चैत १६, पोखरा । पोखरा महानगरपालिकाले नगरभित्रका सबै तालको मापदण्ड तोकेको छ ।

बुधबार बसेको कार्यपालिका बैठकले फेवा सहित ९ वटै तालहरुको मापदण्ड तोकेको हो । फेवातालको मापदण्ड अव ३० मिटर कायम गरिएको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार समयमा काम गर्न नसकेपछि मानहानीको मुद्धा खेप्दै आएको पोखराले कार्यकालको अन्तिम समयमा मापदण्ड तोकिदिएको हो ।

यसअघि ६५ मिटर मापदण्ड रहेकोमा त्यसलाई घटाएर ३० मिटर कायम गरिएको हो । मापदण्ड तोक्नका लागि वडा नम्बर १७ का अध्यक्ष तीर्थ अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । समितिले लिएको सुझावका आधारमा मापदण्ड तोकिएको महानगरले जनाएको छ ।

यस्तै, बेगनास र रुपातालको मापण्दड ५५ मिटर कायम गरिएको छ । सरकारले यि तालहरुको मापदण्ड १ सय मिटर तोकेको थियो । तर स्थानीयलाई असर पर्ने भन्दै ५५ मिटरमा झारिएको हो ।

अरु साना तालको मापदण्ड भने २० मिटर कायम गरिएको छ । योसँगै मापदण्ड भन्दा बाहिरका कित्ताको जग्गा फुकुवा गर्नका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय भएको छ ।

उपत्यका नगर विकास समितिले १३ वर्षअघि ताल विकासका लागि भन्दै नजिकका जग्गा रोक्का राख्ने निर्णय गरेको थियो । तर जग्गाधनीहरुले भने अन्याय भएकोले फुकुवाको माग गरेका थिए ।