
काठमाडौँ | नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पुनर्गठनको मुद्दा पार्टी जीवित हुँदासम्म निरन्तर हुने बताएका छन्। राष्ट्रिय भेलास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनर्गठनको मुद्दा छाड्नै मुद्दा नै नभएको बताए। उनले भने, ‘यो अहिले गर्ने अनि फेरि छोड्ने मुद्दा पनि होइन। हरेक क्षण पार्टी पुनर्गठित हुन्छ। स्वयं अध्यक्षको प्रतिवेदनको मूल कभरमा पनि पार्टी पुनर्निर्माण लेखेकै छ। पुनर्निर्माण भनेको पनि पुनर्गठन नै हो।’
पार्टी पुनर्गठनलाई विचार, सङ्गठन, व्यवहार, कार्यशैली, नेतृत्वसँग एउटा संयुक्त रूपमा त्यसको एउटा एकीकृत स्वरूपमा बुझ्नुपर्ने बताए। उनले थपे, ‘कुनै बेला नेतृत्व हस्तान्तरणको कुरा प्रधान हुन्छ, कुनै बेला सङ्गठन पुनर्निर्माणको कुरा प्रधान हुन्छ, कुनै बेला अब विचारको कुरा प्रधान हुन्छ। अब विचार, सङ्गठन, नेतृत्व सबै पुनर्गठित गर्दै नै एमाले अगाडि बढ्छ। गएको निर्वाचन त्योभन्दा अगाडिको परिस्थितिले पार्टीलाई यथास्थितिमै बस्ने छुट छैन।’
पार्टी यथास्थितिमा बसे फेरि पनि परिणाम राम्रो नआउने बताए। यथास्थितिभन्दा माथि उठेर पार्टीलाई बहुआयामिक पुनर्गठन र रूपान्तरणको प्रक्रिया सँगसँगै चुनावको तयारीमा पनि पार्टी अगाडि बढ्ने बताए।