पढ्न करिब 1 मिनेट लाग्छ

चैत २३, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरी टोलकी २५ वर्षीया उर्मिला देवी पण्डितको शंकास्पद मृत्युको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि मृतकको सासूससुरा, देउरानी र अर्का एक व्यक्ति गरी ४ जनालाई नियन्त्रणमा लिएको छ ।

उर्मिलाका ससुरा ६० वर्षीय सुरेश पण्डित, सासू ५५ वर्षीया फूलकुमारी देवी र देउरानी २३ वर्षीया मालती देवी र अर्का व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतक उर्मिलाका श्रीमान वैदेशिक रोजगारीमा छन् ।

शनिबार बिहान उर्मिलाको हत्या गरी जलाउँदै गरेको भन्ने सूचना पाएपछि गएको प्रहरी टोलीले शव नियन्त्रणमा लिएको थियो । जलेको शरीरको केही भाग संकलन गरेर परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले घटनाबारे अनुसन्धानका लागि परिवारका सदस्यसहित ४ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

‘हत्या गरेर शव जलाउँदै छन भन्ने खबर आयो, त्यसपछि पुगेर जलेको शरीरको केहि भाग संकलन गर्यौं,’ उनले भने, ‘थप अनुसन्धानका लागि परिवारका सदस्यसहित चार जनालाई नियन्त्रणमा लिएका छौं ।’