२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

बेलायतबाट आइपुग्यो काभ्रे पाँचखालको ‘जियोफिजिकल सर्भे’ प्रतिवेदन

२०७८, १० फाल्गुन मंगलवार ०७:३६

फागुन १०, काभ्रेपलाञ्चोक । एक वर्षअघि पुरातत्व विभागले बेलायती विज्ञ समूहद्वारा पाँचखाल नगरपालिकास्थित पुरातत्व स्थलमा गरिएको ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण) को प्रतिवेदन नेपाल आइपुगेको छ । 

सर्भे गरिएको तीन महिनापछि प्रतिवेदन आउने जनाइए पनि कोरोना महामारीलगायत विभिन्न कारणले नौ महिनापछि मात्र आएको हो । बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित विभिन्न स्थानमा गत साल फागुनमा गरिएको सर्भेमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाइएको थियो । 

बेलायतस्थित दुरहाम विश्वविद्यालयका विज्ञ टोलीले पाँचखाल–७ स्थित सिमालीघारी, वासुकी स्थान, माल्टार, कञ्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासलगायत क्षेत्र तथा ६ नं वडाको भमरकोटसहित विभिन्न स्थानमा सर्भे गरेको थियो । सर्भेमा संलग्न विभागका पुरातत्व अधिकृत विष्णु पाठकका अनुसार सर्भे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको थियो । “डाटा एनालाइसिस गर्दा सर्भे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको थियो, बेलायतबाट आएको सर्भे प्रतिवेदनबाट विस्तृतमा आउनेछ”, पाठकले भन्नुभयो ।  

सर्भेको विस्तृत प्रतिवेदन करिब एक महिनापछि सार्वजनिक गरिने विभागका पुरातत्व अधिकृत एवं प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो । “बेलायती विज्ञ टोलीबाट पाँचखालको सर्भेको प्रतिवेदन आइपुगेको छ, एक महिनापछि सार्वजनिक गर्नेछौँ”, उहाँले भन्नुभयो । पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन काभ्रेपलाञ्चोकको पाँचखालसहित नेपालको अन्य क्षेत्रमा जियोफिजिकल सर्भे गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार हालै मात्र पाँचखालको सर्भे गरिएको सबै स्थानको प्रतिवेदन आएको हो । उक्त टोलीले पाँचखालमा एक साता लगाएर सर्भे गरेको थियो । 

विस्तृत प्रतिवेदन सार्वजनिक भएपछि पाँचखालमा थप उत्खनन गर्नुपर्ने बताइन्छ ।  विभागले पनि पाँचखालको सम्पदालाई प्राथमिकतामा राखेको जनाएको छ । पाँचखालमा बेलायती सर्भे मेसिन र ड्रोन क्यामेरामार्फत जियोफिजिकल सर्भे गरिएको थियो । यसअघि विभागले युनेस्कोलाई समेत सन् २०२० जुन् २९ मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको छ । पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा रहेका सम्पदाको सर्भे गर्न बेलायतस्थित दुरहाम विश्वविद्यालयका आठ सदस्यीय विज्ञ टोली मार्च पहिलो साता नेपाल आएको थियो । 

सर्भे मेशिनले सम्पदा क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ । विभागका निर्देशक दामोदर गौतमका अनुसार नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदाको भएपछि जियोफिजिकल सर्भे गर्नु आवश्यक देखिएकाले एक वर्षअघि बेलायतबाट विज्ञ टोली मगाइएको हो । त्यसबेला कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको टोलीले छ जिल्लाका विभिन्न स्थानमा सर्भेको काम सकेको थियो । 

काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा करिब दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्भे गरेको जनाएको छ । पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका अधिकृत पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार गरिएको प्रतिवेदनमा उल्लेख छ । पाँचखाल नपा–२ माल्टारस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायत सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको सो प्रतिवेदनमा उल्लेख छ । 

उत्खननका क्रममा भेटिएको अन्य आकारका इँटा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँटाको गारोभित्र माटाको डुँडद्वारा पानी पाइपलाइन भेटिएको थियो । साथै, स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नगरप्रमुख महेश खरेलले पााँखालको सम्पदा संरक्षणमा भरपुर प्रयास भइरहेको बताउँदै सर्भेको विस्तृत प्रतिवेदन आएपछि नगरद्वारा सम्पदा संरक्षणको ‘माष्टर प्लान’ बनाउने बताउनुभयो । पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक समेतले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै गर्नु परे विभागको स्वीकृति र सहमति गराउन पाँचखाल नगरपालिकालाई पत्रमार्फत जानकारी गराएको थियो । 

खोज अनुसन्धानकर्र्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन् । “पुरातत्वविद्का अनुसार सर्भेमा पाँचखालकै भमरकोट गढीमा समेत सम्भावना देखिएको थियो”, स्थानीय प्राचीन पलाञ्चोक उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिका सदस्यसचिव श्रीकृष्ण धिमालले भन्नुभयो । समितिले पनि नगरभित्रका ऐतिहासिक सम्पदा पुनःनिर्माण एवं नयाँ निर्माण गर्दा पुरातात्विक ढाँचामै निर्माण गर्न नगरलाई सुझाव दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण