
काठमाडौँ | पूर्वपश्चिम राजमार्गअन्तर्गत लमहीमा बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । बुटवलबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ ख ३१३० नम्बरको बस बिहीबार बिहान लमही नगरपालिका–९, शिवखोलानजिक अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनामा लुम्बिनी भ्रमण गरी कोहलपुर फर्किरहेका यात्रु घाइते भएका छन् ।
घटनापछि बस चालक कोहलपुर नगरपालिका–१४, हवल्दारपुर, बाँके निवासी २६ वर्षीय राजकुमार विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा चालक र सहचालकसहित ५३ जना सवार रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेज पठाइएको छ । घाइते हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–४ निवासी २० वर्षीया पूर्णिमा थापा, २२ वर्षीया अनिषा सुनार, बर्दियाको बाँसगढी नगरपालिका–३ निवासी १९ वर्षीय जीवन सुनार, ३० वर्षीय सन्दीप सुनार र १८ वर्षीया सन्ध्या सुनार छन् ।
यस्तै, बाँसगढीकै १८ वर्षीया निरुता सुनार, ११ वर्षीया प्रज्ञा सुनार, १६ वर्षीया आकृति सुनार, १९ वर्षीय हरिकृष्ण नेपाली र १८ वर्षीया मनिषा सुनार घाइते छन् । अन्य घाइतेहरूमा १५ वर्षीया पूजा सुनार र दीपक सुनार, १६ वर्षीया पुष्पा सुनार र २२ वर्षीय करण सुनार रहेको प्रहरीले जनाएको छ ।