पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २४, कैलाली | कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् । यही भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् ।

आरोपी चारमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए । काम छ भन्दै एकान्तमा बोलाई जबरजस्तीकरणी गरेको जाहेरीपत्रमा उल्लेख छ ।

ती किशोरी सुखड बजारको हेलीप्याडमा भइरहेको देउडा हेर्न गएको समयमा घटना भएको प्रहरीले बताएको छ । बलात्कृत किशोरीलाई भोलिपल्ट भदौ २२ गते बिहान असामान्य अवस्थामा बजारमा हिँडिरहेको प्रहरीले देखेपछि उपचारका लागि अस्पतालसम्म पुर्याएको प्रनाउ शाहीले बताए ।

“भदौ २२ गते बिहान प्रहरीले सुखड बजारमा ती किशोरीलाई असामान्य अवस्थामा फेला पार्यो, प्रहरीले नै उपचारका लागि स्थानीय अस्पतालमा लग्यो । त्यो समयमा ती किशोरी बोल्न सक्ने अवस्थामा थिइनन्”, प्रनाउ शाहीले भने, “केही समयको उपचारपछि उनको होस खुल्यो, उनलाई आफन्तको जिम्मा लगायौँ ।”

बलात्कृत किशोरीले आज बिहान इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि आरोपित चारमध्ये तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र पीडित बालिकाको उपचार भइरहेको उनले जानकारी दिए ।