जेठ ५, नुवाकोट | नुवाकोटको ककनी गाउँपालिका–८ थानसिंह निवासी एक सय सत्र वर्षीया ज्येष्ठ नागरिक बाटुली लामिछानेलाई मासिक रु दश हजार उपलब्ध गराइने भएको छ ।

विसं १९५९ चैत १० गते जन्मिनुभएका लामिछानेको स्याहारसुसार तथा उहाँको जीवनका अनुभवको पुस्ता हस्तान्तरणमा सहयोग पुर्याउन गाउँपालिकाले मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले बाटुली लामिछाने (बाला) फाउण्डेशन स्थापना गरेर उहाँको हेरचाह तथा संरक्षणमा चासो देखाएको हो । “११७ वर्षसम्मका मानिस नेपाल तथा विश्वका लागि ज्येष्ठ नागरिकका रुपमा अग्रणी स्थानमा रहेको हुनुपर्छ”, उहाँले भन्नुभयो “पहिलो कदमका रुपमा उहाँलाई संसारभर चिनाउन ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम लेखाउन पहल गर्नेछौँ ।”

कार्यपालिकाको बैठकको निर्णयानुसार लामिछानेलाई विसं २०७६ वैशाखदेखि मासिक रु दश हजार उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याइएको छ । उहाँलाई नुवाकोटको रानीपौवा बजारमा शनिबारदेखि शुरु भएको ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला’को उद्घाटनका अवसरमा विशेष अतिथिको स्थान र नगद रु पाँच हजारसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बाट समेत सम्मान गरिएको थियो ।

गाउँपालिकाले ज्येष्ठ नागरिक लामिछानेको सम्मान, संरक्षण तथा प्रचारप्रसारका लागि आगामी दिनमा ‘महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति तथा वृद्धवृद्धा’को क्षेत्रमा गर्ने कार्य उहाँको नाममा स्थापना भएको बाला फाउण्डेशनमार्फत गर्ने नीति अवलम्वन गरिएको उपाध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।

नुवाकोटकि ज्येष्ठ नागरिक बाटुली लामिछानेलाई मासिक दश हजार बृद्धभत्ता
Leave a Comment