जेठ २५, सुदूरपश्चिम (रासस) । गत दुई महिनायता सुदूरपश्चिम प्रदेशमा आज पहिलो पटक कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको दर शून्यमा झरेको छ ।

पछिल्लो २४ घण्टामा यो प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।

यो अवधिमा एक हजार ५२१ नमूना परीक्षण गरिएकोमा २९३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

योसँगै यो प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४१ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ४३६ जना रहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयलका अनुसार प्रदेशका विभिन्न अस्पतालमा आज भेन्टिलेटरमा चार, सघन उपचार कक्षमा आठ र कोभिड वार्डमा १४ जना बिरामी भर्ना हुनुभएको छ ।

दोस्रो लहरको कारोना भाइरस सङ्क्रमण फैलिएयता यही जेठ ७ गते एकै दिन प्रदेशमा सबैभन्दा बढी ९८४ जना नयाँ सङ्क्रमित थपिएका थिए । प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ सङ्क्रमितको मृत्यु भएको थियो ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको अवधि यही जेठ ३१ सम्म थपिएको छ ।

June 8, 2021
कन्चनपुर - KNC, काठमाडौँ - KTM, कैलाली - KLL, बैतडी - BTD, समाज
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने दर शून्यमा
By साझासवाल
3 मिनेट पढाइ