२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको साकेलामा अख्तियारले छानबिन थाल्यो

२०७८, १८ फाल्गुन बुधबार ०८:२०

फागुन १८, खोटाङ । साकेला गाउँपालिकाको सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । 

मृत्यु भइसकेका, बसाइँ सरिसकेका तथा हुँदै नभएका व्यक्तिको नाममा समेत सामाजिक सुरक्षाभत्ता निकासा गरेर कर्मचारीले अनियमितता गरेको पाइएपछि गाउँपालिकाले दिएको उजुरीका आधारमा आयोगले छानबिन सुरु गरेको हो ।

आयोगको टोलीले साकेला गाउँपालिका–४ मात्तिम र वडा नं ५ मानेभञ्ज्याङबाट छानबिनको प्रक्रिया थालेको गाउँपालिकाका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले जानकारी दिनुभयो । “आयोगले गाउँपालिकाबाट लेखेर पठाइएको प्रतिवेदनका आधारमा देखिएको नामावलीमाथि थप छानबिन थालेको छ”, उहाँले भन्नुभयो, “भूगोलमा मान्छे छन् वा छैनन्, भए कुन प्रकृतिको हो ? त्यसको यथार्थ विवरण सङ्कलन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउन आख्तियारको टोली आएको हो ।”

एकै आर्थिक वर्ष रु ८७ लाखभन्दा बढी सामाजिक सुरक्षाभत्तामा अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएपछि साकेला गाउँपालिका आफैँले कारबाहीका लागि विसं २०७७ पुस १२ गते सोसँग सम्बन्धित कागजातको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी पठाएको थियो । आर्थिक वर्ष २०७६/७७ भित्र मात्रै पाँच वडामा रु ८७ लाख ४१ हजार ६०० रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको थियो । 

सामाजिक सुरक्षा भत्तामा अनियमितता भइरहेको विषय राष्ट्र्यि समाचार समिति (रासस) लगायत विभिन्न सञ्चारमाध्यमबाट बाहिरिएपछि गाउँपालिका उपप्रमुख सरिता खड्काको संयोजकत्वमा गठित छानबिन समितिले एकै आर्थिक वर्षमा लाखौँ रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । सामाजिक सुरक्षाभत्ता दुरुपयोग भएको विषयमा विसं २०७७ असोज १४ गते गठित समितिले विसं २०७७ मङ्सिर २३ गते अन्तिम छानबिन प्रतिवेदन सार्वजनिक गरेको थियो । 

गाउँपालिकाका कर्मचारीले सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीको एउटै नाम, एउटै नागरिकता नम्बर, एउटै ठेगाना र एउटै जन्ममिति उल्लेख गरेर तीनजनासम्म नक्कली लाभग्राही तयार पारि रकम अनियमितता गरेको पाइएको छ । एकै व्यक्तिका नाममा विधवा र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बाँडिएको तथ्य पनि फेला परेको छ । सामाजिक सुरक्षाभत्तामा अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएपछि कर्मचारीसँगै वडा तथा गाउँपालिकाका जनप्रतिनिधिसमेत नैतिक प्रश्नको कठघरामा परेका छन् । छानबिनका क्रममा कतिपय मृतक वा बसाइँ सरिसकेका व्यक्तिका आफन्तले नै निरन्तर सामाजिक सुरक्षाभत्ता लिइरहेको पनि पाइएको बताइएको छ । 

सामाजिक सुरक्षाभत्ता शीर्षकको लाखौँ रकम चुहावट भइरहेको प्रतिवेदन सार्वजनिक भएलगत्तै गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ को दोस्रो चौमासिकदेखि ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ बमोजिम नेपाल एसबिआई बैङ्क साकेला शाखामार्फत सामाजिक सुरक्षाभत्ता वितरणको व्यवस्था मिलाइसकेको छ । सामाजिक सुरक्षाभत्तामा भइरहेका अनियमितता नियन्त्रणका लागि बैङ्किङ प्रणाली अपनाइएपछि आर्थिक वर्ष २०७७/७८ को दोस्रो र तेस्रो चौमासिकमा रु ४६ लाख ७४ हजार ७६६ रकम बेरुजु खातामा फिर्ता गएको छ ।

गाउँपालिका र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गत सेवा इकाइको सक्रियतामा गलत लाभग्राहीका नाममा भुक्तानी हुँदै आएको रकम जोगिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाप्रमुख डिल्लीमान राईले बताउनुभयो । “सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता भएको विषय बाहिरिएपछि गाउँपालिकाका उपप्रमुख सरिता खड्काको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो,” उहाँले भन्नुभयो, “छानबिन समितिले आर्थिक वर्ष २०७६/७७ मात्रै रु ८७ लाख ४१ हजार ६०० रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।”

दस स्थानीय तहमध्ये जिल्लाकै सबैभन्दा सानो पाँचवटा मात्रै वडा रहेको साकेला गाउँपालिकामा अहिले जम्मा एक हजार २०५ जना मात्र लाभग्राही कायम रहेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जनाएको छ । कर्मचारीमार्फत वितरण गर्दा व्यापक अनियमितता भएको सामाजिक सुरक्षाभत्ता चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक करोड ११ लाख भुक्तानी भएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाका अन्य स्थानीय तहले पनि बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण कार्य थालेका छन् तर अन्य स्थानीय तहले भने सामाजिक सुरक्षाभत्ता वितरणमा भइरहेको चुहावटबारे बाहिर ल्याएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु