२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

११ बैशाख २०८२, बिहीबार ११:३०

काठमाडौँ | महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी क्षेत्रमा खाना पकाउन ग्यास चुल्होको प्रयोग बढ्दै गए पनि ग्रामीण भेगमा अझै ‘गुइँठा’ कै भर पर्ने गृहिणी बर्खायामका लागि भन्दै यसको जोहो गर्न लागेका हुन् ।

बर्खाको समय सुरु हुन केही महिना बाँकी छ तर यहाँ भने अहिलेदेखि नै गुइँठाको व्यवस्थापन गर्ने गरिनछ । हिउँदभरि सडक किनार र चरन क्षेत्रका चउर चाहर्दै गोबर सङ्कलन गर्नु यहाँका ग्रामीण महिलाको नियमित तालिका नै हो । गाईवस्तु पाल्नेले आफ्नै गोठको र नपाल्नेले चरन क्षेत्रबाट बटुलेर ल्याएको गोबरबाट खाना पकाउने दाउरा प्रयोजनका लागि ‘गुइँठा’ बनाउँछन् । हिउँदमा बनाइएका ‘गुइँठा’ वेशाख लागेपछि बर्खाकालका लागि सुरक्षित साथ राख्ने यहाँको चलन हो । हाल यहाँ सो कार्य भइरहेको छ ।

हिउँदमा गोबर पथारेर विभिन्न आकारका ‘गुइँठा’ बनाइन्छन् । यसबाट ‘चिपरी’ र ‘गोरहा’ बनाइन्छन् । घरका भित्तामा पथारेर सुकाइएर बनाइएका गोबरलाई ‘चिपरी’ भनिन्छन् । यसैगरी, गोबर पथारेर त्यसभित्र ससाना भिक्रा वा पराल राखी डोल्याएर सुकाइने ‘गोरहा’ र यी दुवैलाई दुवैलाई ‘गुइँठा’ भनिन्छ ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् । नगर क्षेत्रका भित्री बस्ती पनि ‘गुइँठा’ को प्रयोग भइरहेकै छ । बर्खाकालमा खेतबारीका झिक्राझिक्री भिजेर नबल्ने हुँदा गृहिणी त्यस समयका लागि अहिलेदेखि नै ‘गुइँठा’ बनाएर राख्छन् । “खाना त पकाउनै पर्छ, बर्खामा दाउरा कहाँ खोज्नु ? त्यसैले अहिले नै यिनलाई जोगाएर राख्नु परेको हो”, भङ्गाहा नगरपालिका–४ रामनगरकी पानवती दनुवार भन्नुहुन्छ, “अहिले जोगाइएन भने झमझम पानी परेका बेला दुःख पाइन्छ ।”

‘गुइँठा’ बनाउन पैसा खर्च गर्नु नपर्ने र एकपटक सल्काएपछि आगो ननिभ्ने हुँदा खाना पकाउने प्रयोजनका लागि गृहिणीको रोजाइमा पर्ने गरेको छ । अझ गरिब बस्तीमा त ग्यासचुल्हा र काठका दाउराको जोहो गर्न नसक्ने हुँदा ‘गुइँठा’ अनिवार्यजस्तै छ । त्यसैले यी बस्तीका गृहिणी कात्तिकदेखि चैतसम्म गोबर सङ्कलन गरेर ‘चिपरी’ र ‘गोरहा’ पथार्ने र तिनलाई राम्ररी सुकाउने इन्तजाम गर्छन् । ‘चिपरी’ घरगोठका भित्ताभरि पथारिन्छन् । सुक्दै गएपछि एक ठाउँमा थुपारिन्छ । ‘गोरहा’ भने पथारेर घाम लाग्ने ठाउँमा चाङ लगाएर सुकाइन्छ । यसरी वैशाख लागेपछि सुकेका ‘चिपरी’ र ‘गोरहा’ गोठको एकछेउ वा सानो छाप्रो बनाएर थन्क्याइन्छ । असारदेखि असोजसम्म त्यसको प्रयोग हुन्छ ।

“खाने चामल, पीठो त बनिबुतोबाट पाइएला तर दाउराको धेरै समस्या पर्छ”, औरही नगरपालिका–७ भोइलटिम्कियाकी भुट्टी सदा मुसहर भन्नुहुन्छ, “त्यसैले अहिलेदेखि नै पराले झुप्रामै गुइँठा राख्नु परेको हो ।”

‘गुइँठा’ बर्सायाममा सहजताका लागि मात्रै होइन, यसमा पाकेका खानेकुरा स्वादिला हुने भएकाले पनि ग्रामीण बस्तीका साना किसान र कतिपय मध्यमवर्गीय परिवारको पनि रोजाइमा पर्ने गरेको छ । गौशाला–६ जमुनियाँकी रामपरी थारू इन्धनका लागि अन्य साधनको जोहो गर्न नसक्ने आर्थिक रूपमा विपन्नहरूका लागि गुइँठाले निकै राहत दिने गरेको बताउनुहुन्छ ।

बर्दिबास नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य निरीक्षक सुरेश पासवान ‘गुइँठा’ मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थ्यकर पनि हुने भएकाले यो धेरैको रोजाइमा पर्ने गरेको बताउनुहुन्छ । यद्यपि यसको धुवाँ खाना पकाउने गृहिणीको स्वास्थ्यमा अत्यन्त प्रतिकूल हुनेहुँदा विशेष सतर्कता भने आवश्यक रहेको उहाँको भनाइ छ । “खासगरी ग्रामीण महिलामा श्वासप्रश्वासको समस्या धेरैजसो भान्साघरको धुवाँबाटै हुने गरेको पाइन्छ । आर्थिक अवस्थाले वैकल्पिक इन्धनको जोहो गर्न नसक्नेहरूका लागि ‘गुइँठा’को प्रयोग अनिवार्य बाध्यता पनि हो । यसर्थ धेरै धुवाँ हुने गरी होइन, हावा ओहोरदोहोर हुने ठाउँमा खाना पकाउने र अन्य स्वास्थ्य सतर्कता अपनाउन जरूरी हुन्छ”, वरिष्ठ स्वास्थ्य निरीक्षक पासवानको सुझाव छ ।

महोत्तरीसहित मधेसका जिल्लामा धेरैजसो गोबर खाना पकाउने इन्धन प्रयोजनमा खपत हुने गरेको छ । यसले खेतीका लागि रासायनिक मलको निर्भरता बढाएको भङ्गाहा–४ रामनगरका ८० वर्षीय किसान दीपबहादुर फुयालको बुझाइ छ । “कम्पोष्ट मल बनाइने गोबर दाउरा बन्छ । कम्पोष्ट मल नभएपछि खेतबारी मलिलो हुन नसक्दा उत्पादन घट्दो छ । रासायनिक मलमा निर्भरता बढ्दो छ”, उहाँले भन्नुभयो ।

इन्धनमा गोबरको विकल्प खोज्नैपर्ने फुयालसहितका पाका किसानको मत छ । “कम्पोष्ट मलको अभावमा जग्गामा उत्पादन घट्दो छ । सरकारले किसानलाई ग्यास चुलो जडान गर्न उत्प्रेरित गर्न र गरिब जनतासम्म वनउपज (दाउरा) मा पहुँच दिन आवश्यक पर्छ”, फुयालकै छिमेकी ८५ वर्षीय छविलाल दाहालले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु