साउन २७, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा पहिलोपटक शववाहन ल्याइएको छ । अस्पताल व्यवस्थापन समितिको पहलमा अस्पताल स्थापनाको झण्डै साढे पाँच दशकपछि शववाहन भित्र्याइएको हो ।

जिल्लामा यसअघि शववाहन नहुँदा ट्रक, ट्र्याक्टरलगायतका सवारी साधनमा शव दाहसंस्कारका लागि लैजाने गरिँदै आएको थियो । “अब शव व्यवस्थापनका लागि शववाहन आउँदा सहज हुने भएको छ”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भन्नुभयो, “शववाहन प्रदेश स्वास्थ्य निर्देशनालयबाट प्राप्त भएको हो ।”

महाकाली अस्पतालमा पछिल्लो समय आन्तरिक सुधारमा निकै जोड दिइएको भन्दै अध्यक्ष जोशीले चिकित्सकलगायत अन्य स्वास्थ्य सुधारका लागि पनि लागिपरेको बताउनुभयो । “केही समययता विभिन्न शल्यक्रिया पनि हुँदैछन्”, उहाँले भन्नुभयो, “बिरामीको सेवाका लागि आवश्यक स्वास्थ्य उपकरण पनि थपिँदै गएका छन् ।”

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले निर्देशनालयले स्वास्थ्य तथा व्यवस्थापन केन्द्रको सहयोगमा सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरलाई गरी दुई वटा शववाहन उपलब्ध गराएको जानकारी दिनुभयो । रासस

अस्पताल स्थापनाको पाँच दशकपछि शववाहन