्फत केन्द्र सरकारसँग आग्रह गरेको गाउँपालिकाले जनाएको छ ।

सो क्षेत्रमा प्रसूति सेवा सञ्चालन हुनसके राम्चे, ग्राङ, पलेप, गुम्बुडाँडा, मनिगाउँ, ढुङ्गे, जिवजिवे, ज्याङ्लाङ धारापानी, माझगाउँ, धुसेनी गाउँलगायत नौकुण्ड गाउँपालिकाको पाँचवटै वडामा बसोबास गर्ने महिलाले स्थानीयस्तरमै स्वास्थ सेवा पाउने स्थानीयवासी टङ्कप्रसाद ढकालले बताउनुभयो ।

वडा थप गर्न प्रस्ताव
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment