नरेन्द्रसिह कार्की । असार ४, दार्चुला (रासस) । लगातारको वर्षाका कारण महाकाली नदीको सतह बढ्दै गएको छ । महाकालीमा पानीको सतह बढेसँगै जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सजकता अपनाउन सबैमा आग्रह गरेको छ । आज बिहान महाकाली नदीको बहाव पाँच मिटर ८० सेन्टिमिटर पुगेको छ । प्रहरी चौकी दत्तुका अनुसार छ मिटर नाघ्यो भने खतरा हुन्छ । नदीमा ढुङ्गा तथा ठूला काठ बगिरहेका छन् ।

नदी बढेर सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रमा तटबन्ध माथि चढेको छ । पत्रकार भोजराज जोशीका अनुसार निर्माणाधीन तटबन्धभन्दा माथि महाकाली पुगेको छ । अहिले नदीले पुरानै स्वरुप लिएको छ । नदीमा पानीको बहाव बढ्दा आसपासका क्षेत्रमा जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभयोे । नदी तटीय क्षेत्र तथा जिल्लाका अन्य नदी तथा खोलामा बाढी आउन सक्ने सम्भावना रहेकाले जिल्लावासीमा सावधानी र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

गत जेठ २८ गते मनसुन भित्रिएसँगै देशभर लगातारजसो पानी परिरहेको छ । यो हप्ता मनसुन सक्रिय भई देशभर पानी पर्ने हुँदा बाढी र पहिराको जोखिम रहेकाले सचेत रहन प्रशासनले आग्रह गरेको हो । विसं २०७० को महाकाली बाढीपछि तटबन्ध निर्माण भएका कारण अहिलेसम्म सदरमुकाम सुरक्षित रहेको भए पनि सदरमुकामभन्दा माथिल्लो क्षेत्र र दक्षिण क्षेत्रका बस्ती अहिले पनि जोखिममा छन् ।

ग्रामीण सडक अवरुद्ध

निरन्तरको झरीका कारण यहाँका ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षाका कारण खार–खलङ्गा सडक, खलङ्गा–तिङ्कर सडक र विटुले–पारिबगड सडक अवरुद्ध भएका हुन् । प्रदेश गौरव योजनाअन्तर्गत ग्राभेल भइरहेको खार–खलङ्गा सडकको तीन ठाउँमा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै खलङ्गा–खार क्षेत्रमा सञ्चालन हुँदै आएका यातायातका साधन प्रभावित भएका छन् । यो सडक खण्डको मालभेला, झुस्कु मोड र सेला क्षेत्रमा सडक अवरुद्ध भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा नौगाडसम्म जाने स्थानीयवासीलाई समस्या भएको छ । नौगाडबाट खलङ्गा आउने तरकारी बिक्रेताले झनै सास्ती भोग्नुपरेको नौगाडका स्थानीयवासी धनसिंह सितोलीले बताउनुभयो । “सडक अवरुद्ध हुँदा पिठ्यूँमा तरकारी ढुवानी गर्न समस्या हुन्छ”, उहाँले भन्नुभयो, “गाडी चल्यो भने सहज रुपमा तरकारी बजारसम्म पुर्याउन सकिन्छ ।”

अवरुद्ध सडक खुलाउन निर्माण व्यवसायलाई आग्रह गरिएको अध्यक्ष ठगुन्नाले बताउनुभयो । “यो सडक खण्डमा ग्वालेक निर्माण सेवाले सडक ग्राभिल गर्दैछ”, अध्यक्ष ठगुन्नाले भन्नुभयो, “निर्माण व्यवसायलाई सडक खुलाउन आग्रह गरिरहेका छौं ।”

यस्तै विटुले पारिबगर सडक खण्डको रिल पहिरो क्षेत्र अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै खलङ्गा–तिङ्कर सडक खण्डको राताकाठा क्षेत्रमा सडक अवरुद्ध भएको स्थानीयवासी अशोक ओझाले जानकारी दिनुभयो । राताकाठामा पूरै पहिरो आएको छ । चट्टान खसेपछि अहिले प्रहरीले पहिरो क्षेत्रमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । अझै वर्षा नरोकिएको कारण सावधानी अपनाउन प्रहरी प्रशासनले आग्रह गरेको छ ।

महाकाली नदीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह
Leave a Comment