2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिदी पहिरो: रातभर बाहिर सुतेर बिहान फर्किएका थिए गाउँले

नारायण ढुङ्गाना | साउन ३०, काठमाडौँ |  मुलुकका अधिकांश क्षेत्रमा अकस्मात पहिराले ठूलो मानवीय क्षति भएको र राति सुतेकै बेलामा पहिरो खसेर धेरै मानिसको अकालमा ज्यान गएको थियो । सिन्धुपाल्चोकको लिदी गाउँमा आज बिहान खसेको पहिरो भने जानकारी हुँदाहुँदै पनि मानवीय क्षति टार्न सकिएन । स्थानीयवासीले पहिले नै जोखिममा रहेको भन्दै बस्ती स्थानान्तरणको माग गरे पनि त्यो सफल नहुँदा क्षति हुन पुगेको छ । 

प्रारम्भिक विवरणमा आज बिहान जुगल गाउँपालिका–२ लिदीमा भीषण पहिरो जाँदा ३६ घर क्षति भएको र ३८ जना परेको प्रारम्भिक जानकारी आए पनि यकिन विवरण आउन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताउनुभयो । त्यसमध्ये अहिलेसम्म तीन जनाको शव फेला परेको छ । केही घाइतेको उद्धार गरिएको छ ।

पहिलै अनुमान गरिएको क्षेत्रमा पहिरो खस्दा धेरै मानिस घरसहित पुरिएका छन् । जुगल–२ का वडा सदस्य तथा स्थानीयवासी विष्णुलाल दोङका अनुसार गत असार २६ गते त्यहाँ भीषण पानी परेको थियो । त्यसबेला भत्किँदा एउटा घरमा क्षति पुगेको थियो भने सामान्य पहिरो खसेको थियो । त्यस दिनदेखि नै स्थानीयवासीले रातिमा घर बस्न छाडेका थिए । कोदोबारीमा त्रिपाल हालेर बस्ने गरेका थिए । झण्डै ५० घर जोखिममा परेपछि उनीहरुले दैनिक सावधानी अपनाउँदै आएका थिए । दोङका अनुसार यहाँ निर्माणाधीन बलेफी ‘ए’ हाइड्रोपावरको सुरुङ निर्माणका क्रममा भएको विस्फोटले जमीनमा असर परेको स्थानीयवासीको अनुमान गरिएको छ । त्यही विषयमा उनीहरुले पटकपटक स्थानीय प्रशासनलाई जानकारीसमेत गराएका थिए । समयमै बस्ती सार्न सकिएको भए क्षति नहुने स्थानीयवासी बताउँछन् ।

“जोखिम पहिचान भएपछि गाउँले हरेक राति घरमा कोही सुत्थेनन्, पहिरो खस्छ भन्ने डर थियो, रातभरि त्रिपालमा सुत्ने र बिहान उठेर घर जाने गरेका थिए”, गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले रासससँग भन्नुभयो, “आज बिहान पनि रातभर बाहिर सुतेर घर फर्किएका थिए, एक्कासि खसेको पहिरामा परे ।” रातभरि भारी वर्षा भएको थियो । त्यसैले मानिसहरु अस्थायी आश्रयस्थलमा गएका थिए । राति पहिरो खसेको भए मानवीय क्षति हुने थिएन । बिहान सबै घर फर्किएर काम गर्न थाल्दा एक्कासि पहिरो खसेको श्रेष्ठले बताउनुभयो । पहिरो आउन थाल्यो भने भाग्न सकिन्छ भन्ने सोचेर मानिसहरु बिहान घर फर्किएका उहाँले बताउनुभयो । 

गत असार २६ मा उक्त घटना भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा स्थानीयवासीले बस्ती जोखिममा परेको भन्दै सुरक्षित गर्नका लागि निवेदनसमेत दिएका थिए । यही साउन २३ मा उनीहरुले लिदीसहित झुल्के, निम्लुङ, सञ्चगाउँ, बेगाङका ५०० भन्दा बढी घर जोखिममा परेका भन्दै बस्ती जोखिम पहिचान गर्न र बस्ती सुरक्षित राख्न माग गरेका थिए ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले निवेदन आएपछि समितिले निर्णय गरेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सिफारिस पत्र पठाएको समेत जानकारी दिनुभयो । 

वडासदस्य दोङका अनुसार उक्त गाउँमा कूल १७२ घरधुरी छन् । त्यसमध्ये ५० घर पहिराको उच्च जोखिममा थिए । प्रारम्भिक विवरणमा आज ३६ घर क्षति भएका र ३८ जना परेको जानकारी आए पनि यकिन विवरण नआएको सहायक प्रजिअ खनाल बताउनुहुन्छ । त्यसमध्ये अहिलेसम्म तीन जनाको शव फेला परेको छ । पाँचजना घाइतेको उद्धार गरिएको छ । उक्त गाउँमा दोङहरुको बसोबास छ । केही घरका सबै परिवार हराएको जनाइएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार यो मनसुनका बेला जिल्लामा यसअघि २२ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था थाहा हुन सकेको छैन । बिहीबारसम्मको विवरणमा २० जनाको मृत्यु भएको सहायक प्रजिअ खनालले बताउनुभयो । त्यसमध्ये सबैभन्दा बढी क्षति बाह्रबिसेको जम्बुडाँडामा भेलपहिराका कारण भएको थियो । त्यहाँ हराइरहेका अझै फेला परेका छैनन् । त्यसपछि भोटेकोशी, मेलम्ची र पाँचपोखरीमा भौतिकसहित मानवीय क्षति भएको छ । यो पटक लिदीमा जिल्लाकै सबैभन्दा बढी मानवीय क्षति हुने गरी पहिरो खसेको छ ।

साउनको दोस्रो सातादेखि मुलुकभर वर्षा कम भयो । लगातारको झरी पर्ने क्रम रोकिए पनि ठाउँठाउँमा भारी वर्षा भने कायमै रहँदा कतिपय क्षेत्रमा ठूलै मानवीय क्षति बेहोर्नु परिरहेको छ । मौसमविद्का अनुसार अझै पनि सावधानी अपनाउन जरुरी छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई