२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रकृतिका कुचिकार गिद्धको सङ्ख्या प्रति वर्ष बढ्दै

२०७७, २१ भाद्र आईतवार ०६:१६

भदौ २१, कञ्चनपुर । प्रकृतिका कुचिकारका रूपमा चिनिने अति सङ्कटापन्न अवस्थामा रहेका गिद्ध जोगाउनका लागि सचेतनाका कार्यक्रम अगाडि बढाइएपछि कञ्चनपुरमा प्रतिवर्ष गिद्धको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । दुई दशकअघि कञ्चनपुरमा ३० देखि ४० को सङ्ख्यामा रहेका गिद्धको सङ्ख्या बढेर हाल २०० को हाराहारीमा पुगेको छ ।

एक्कासि सङ्ख्यामा निकै गिरावट आएपछि कारणको खोजी गर्दा पशुको उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधिकै कारण गिद्ध मर्ने गरेको कुरा पत्ता लागेपछि यसविरुद्ध अभियान सञ्चालन गरिएको हो । अभियानको परिणामस्वरूप डाइक्लोफेनेक औषधिको प्रयोगमा प्रतिबन्धसँगै भारतबाट ल्याउने कार्यसमेत निरुत्साहित गरिएपछि गिद्धको सङ्ख्या विस्तारै बढन थालेको छ ।

 पशुको दुखाइ कम गर्ने डाइक्लोफेनेक औषधिको प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइएपछि गिद्धको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताउनुभयो । “सन् २०१० मा कञ्चनपुरलाई डाइक्लोफेनेकमुक्त घोषणा गरिएसँगै हराउँदै गएका गिद्धको सङ्ख्यामा वृद्धि हँुदै गएको पाइएको छ”, उहाँले भन्नुभयो, “लोप हुने अवस्थामा पुगेका गिद्ध पुरानै अवस्थामा फर्कन थालेका छन् ।”

उहाँका अनुसार डाइक्लोफेनेक प्रयोग गरेका पशुको मृत्युपछि गिद्धले सिनो खाँदा मुटु, मिर्गाैलालगायतमा असर पुग्न गई गिद्धको मृत्यु हुने गरेको थियो । “हाल पशुको दुखाई कम गर्ने डाइक्लोफेनेकको प्रयोग प्रतिबन्धित भएपछि गिद्ध संरक्षणमा टेवा पुगेको छ”, उहाँले भन्नुभयो ।  गिद्धले गुँड लगाउने र बस्न रुचाउने अग्ला सिमललगायतका रुखहरु काटिने मासिने क्रममा समेत कमी आएपछि गिद्ध जोगिएका हुन् ।

बासस्थान सुरक्षासँगै गिद्ध जोगाउनका लागि निकुञ्ज आसपासका क्षेत्रमा सचेतना कार्यक्रमलाई अगाडि बढाउन थालेपछि यसको प्रभावका कारण गिद्ध जोगिएको उहाँको भनाइ छ । नेपालमा नौ प्रजातिका गिद्ध पाइने गरेको भए पनि कञ्चनपुरमा भने सात प्रकारका गिद्ध मात्रै पाइने गरेका छन् । सानो खैरो, डङ्गर, सुनगिद्ध, सेतो, हिमाली, राजगिद्ध, र खैरो गिद्धलगायत कञ्चनपुर, कैलालीलगायतका क्षेत्रमा पाइने गरेका छन् ।

नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार सानो खैरो, डङ्गर गिद्ध अति सङ्कटापन्न अवस्थामा छन् । सुन गिद्ध र सेतो गिद्ध दुर्लभ गिद्धको सूचीमा रहेको छ । हिमाली, राज र  खैरो गिद्ध सङ्कटको नजिक रहेका छन् । राज र हिमाली गिद्ध भने चिसो याममा मात्रै कञ्चनपुरमा देखापर्ने गरेको छ । यी दुई गिद्ध आगन्तुक गिद्धका रुपमा रहेका छन् । लामो ठुँडे गिद्ध भने यहाँ हालसम्म देखापरेको छैन । हाडफोर प्रजातिको गिद्ध पहाडी क्षेत्र र हिमाली क्षेत्रमा देखापर्ने गरेको छ । 

नेपालमा डङ्गर, सानो खैरो, खैरो, राज, हिमाली, सुन, सेतो, हाडफोर र लामोठुडे गरी नौ प्रजातिका गिद्ध पाइएको छ । विश्वमा २३ प्रजातिका गिद्ध पाइने गरेका छन् । गिद्धलाई अहिंस्रक मांशहारी चराका रुपमा लिइने गरिन्छ । मरेका जीवजन्तुलाई मात्रै आहारका रुपमा लिने भएकाले गिद्धलाई प्रकृतिको कुचिकारका रुपमा लिने गरिएको हो । चराविज्ञ डगौराले भन्नुभयो, “पर्यावरणीय चक्रलाई सन्तुलित राख्न गिद्धले मद्दत पुर्याउने गर्दछ ।”

धार्मिक आस्थाका रुपमा समेत गिद्धलाई लिइने गरिन्छ । हिन्दूधर्ममा शनिदेवको बाहनका रुपमा गिद्धलाई पूजा गरिँदै आएको छ । एक अध्ययनअनुसार गिद्धले औसतमा दैनिक २०० ग्राम जति सिनो खाने गर्दछ । वर्षमा गिद्धले एउटा मात्रै अण्डा पार्ने गर्दछ । भालेपोथी मिलेर अण्डा कोरल्ने, बच्चा हुर्काउने कार्य गर्ने गर्दछन् । कात्तिकदेखि जेठ महिनासम्म गिद्धले प्रजनन् गर्ने गर्दछन् ।

गिद्ध गणनाको कार्य शुरु 

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा शनिबारदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझाडी संरक्षित क्षेत्रमा गिद्ध गणनाको कार्य शुरु गरिएको छ । गिद्ध गणनाका लागि निकुञ्ज कार्यालयबाट ३५ कर्मचारी खटिएका छन् । गिद्धको बासस्थान, गुडँ र गिद्धको अवस्थासँगै गिद्धको सङ्ख्या पत्ता लगाउनका लागि गणना कार्य शुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालले बताउनुभयो ।

गिद्ध गणनासँगै सामाजिक सञ्जालमार्फत सचेतना फैलाउने चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएका छन् । प्रत्येक वर्षको सेप्टेम्बर महिनाको पहिलो शनिबार गिद्ध सचेतना दिवस मनाइँदै आएको छ । अघिल्ला वर्षहरुमा विभिन्न सचेतनामूलक र्याली, क्याम्पस तथा विद्यालयस्तरीय संरक्षण शिक्षामूलक प्रतियोगिताहरु, गिद्ध तस्वीर तथा चित्रकला प्रदर्शनी, सडक नाटक, अन्तक्र्रिया तथा रेडियो कार्यक्रम गरी मनाइँदै आएकामा कोरोना भाइरसको महामारीका कारण सामाजिक सञ्जालमार्फत सन्देश दिने कार्य भइरहेको छ । सन् २००९ देखि प्रतिवर्ष गिद्ध सचेतना दिवस मनाइँदै आएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो