पढ्न करिब 4 मिनेट लाग्छ

फुर्बा तामाङ । फागुन ६, दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–१ का लक्ष्मन माझीलाई अचेल न निन्द्र लाग्छ न भोक नै । केबल कति खेर हामीलाई पुलिसले समाउने हो भन्ने डर मात्रै मनमा आउन थालेको छ ।

भूकम्प गएको एक वर्षपछि आफूलाई तपाईको घर ढलेछ राहत दिने मान्छे भेटाइदिन्छु । उहाँ धनी मान्छे हो । प्रशस्तै राहत वितरण गरेको छ भन्दै मधेशी समुदायजस्तै देखिने एक व्यक्तिले प्रलोभनमा पारेर आफूसँग ठगी गरेको हुनसक्ने उहाँको ठम्याइ छ । ती व्यक्तिले पटकपटक गरी रु ३६ हजार ५०० रकमसमेत उठाएर लगेको उहाँको भनाइ छ ।

“आफूहरुसँग नागरिकता प्रमाण पत्रको प्रतिलिपि र फोटो खिचेर ती व्यक्तिले लगेको र त्यसपछि के भयो, त्यसको केही थाहा छैन”, माझीले भन्नुभयो, “अहिले आएर पिआर के टे«ड इन्टरनेशनलको सञ्चालक भएको थाहा पाएपछि आफू ठगिएको महसुस भएको छ । ”

भूकम्प गएको केही दिनपछि राहत बाड्ने भन्दै गाउँमा थुप्रै मान्छे आउन थाले । राहतको नाममा विभिन्न सङ्घ संस्था गाउँगाउँमा छिरे, वल्लोगाउँ पल्लोगाउँमा राहतको चर्चा नै चल्यो । “यसै क्रममा विभिन्न सङ्घ संस्थाले नागरिकताको प्रतिलिपि, जग्गाको प्रतिलिपि मागी लगियो । हामीलाई थप राहत ल्यान बाहनामात्रै दिन्थे । केही पनि थाहा भएन”, उहाँले भन्नुभयो, “राहतको नाममा अन्न, तरकारी, लत्ताकपडा ल्याएर गाउँ छिर्नेको लर्को नै लाग्थे ।”

राहतको नाममा पहिलो, दोस्रो, तेस्रो भनि सबै जनालाई सहीछाप गर्न लगाएको स्मरण गर्दै माझीले हामीलाई पटकपटक विभिन्न थरिको कागजातमा सही गर्न लगाउथे । सही चाही गरे तर के को कागजमा सही गरेको कसैलाई पनि थाहा भएन भन्नुभयो । अक्षरको नाममा नाम मात्रै लेख्न जान्ने भएकाले हामीले अरु केही पनि थाहा भएन । यसरी फसियो माझीले भन्नुभयो ।

फसाउने व्यक्ति को हो ? कहाँको हो, केही पनि थाहा भएन । देखे भने अनुहार चिन्छु उहाँले बताउनुभयो । “यसरी फसाउलान भन्ने जानेको थिएन । अब हामी के गर्ने, गाउँ नै आक्रन्त बनेको छ”, उहाँले भन्नुभयो, “कोही नयाँ मान्छे आयो भने सबै जना डरले काम्ना थाल्छ । के गर्ने हामीहरुले कसैलाई चिनेको छैन । जानेको छैन । कस्ले यो कुरा सुन्ने हो । केही पनि थाहा छैन ।”

राजश्व छलीको मुद्दा उच्च अदालत पाटनले आफ्नो हातमा थमाइपछि के गर्ने, के नगर्ने भन्ने अन्योल छ, सिङ्गै माझी बस्तीमा । आफ्नो परिवारको नाममा दुई रोपनी पनि जग्गा नभएको लक्ष्मनले यस्तो कागज देखेर रुनु न हास्नुका अवस्थामा पुगेका हुन् । उच्च अदलतले हाजिर हुन बोलाएपछि स्थानीय जनप्रतिनिधिसमेत आश्चर्य चकित भएका छन् ।

स्थानीय बद्रीबहादुर कटुवालका अनुसार राजश्वको नामसमेत नसुनेको र अदलतको ढोकामा जन्मेदेखि हालसम्म पाइलासमेत नटेकेको नाममा यति धेरै रकम राजश्व चुहावट भएको मुद्दा लाग्दा आफू पनि भिरबाट खसेको जस्तो महसुस भएको बताउनुभयो ।

लक्ष्मनको नाममा दर्ता भएको पान नम्बरबाट राजश्व छली गरेको भन्दै रु पाँच करोड २० लाख खुल्न आएको छ । जिल्ला अदालत दोलखाले केही दिन अघि मात्रै रु साढे ५ लाख राजश्व छलीको मुद्दाको तामेली हातमा थमाएको छ । केही दिनअघि मात्रै लक्ष्मनले रु साढे पाँच लाख राजश्व चुहावटको गरेको मुद्दाको तामेली बुझेका छन् ।

यसैगरी अन्य माझीले पनि नागरिकताको प्रतिलिपि बुझाएकाले उनीहरु पनि त्यस्तै पीडामा भएको उहाँले बताउनुभयो । ती बस्तीका दिनेश माझी, नारायण माझी, देवेन्द्र माझी, शरण माझीलगायतको नागरिकता प्रमाणपत्रको प्रतिलिपि राहत दिने भन्दै लगेकाले उनीहरु पनि चिन्तामा रहेको स्थानीयवासी बताउँछन् । गरिबी निवारणका लागि भन्दै सर्लाहीको मङ्लगवामा तीन दिनसम्म होटलमा राखी प्रति व्यक्ति रु ११ हजारका दरले दुई जनालाई बाटो खर्च भन्दै उनीहरुले दिएको अर्का वीरबहादुर माझीले बताउनुभयो ।

दिनभर तामाकोशी खोलामा माछामारी आफ्नो जीविको चलाउँदै आएको माझी समुदायले आफूलाई राहतका नाममा भएको यस्ता हर्कतका कारण निकै दुःखी तुल्याएको मात्रै होइन, फसाउने व्यक्तिको खोजीमासमेत लाग्न थालेका छन् । दैनिक माछामारी आफ्नो छाक टार्दै आएका माझी समुदायका व्यक्तिलाई यत्ति ठूलो राजश्व छलीको मुद्दा कसरी र कस्ले लगायो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक भेषराज रिजालले बताउनुभयो । उहाँका अनुसार राहत लिन गएका अरुको नाममासमेत यस्तो प्रकृतिका मुद्दा दायर भएको हुनसक्ने भएकाले अनुसन्धान गरी कारवाही गर्ने बताउनुभयो ।

यसरी फर्म दर्ता गरी आफू ठगिएको थाहा नभएको र एक्कासी अदालतको तामेली आएपछि गाउँ नै आक्रन्त बनेका छन् । नयाँ कोही व्यक्ति आउँदासमेत डराउने अवस्था भएको माझी बस्तीका ज्यानकुमारी माझीले बताउनुभयो ।रासस