Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
December 21, 2020 डोटी - DT, समाज

सुदूरपश्चिममा छाउगोठ भत्काउने अभियान फेरि शुरु

By साझासवाल

पुस ६, डोटी । समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ । कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि यहाँका विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने अभियान शुरु गरिएको हो । गृहमन्त्रालयले गएको वर्ष पुस ९ गते यहाँका प्रमुख जिल्ला अधिकारीलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि छाउगोठ हटाउने अभियान चालिएको थियो तर गएको वर्ष चैत महिनादेखि देशव्यापी कोरोना कहर शुरु भएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा उक्त अभियान बन्द भएको थियो । अहिले यहाँका जिल्लामा छाउगोठ भत्काउने अभियान शुरु हुन थालेको छ । यसै सिलसिलामा डोटीको छिमेकी जिल्ला अछाममा शनिबार मात्रै पुनः नौवटा छाउगोठ भत्काइएको छ ।

छाउगोठ भत्काउने अभियानमा निस्किएको टोलीले जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा रहेका नौवटा छाउगोठ भत्काएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना कहरका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिएको थियो, अहिले हामीले पुनः भत्काउन शुरु गरेका छौँ, एकै दिनमा हामीले नौवटा छाउगोठ भत्काएका छौँ ।” छाउपडी प्रथा मानेकै कारण दर्जनौँ महिलाले अकालैमै ज्यान गुमाएको तथा कयौँ किशोरी बलात्कृत भएको जान्दा जान्दै पनि छाउगोठ राखेको पाइएकाले पुनः भत्काउने अभियान शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी डोटीमा पनि छाउगोठ भत्काउने अभियान चाँडै शुरु हुने प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण फैलिनुभन्दा पहिले जिल्लामा भएका धेरै छाउगोठ भत्काइसकिएका छन्, कहीँकतै अझै राखिएका भए त्यसको जानकारी लिने काम भइरहेको र भेटिएको खण्डमा भत्काउने तयारीमा छौँ ।”

जिल्लामा कुन कुन ठाउँमा छाउगोठ राखिएका छन् त्यसको विषयमा जानकारी लिनका लागि सादा पोशाकमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका केही ठाउँमा छाउगोठ छन् भन्ने मौखिक खबर आएको छ, त्यो बारे बुझ्न टोली खटाएका छौँ, टोलीले खबर ल्याउने बित्तिकै भत्काउन शुरु गर्छौँ ।” दुई नगरपालिका तथा सात गाउँपालिका गरी कूल नौवटा स्थानीय तह रहेको डोटीमा छाउपडी प्रथा अन्त गर्न तथा छाउगोठ भत्काउनका लागि प्रत्येक वडामा छाउपडीसम्बन्धी जनचेतना जगाउने काम शुरु गरिने सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घका अध्यक्ष तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “छाउगोठ हटाउन प्रत्येक वडाका सबै टोल, गाउँमा प्रहरीसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम गर्ने तयारी गरिरहेका छौँ, कुरीतिका रूपमा रहेको छाउगोठ मनैदेखि भत्काउन जरुरी छ ।” जिल्लामा छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुन्छ र देउता रिसाउँछन् भन्ने अन्धविश्वासका साथ महिनावारी अर्थात् छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरो बनाउने चलन रहेको छ ।

महिनावारी अर्थात् छाउ भएकी महिलालाई पाँचदेखि सात दिनसम्म छुन नहुने तथा घ्यू, दूध, दही दिन नहुने तथा दिएमा देउता रिसाएर घरमा अनिष्ट हुने अन्ध विश्वास अझै कायमै रहेको दिपायल सिलगढी नगरपालिका–४ की तुलसी शाहीले बताउनुभयो । उहाँले भन्न्ुभयो, “छाउ हुँदा महिलाको थुप्रै रगत बगेको हुन्छ, कमजोर हुन्छन् त्यो बेला पोषिलो खानेकुरो दिनु हुन्न भन्ने चलन छ, पोषिलो खानेकुरो नपाउँदा महिला बिरामी हुने र रोग लाग्ने बढी सम्भावना हुन्छ ।” विगतमा जिल्लामा कम्तीमा पनि २०० को हाराहारीमा छाउगोठमध्ये प्रहरी तथा स्थानीय प्रशासनले केही हटाए पनि अझै छाउगोठ कायमै रहेको हुनसक्ने यहाँका स्थानीयको अनुमान रहेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १६८(३) मा महिला रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र रु तीन हजारसम्म जरिवाना हुने व्यवस्था रहेको भए पनि सुदूरपश्चिममा छाउपडीका नाममा महिनावारी भएकी महिलालाई छाउगोठमा राख्ने चलन कायमै रहेको छ । रासस