२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङ : कटुवालकै भरमा सूचना

२०७६, ३० जेष्ठ बिहीबार ०९:०६

जेठ ३०, लमजुङ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँका चन्द्रबहादुर गुरुङले गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी गर्न थालेपछि गाउँवासी कान टाठो गर्दै गुरुङलाई सुन्न थाल्छन् । डाँडाबाट उनका गाउँमा हुन लागेको वा हुनेवालाको नयाँ सूचना वा खबर सुनाउनुहुन्छ । उनी गाउँलेलाई सूचना दिने मान्छे अर्थात् कटुवाल हुन् । 

प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे पनि यहाँका गाउँका बासिन्दालाई सामूहिक रुपमा सूचना (खबर) गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवालको प्रथा कायमै रहेको छ । गाउँमा भइरहने विभिन्न भेला, कार्यक्रम तथा बैठक, विवाहलगायतका शुभकार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् । 

गाउँको रीतिस्थितिअनुसार असिना बार्ने, बीउ बार्नेदेखि विकास निर्माणका काममा सामूहिक काम गराउन, खानेपानीको मर्मतसम्हार, सामुदायिक वनको गोडमेल, दाउरा काट्ने, दुःख–बिमारमा सघाउ गर्ने, गाईभैँसी लेकमा लैजाने र वेँशीमा राख्ने लगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको वडाध्यक्ष राजु गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँभरिको खबर गर्ने आधिकारिक व्यक्ति नै गाउँको कटुवाल हो ।” वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको हुने गुरुङले बतानुभयो । 

वर्षौं पहिलेदेखि कटुवालको चलन चल्दै आएको र आफूले गत मङ्सिर महीनाबाट सो जिम्मेवारी सम्हालेको कटुवाल गुरुङले बताउनुभयो । घाम्राङगाउँ मात्रै नभई आसपासका घाम्राङवेशी, घिचे, साल्मेलगायतका गाउँमा समेत गुरुङले नै खबर पु¥याउने गर्नुहुन्छ । “गाउँमा जे जस्तो खबर गर्नु परे पनि मै दौडिने हो”, गुरुङले भन्नुभयो, “गाउँमा पुगेर कतै चौतारोमा, कतै अलि अग्लो थुम्कोमा बसेर उर्दी गरेपछि सबैले थाहा पाइहाल्छन ।” 

गाउँलेलाई खबर गर्ने र त्यसैबाट आम्दानी गर्न पाउँदा आफू सन्तुष्ट नै भएको उहाँले भन्नुभयो । गाउँमा हुने कुनै पनि कार्यको खबर कटुवालबाटै आफूहरुले थाहा पाउने स्थानीयवासी गमबहादुर गुरुङले बताउनुभयो । कटुवालले एकै पटकमा सबैलाई खबर पु¥याउने हुँदा कसैले थाहा पाउने वा कसैले नपाउने भन्ने समस्या नरहने उहाँको भनाइ छ । 

कटुवाल कराएबापत उहाँले गाउँलेबाट सामूहिक रुपमा वार्षिक पाँच मुरी धान, एक मुरी कोदो पाउँछन् । बर्सेनी गाउँमा थितिसभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन रहेको छ । काम परेको बेला कटुवाल कराउने र अन्य समयमा खेतीपाती गर्दै परिवार धान्दै आउनुभएको छ । कटुवालको जिम्मेवारीमा आउने अन्न, आफूले उब्जाउने अन्न र मेलापात गरेर आउने नगद आम्दानीले आफ्नो जीवन निर्वाह भइरहेको छ । 

गाउँ–गाउँ चहार्दै चर्को स्वरमा कराउनुपर्ने भएकाले काम अलि अप्ठारो नै भएको उहाँले बताउनुभयो । प्रविधिको विकास भएसँगै गाउँले वा वडा कार्यालयबाट हाते माइकको व्यवस्था गरेर माइकमार्फत नै खबर सुनाउन सकिनेतर्फ कसैको ध्यान गएको छैन । अहिलेसम्म दुईहात जोडेर चर्को आवाजमा कराउँदै आएको तर आफूले पनि कसैसँग माइक माग नै नगरेको उहाँ बताउनुहुन्छ  । 

क्व्होलासोथर मात्रै नभई जिल्लाका अधिकांश गाउँमा अहिले पनि सामुदायिक सूचना प्रवाहका लागि परम्परागत ढङ्गमै कटुवालको चलन रहेको जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले बताउनुभयो । प्रभावकारी सूचना सम्प्रेषणका लागि उनीहरुलाई प्रविधिमैत्री बनाउनुपर्ने उहाँको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ