२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

भोकभोकै त्रिपाल र विद्यालयमा आधा शरीर भिज्दै ५०० पीडित

२०७७, ३० असार मंगलवार ०५:४२

हेमन्त केसी । असार ३०, जाजरकोट । गाउँभरि पहिरो आएपछि ज्यान जोगाउन विस्थापित भएका ५०० भन्दा बढी सर्वसाधारण खानेकुराको अभावमा भोकभोकै बस्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा एक गेडो चामल नभएपछि सर्वसाधारण समस्यामा परेका हुन् ।

ठेकेदारले स्वीकृत कोटा एक हजार ५७ क्विन्टल चामल यो आर्थिक वर्षका लागि घाट डिपोमा ढुवानी नगर्दा समस्या चुलिएको छ । सदरमुकामको गोदाममा भने भरिभराउ चामल छ । ठेकेदारलाई जतिपटक चामल लिन आग्रह गरे पनि नमानेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुखले नै बदमासी गर्ने ठेकेदारलाई जोगाउने गरेको प्रजिअ पन्तको भनाइ छ । “बारेकोटमा नयाँ ठाउँमा खाद्य डिपो स्वीकृत भएर आयो तर चामल आएन”, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले भन्नुभयो ।

एक महिनादेखि रित्तो रहेको डिपोमा चामल लिन आएका सर्वसाधारण पनि रित्तो हात फर्केका छन् । विद्यालय तथा पाल हालेर खुलाचौरमा ज्यान जोगाउन बसेका सर्वसाधारण आफन्त जोगाउनुको पीडाका साथै खानेकुराको अभावमा भोकै बस्नुपरेको बारेकोट गाउँपालिका–५ का मोहनजङ्ग शाहीले बताउनुभयो ।

पहिरो गएको चार दिनपछि राहत लिन छलफल

पहिरो गएको चार दिनसम्म वनमन्त्री शक्तिबहादुर बस्नेतले हेलिकोप्टरमा ल्याएको दुई हजार ३०० किलो राहतबाहेक अन्य कसैले पनि राहत वितरण नगरेको सर्वसाधारणको गुनासो छ । मन्त्री बस्नेतको पहलमा उपलब्ध भएको सो राहतले केही समस्या टरेको छ । चार दिनपछि सदमुकाम खलङ्गामा विपद् व्यवस्थापन समितिको बैठक बसी राहत सामग्री ल्याउने विषयमा छलफल भएको छ । गाउँगाउँमा सर्वसाधारण बाँच्नका लागि जङ्गलमा पाल टाँगेर आधा शरीर भिज्दै बसिरहेका बेला सदरमुकाममा भने बल्ल चार दिनपछि सामान्य छलफल शुरु भएको हो ।

बारेकोट–४ सार्कीटोलमा खानेपानीदेखि ओतिने त्रिपालसम्म नहुँदा एउटै पालमा १५ जनाभन्दा बढी बस्नुपरेको स्थानीय कालीबहादुर सार्कीले बताउनुभयो । प्रदेश सरकारले राहतका लागि कुनै पनि पहल नगरेको गाउँपालिकाले जनाएको छ । तीन तहका सरकारले ५०० नागरिकलाई ओतलाग्नेसम्मको व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको सर्वसाधारणको भनाइ छ ।

विद्यालयको भुइँ कोठामा मानिस खाँदिएर बस्दा बिरामीसमेत पर्न थालेको रमित सार्कीले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहदेखि वडाध्यक्षसम्म विस्थापित भएका छन् । बाटो भत्किएका कारण राहत सामग्री ल्याउन मुस्किल भएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । कुन ठाउँमा के भएको छ भन्ने थाहा नहुने अवस्था सिर्जना भएका कारण जिल्लाका मुख्य ठाउँमा सूचना केन्द्र स्थापना गर्नका लागि पहल शुरु भएको छ । 

घरमा भएको अन्नसमेत खान पाइएन

खोलामा भएको पानीघट्ट सबै बग्दा घरमा भएको अन्नसमेत पिसेर खान नपाएको सर्वसाधारणले गुनासो गरेका छन् । “डिपोमा चामल छैन, एक गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था पनि छैन, कसरी बाँच्नु ?” बारेकोट–५ का ६१ वर्षीय जनक शाहीले भन्नुभयो । यता जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त ९० थान त्रिपाल भेरी नगरपालिकाले ढुवानी भाडा व्यहोर्ने गरी आज पठाउने तयारी भएको प्रजिअ पन्तले बताउनुभयो । खाद्यान्न पठाउनका लागि कुनै पहलसमेत भएको छैन । बारेकोट बर्सेनि यही समयमा खाद्यान्न अभाव हुने ठाउँ हो । बारेकोट–४ मा एक र वडा नं ६ मा दुई बेपत्ताहरु अझै फर्केका छैनन् । सेना र सशस्त्र प्रहरी उद्धारकार्य स्थानीय प्रहरीलाई जिम्मा दिँदै सोमबार सदरमुकाम फर्किएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक