विमलबहादुर विष्ट डोटी | वैशाख १८, डोटी | लकडाउनको अवधिमा जिल्ला बाहिरबाट आएका ९० स्थानीयवासीलाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेसँगै उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको हो ।

जिल्ला भित्रिएकामा सबैभन्दा बढी पूर्वीचौकी गाउँपालिकाका ३४, बोगटान फुड्सिल गाउँपालिकाका १९, केआइसिंह गाउँपालिकाका ९, आदर्श गाउँपालिकाका ७ तथा शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकाका दुई/दुई जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई जना दिपायल सिलगढी नगरपालिकाका भए पनि उनीहरुलाई पूर्वीचौकी गाउँपालिकाको क्वारेन्टाइनमा राख्ने गरी जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय डोटीलाई कुनै जानकारी नदिई ती नागरिक एक्कासी डोटीको बुडर पुगेपछि सोधखोज गरेर क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

कैलालीको धनगढीबाट लकडाउनपछि घर फर्किएका जोरायल गाउँपालिका–५ गड्सेराका १२ तथा वडा नं १ गैराका पाँचलाई सम्बन्धित वडाका क्वारेन्टाइनमा राखिएको छ । कैलालीमा कोरोनाका सङ्क्रमित भेटिएको र कैलालीसहित अन्य जिल्लाबाट डोटीमा आउनेलाई क्वारेन्टाइनमा राखिने नियमअनुसार उनीहरुलाई क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष ध्वजबहादुर देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला बाहिरबाट आउने नागरिकबाट कोरोना सङ्क्रमण फैलिनसक्ने भएकाले त्यसको रोकथामका लागि हामीले कैलालीबाट घर आएका १२ जनालाई क्वारेन्टाइनमा राखेका छौँ, अन्य आउनेलाई पनि राखिनेछ ।”

क्वारेन्टाइनमा राखिएकाको दैनिक स्वास्थ्य जाँच गरिनुका साथै खानबस्नको उचित व्यवस्था मिलाइएको वडासचिव शेरबहादुर विष्टले जानकारी दिनुभयो । कैलाली र कञ्चनपुरमा कोरोना सङ्क्रमित देखिएसँगै डोटीमा अहिले कोरोना रोकथाम तथा नियन्त्रणमा निकै कडाइ गरिन थालिएको छ । जिल्लाका नौवटै स्थानीय तहले जिल्ला बाहिरबाट आउने नागरिकको तत्थ्याङ्क सङ्कलन गर्नुका साथै क्वारेन्टाइनमा राख्न थालेको छ । जिल्ला प्रशासन कार्यालयमा एक हप्ता पहिले जिल्ला बाहिरबाट आएकालाई २१ दिन क्वारेन्टाइनमा राख्ने निर्णयअनुसार अहिले जिल्ला बाहिरबाट आउने जो–कोही नागरिकलाई क्वारेन्टाइनमा राखिन थालिएको हो ।

लकडाउनका कारण काठमाडौँमा फसेका अन्य ७३ स्थानीयवासी सोमबार जिल्ला आइपुगेका छन् । उनीहरुलाई पनि २१ दिन क्वारेन्टाइनमा राखिएको छ । यहाँका स्थानीय तहको पहलमा काठमाडौँमा रहेका आ–आफ्ना नगरपालिका तथा गाउँपालिकाभित्रका लकडाउनमा फसेका नागरिकलाई ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिनुभयो । सम्बन्धित उनीहरुलाई क्वारेन्टाइनमा राख्ने गरी सम्बन्धित स्थानीय तहमा पठाइएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

खोप सेवा पुनः शुरु

जिल्लामा लकडाउनका कारण एक महिनादेखि रोकिएको खोप सेवा पुनः शुरु भएको छ । स्वास्थ्य सेवा विभागले नियमित खोप सेवा शुरु गर्ने परिपत्र गरेसँगै जिल्लाभरिमा नियमित खोप सेवा शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न खोप तालिकाअनुसार दिन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो

बालबालिकालाई बिसिजी, डिपिटी, दादुरा–रुवेला, एफआइपिभी, पोलियो, जापनिज इन्सेफ्लाइटिस र पिसीभीलगायतका रोगविरुद्धका १२ प्रकारका खोप दिइने गरिन्छ । खोप जन्मेदेखि १५ महिनाभित्र दिइने गरिन्छ । लकडाउनको समयमा जिल्लभरिमा अवरुद्ध भएका सबै खोप सेवा सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मलासीले जानकारी दिनुभयो । रासस

बाहिरबाट आएर छल्न खोज्ने क्वारेन्टाइनमा
By साझासवाल
7 मिनेट पढाइ