पढ्न करिब 2 मिनेट लाग्छ

केदार मगर/साउन ३२, खोटाङ । “श्रीमती त मरेर गइन् नै”, एक युवाले भने, “हामी दुई बीचको नाता सम्बन्ध राख्ने नौमहिने बालकको बिचल्ली हुने भयो ।”

ब्लड क्यान्सरबाट पीडित बनेकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएपछि खोटाङ खार्मी–८ का अशोक तामाङले यस्तो दुखेसो पोख्नुभएको हो । क्यान्सरबाट पीडित बनेकी १८ वर्षीया कविता तामाङको उपचारका क्रममा साउन ३० गते मृत्यु भएको हो ।

काठमाडौंको सिभिल अस्पतालमा उपचार गराउने क्रममा कविताको मृत्यु भएपछि उनको नौमहिने बालकको बिचल्ली भएको छ । कविताले आफू नबाँच्ने थाहा पाएपछि छोरा बचाइदिन आग्रह गर्दै सहयोगको याचना गरेकी थिइन् । काखमा दूधेबालक च्यापेर उपचार गराइरहेकी कविताले आफू मर्नुअघि भनेकी थिइन्, “म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस् ।”

क्यान्सरपीडित कविताले आफू र आफ्नो छोरा बचाइदिन आग्रह गरेको समाचार राष्ट्रिय समाचार समितिमार्फत विभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भएपछि सहयोग रकमसमेत जुट्न थालेको थियो । ऋणपान गरेर काठमाडौँको भैँसेपाटीमा कोठा लिएर उपचार गराइरहेकी कवितालाई अस्पतालले २० लाख रुपैयाँ लाग्ने बताएपछि सहयोगको याचना गरेकी थिइन् ।

कविताको मृत्यु भएपछि उनको उपचारमा सहयोग गर्न विभिन्न देशबाट सङ्कलन भएको करिब छ लाख रुपैयाँ रकम हस्तान्तरण गर्न नपाइएको खोटाङ बास्पानीका राजन राईले बताउनुभयो । “सहयोग रकम लिएर हामी अस्पताल गएका थियौँ”, एमाले वैकल्पिक केन्द्रीय सदस्यसमेत रहनुभएका राईले भन्नुभयो, “उनको विहानै मृत्यु भइसकेको खबर सुन्नासाथ हामी मर्माहत भयौँ ।”

देश तथा विदेशबाट सङ्कलित सहयोग रकम नाबालकको नाममा बैंक खाता खोलेर जम्मा गरिदिने तयारी गरिएको राईले जानकारी दिनुभयो । “दुई÷तीनजना संरक्षक बसेर बालकको नाममा खाता खोल्ने तयारी गरेका छौँ ।” उहाँले भन्नुभयो, “बैंकमा जम्मा हुने रकम उनै दूधेबालकको लालनपालन तथा शिक्षादीक्षामा खर्च हुनेछ ।”

दुई वर्षअघि अशोकसँग विवाह भएकी कवितालाई कक्षा १० पढ्दादेखि नै क्यान्सर देखिएको पारिवारिक स्रोतले जनाएको छ । निम्न आर्थिक अवस्था भएका अशोक कवितासँग वैवाहिक बन्धनमा बाँधिएपछि रोजगारीको सिलसिलामा साउदी अरब गएका थिए । घरमा रहेकी श्रीमती बिरामी भएपछि उनको उपचारका लागि साउदीबाट छुट्टीमा आएका अशोक श्रीमतीको मृत्यु भएपछि पुनः साउदी जानबाट वञ्चित बनेका छन् ।

वैदेशिक रोजगारीकै माध्यमबाट घरपरिवार धान्दै आएका अशोकलाई श्रीमतीको मृत्यु भएपछि पुनः विदेश जान नपाएपछि समस्या भएको हो । खार्मी–५ मा १८ वर्षअघि जन्मिएकी कविताकी आमाको समेत यही महिनामा मृत्यु भएको थियो । आमाको अन्तिम संस्कारको दिन छोरी कविताको समेत क्यान्सरका कारण मृत्यु भएपछि दुवै परिवार शोकमा डुबेका छन् । रासस