असार २७, गौशाला । दुई दिनदेखिको नियमित वर्षाका कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाकोसमेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार जलमग्न बनेको छ ।

मुसलधारे पानीका कारण जलेश्वर कारागार जलमग्न बनेको निमित्त जेलर मकसुदन महासेठले बताउनुभयो । राणाकालीन उक्त कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाका बेला यो कारागार जलमग्न बन्ने गरेको निमित्त जेलर महासेठ बताउनुहुन्छ ।

कारागारको बाहिर मूलगेटदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म दुई फिटसम्म पानी जमेको छ । त्यसैगरी कारागारको भित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भए पनि बाहिरको पानी भित्र प्रवेश गरेर पानी जमेर कारागारको अवस्था अस्तव्यस्त भएको चौकीदार (मूल कैदी) श्यामसुन्दर यादवले बताउनुभयो ।

चार सय ६३ कैदीबन्दी रहेको जलेश्वर कारागारमा वर्षा र बाहिरी नालाबाट आएको पानीले गर्दा भित्रका कैदीबन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान र घुमफिर गर्न समस्या भएको चौकीदार यादवले जानकारी दिनुभयो ।

त्यस्तै कारागार सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने ब्यारेकसमेत वर्षाको पानीले प्रभावित बनेको जनाइएको छ । सुरक्षाकर्मीलाई पानीमै ड्युटी बस्नुपरेको छ । पानीले कारागारको प्रशासनिक कामकाजसमेत प्रभावित भएको जेलर महासेठले बताउनुभयो ।

समस्याबारे जलेश्वर नगरपालिकालाई पटकपटक मौखिक आग्रह र लिखित पत्राचार गर्दा पनि कुनै सुनुवाइ नगरेकाले समस्या हुने गरेको महासेठले बताउनुभयो ।

July 12, 2019
महोत्तरी - MHT, समाज
महोत्तरीको जलेश्वर कारागार जलमग्न
By साझासवाल
4 मिनेट पढाइ