
काठमाडौँ | सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गर्नेदेखि सरकारी तथा सार्वजनिक जग्गाको नापजाँच गर्नेसम्मका ७ वटा निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले आगामी मंसिर ६ र ७ गते हुने प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमण स्वीकृत गरिएको जानकारी दिए।
बैठकले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ। यसैगरी, नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय गरिएको छ।बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०), ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ समेत स्वीकृत गरेको छ।
१. २०८३ मंसिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
२. चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने ।
३. अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिट क्रिडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
४. नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने ।
५. राष्ट्रिय जैविक विविधता, रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने ।
६. ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने ।
७. राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने ।