काठमाडौँ | २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला सकिएको छ । बुधबार सुरु भएको भेलामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा बादल र विष्णुप्रसाद पौडेलले विभिन्न कार्यपत्र प्रस्तुत गर्नुका साथै प्रशिक्षण दिएका थिए ।
भेलाले आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर लाग्ने संकल्प गर्दै सरकारका स्वेच्छाचारी गतिविधिविरुद्ध आन्दोलनका लागि तयार रहने अठोट गरेको छ । करिब ३ हजार ४१४ प्रतिनिधि सहभागी भेलामा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक विषयमा २१ बुँदे संकल्प प्रस्ताव अनुमोदनका लागि प्रस्ताव गरेका थिए । प्रस्तावित संकल्प प्रस्ताव प्रचार विभागले एकीकृत गरिसकेर सार्वजनिक गर्ने तयारी गरेको छ । भेलाको समापन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकढिक्का भएर लाग्न निर्देशन दिएका छन् ।