2026-09-12 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाको लेकमा रमाउँदै भेडी गोठाला

उमा केसी । साउन २६, रोल्पा । रोल्पा नगरपालिका–९ चोयबाङ निवासी मइमन पुन विगत सात वर्षदेखि भेडी गोठालो हुनुहुन्छ । वर्षले ५१ पुगेका पुनको दैनिकी करीब ५०० भेडा र बाख्राको हेरचाहमै बित्छ । उहाँ घरदेखि करीब तीन हजार ५०० फिट अग्लो रानीवास भन्ने लेकमा भेडाबाख्रासँगै रमाइरहेको देखिनुहुन्छ ।

सुनसान अग्लो, लेकको जङ्गलमा सानो छाप्रा बनाई भेडा र बाख्रासँगै दैनिकी काटिरहनुभएका पुनले सुरक्षाका लागि चार वटा भोटे कुकुरसमेत पाल्नुभएको छ । आधुनिक तरिकाले भेडा र बाख्रा पालन नगरिएकाले उहाँलाई कहिलेकाहीँ चरिचरनको समस्या पर्ने गर्छ । “सधैँ एकै ठाउँमा भेडाबाख्रा राख्दा चरिचरनमा घाँस सकिने भएकाले अग्ला–अग्ला लेकहरु रानीवास, धरमपानीलगायत आसपासका लेकहरूमा चरनका लागि लैजान्छु”, पुनले भन्नुभयो । 

यसरी जङगल क्षेत्रमा बास सार्दा विभिन्न समयमा भेडा, बाख्रा र च्याङग्रा हराउने गरेको उहाँले दुःखेसो पोख्नुभयो । पुनले पालेका भेडा र बोका पूजाका लागि डोल्पा, रुकुम, सल्यान, दाङ, प्युठान, बुटवल, नेपालगञ्जलगायतका स्थानमा लैजाने गरिएको बताउनुभयो । एउटा भेडालाई रु चार हजारदेखि आठ हजारसम्म र च्याङग्रा खसीलाई रु ४२ हजारसम्ममा विक्री गर्ने गरेको उहाँको भनाइ छ । यसरी वार्षिक रु १० लाखसम्म आम्दानी गर्ने गरेको पुनले बताउनुभयो ।

अर्का काले रोका पनि त्यहीँ भेडी गोठालोमै व्यस्त हुनुहुन्छ । बिहान उठ्यो, भेडाबाख्राको स्याहार गर्यो, बर्सातको समय, चारैतिर कुहिरोले ढाकेको अग्लो पहाडी भूभाग, नजिक कतै घरगोठ छैन । सुनसान वातावरण, चराचुरुङ्गीको आवाज, सर्प र जुकाको त्रासमा दिनचर्या बिताउनु कम्तीको पीडा छैन तर यस्तै जीवन व्यतित गरिरहेका रोका हेर्दा खुशी देखिनुहुन्छ । 

वैदेशिक रोजगारमा गएर अरुको देशमा पसिना बगाउनुभन्दा आफ्नै देश, आफ्नै गाउँठाउँको पाखा पखेरीमा यसरी भेडा पालन गर्दा आनन्द महसुस भइरहेको रोकाले बताउनुभयो । विदेशमा गएर अरुको भनाइ खानुभन्दा आफ्नै ठाउँमा स्वतन्त्ररूपमा पेशा गर्न पाएकोमा गर्व गर्नुहुन्छ, रोका । “दुःख केही लाग्दैन, बानी भइसक्यो, एक्लै आनन्दले पेशा गर्यो, मेहनतअनुसार दुई/चार पैसा कमाइ भइहाल्छ”, रोकाले भन्नुभयो ।

रोका र पुन त प्रतिनिधि पात्र मात्रै हुन् । उहाँहरू जस्तै ग्रामीण भेगका केही घरपरिवार लेकमा भेडा, बाख्रा, च्याङग्रा पालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । भेडा, बाख्रा र च्याङग्राको रौँबाट विभिन्न वस्तुहरु उत्पादन गर्न सकिन्छ । भेडाको ऊनबाट कम्बल, पटुका, कोटलगायत न्यानोका लागि विभिन्न वस्तुहरु तयार पार्न सकिने ८० वर्षीया मतिकला केसीले बताउनुभयो । “ऊनबाट तयार गरिएको कम्बल, पटुका निकै न्यानो हुन्छ, चिसोबाट शरीरलाई बचाउन यसले खुबै राम्रो काम गर्छ”, केसीले थप्नुभयो । पूजापाठ गर्दासमेत भेडाको ऊनबाट बनेको कम्बलमा बसेर पूजा गर्ने चलन रहेको केसीको भनाइ छ । भेडाको ऊनबाट निर्मित कम्बल बजारमा रु चार हजारसम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो । 

रोल्पाका करिब ४० हजार युवा भारतलगायत वैदेशिक रोजगारका लागि तेस्रो मुलुक जाने गरेका छन् । विश्वभर फैलिएको कोरोना कहरका कारण भारतबाट हालसम्म दुई हजार १८१ जना घर फर्किसकेका छन् । वैदेशिक रोजगारका लागि तेस्रो मुलुक पुगेका १७८ जना  जिल्लामा फर्किसकेका छन । प्राकृतिक स्रोत र सम्पदाले भरिपूर्ण रोल्पामा पुन र रोका जस्तै व्यावसायिक रूपमा भेडाबाख्रा पालन गरेर मनग्य आम्दानी गर्न सकिन्छ । अधिकांश कृषि तथा पशुपालन गर्ने रोल्पालीलाई स्थानीय सरकारले समय सुहाउँदो प्रविधि, सीप र क्षमता अभिवृद्धि गरी पेशालाई आधुनिकीकरण गर्न सके स्वदेशमै स्वरोजगारको ढोका खुल्ने स्थानीय समाजसेवी कृष्णबहादुर घर्ती बताउनुहुन्छ । 

झट्ट हेर्दा आर्थिक आम्दानी धेरै हुने देखिए पनि मेहनत धेरै गर्नुपर्ने, जङ्गल क्षेत्रमा बस्नुपर्ने भएकाले यस पेशालाई युवा पुस्ताले भने रुचाउने गरेका छैनन् । बाउबाजेले पेशालाई निरन्तरता दिए पनि अहिलेको बदलिँदो समयमा आएको नयाँ प्रविधिका कारण युवा पुस्ताले यो पेशालाई खासै अँगालेको देखिँदैन । तीनै तहका सरकारले यहाँको पशुपालनलाई आधुनिकीकरण गर्न जरुरी रहेको स्थानीय अगुवाहरुको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह