फागुन १७, बझाङ । बझाङको केदारस्यु–४ सुदाडाकी ललिता मल्ल हातमा ब्यानर बोकेर पसलपसलमा पुगेर आर्थिक सहयोग माग्दै हिँड्नुभएको छ । आर्थिक सहयोग माग्नका लागि हिँडेको छ महिना बढी भइसकेको छ ।

पसल अगाडि पुगेर ललिताले ब्यानर देखाउनुहुन्छ । त्यसपछि मिर्गाैला फेल भएर कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारार्थ भर्ना भएका २६ वर्षीय देवर भुवन मल्लको अवस्था र घरको आर्थिक अवस्थाबारे बेलिविस्तार लगाउनुहुन्छ ।

कुनै ठाउँबाट आर्थिक सहयोग पाइन्छ । कुनै ठाउँबाट पाउनुहुन्न । हरेस नखाइकनै ललिता देवरको ज्यान जोगाउनका लागि हिम्मतका साथ आर्थिक सङ्कलनको अभियानमा खटिनुभएको छ । आर्थिक अवस्था दयनीय भएकी उहाँ उपचार खर्च धान्न नसक्दा सहयोगका लागि पसलपसल चहार्दै हिँड्नुभएको हो । “सम्पत्तिका रूपमा पहाडमा पाखो जग्गा मात्रै छ”, ललिताले भन्नुभयो, “जग्गाबाट वर्षभरि खानसमेत पुग्दैन । उपचारका लागि रकमको जोहो गर्ने कुरा कल्पनामा मात्रै सोच्न सकिन्छ । आर्थिक अभावले नै यसरी हिँड्नु परेको छ ।” बूढा सासूससुराको जिम्मामा दूधे बालकलाई छाडेर देवरको ज्यान जोगाउनका लागि आर्थिक सहयोग माग्दै हिँड्नु परेको उहाँले बताउनुभयो ।

भारतको बेङ्ग्लोरमा काम गर्दै गरेका बेला गत वर्ष भुवनको दुवै मिर्गौला फेल भएका हुन् । मिर्गौला फेल हँुदा काम गर्न नसक्ने भएपछि उहाँ घर फर्किनुभएको थियो । “घरमा रहेको थोरै रकमले अस्पतालमा भर्ना गरे पनि डायलासिस गराएपछि लगाउने सुई र औषधिका लागि पैसा अभाव छ”, ललिताले दुखेसो पोख्नुभयो । कैलाली र कञ्चनपुरमा बजारमा पसल पसल पुगेर सङ्कलन हुने सहयोगले मुस्किलले औषधिको व्यवस्था गर्न सकिएको उहाँले बताउनुभयो ।

“अनेक जुक्ति निकालेर माग्दै हिँडेका छौँ । आफैँ खानका लागि हो भनेर भन्ने पनि भेटिन्छन् । हामीसँग आफ्नै दुःख छन् । सुनेर पनि नसुनेको जस्तो गरी हिँड्नु परेको छ”, उहाँले भन्नुभयो । चिकित्सकले भुवनको थप उपचारका लागि काठमाडौँ लैजान भनेका छन् । मल्ल परिवारसँग काठमाडौँ जाने यातायातको भाडासमेत छैन ।

“चिकित्सकले दुवै मिर्गौला फेर्नुपर्दछ त्यसपछि मात्रै ज्यान जोगिने भनेका छन्”, ललिताले गहभरि आँसु खसाल्दै भन्नुभयो, “काठमाडौँ पुग्नका लागि भाडा नै छैन । मिर्गौला कसरी फेर्ने हो । उपचार नपाएरै देवरको ज्यान जान लाग्यो । ज्यान जोगाउनका लागि सहयोग गरिदिनु पर्यो ।”

स्वास्थ्य कार्यालय बझाङले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयलाई आर्थिक अवस्था कमजोरसँगै विपन्न नागरिक रहेकाले सहयोग उपलब्ध गराइदिनका लागि सिफारिस साथ पत्राचार गरे पनि सुनुवाइ भने हुन सकेको छैन । गाउँपालिकाले समेत सहयोग नगरेको पीडित परिवारको गुनासो छ ।

नागरिक सुशासन समिति शुक्लाफाँटा नगरपालिका झलारी, कञ्चनपुरका अध्यक्ष वीरबहादुर बोहरा पीडामा रहेका व्यक्तिलाई मलम लगाउने कार्य स्थानीय तहले गर्नुपर्ने बताउनुहुन्छ । “मिर्गौलापीडितको डायलासिस अस्पतालले गर्ने कार्य निःशुल्क गराउँदै आएको छ”, उहाँले भन्नुभयो, “जानकारी नभएर र प्रक्रिया नजानेर पीडितले पीडा खेप्नुपरेको छ । यसका लागि सहजीकरण गरिदिनुपर्छ ।”

अध्यक्ष बोहराले सहयोग माग्दै हिँडेका ललितालाई भुवनको उपचारमा सघाउ पुर्याउनका लागि रु एक हजार ५०० सहयोगसमेत गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “आर्थिक अभावले पीडामा बाँचेका व्यक्तिको दुःखमा साथ दिनु नै मानवीय धर्म हो । जसको सबैले पालना गर्नुपर्छ ।” मिर्गाैला प्रत्यारोपणका लागि मल्ल परिवारले एभरेष्ट बैंकमा रहेको खाता नम्बर ०११००५०१२३०४८ मा रकम जम्मा गरी ज्यान जोगाइदिनका लागि दातृ निकाय, व्यक्ति, सङ्घसंस्थासँग आग्रहसमेत गरेको छ ।