लक्ष्मण प्रसाद भण्डारी । सायद नेपाल नै यस्तो देश होला जांह खानै खाना का पर्व हरु छन् ।

'असार १५ दही-चिउरा खानू, साउनको १५ खीर

क्वाँटी पुर्नेमा क्वाँटी खानु, माघी म खानु तिल'

हामी नेपाली पर्वहरुका धनी चाडै-चाड भएको हाम्रो संस्कारमा असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामान बनाउने र साउन १५ मा तातो-तातो मसलेदार खीर खाएर शरीरलाई सन्तुलनमा राख्ने पुरानो चलनहरु छन् । आजका दिन खिर खानु भन्नुमा विशेष महत्व पनि छ । साउन १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व मानिन्छ । त्यसैले पनि होला हाम्रा पुर्खाले साउने सक्रान्ति देखि तिजको दर होस कि, श्राद्धको पिण्ड दिने होस् । दशैको कोजाग्रत पुर्णिमासम्म खिर खाने चलन राखेका रहेछन् ।

बर्षाको समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ । यस्ता रोगहरुको संक्रमणबाट बँच्न रोग प्रतिरोधात्मक क्षमताको आवस्यकता पर्दछ । साथै खिरमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकोले बर्षात महिनामा दूध तथा दूधबाट बनेका पाेषिला परिकारहरू, खासगरी खीर खाने चलन रहेको हुनुपर्दछ ।

तस्वीरमा: सेफ लक्ष्मण प्रसाद भण्डारी

दूधमा शीतलपना प्रदान गर्ने मधुर गुण हुन्छ भने मसाला (मरिच, सुकमेल जायफल )ले रुघा हटाउन मद्दत गर्दछ । गडी (नरिबल)मा शीतलता प्रदान गर्ने गुण हुन्छ । किसमिस अग्निबद्र्धक भएकाले यसले पित्त नास गर्ने क्षमता राख्छ । केसर( सेफरन)ले शक्ति प्रदान गर्छ । अनुहार चम्किलो बनाउदछ र पित्त नास गर्दछ ।

साउनमा हरियो-परियो घाँस धेरै पाइने हुनाले गाइ भैसीले दुध बढि दुध दिने हुँदा यो समयमा खिर खाने चलन गरिएको पनि हुन सक्दछ ।

हाम्रो समाजमा चलेको चलन चल्तीमा कुनै नयाँ कार्यको हरेक शुभ साइतमा खीरको महत्व हुन्छ । सनातन वैदिक सभ्यता अनुसार पितृ तर्पण होस् या पूजाआजा तथा शुभ कार्यमा खिरलाई प्रसादका रूपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खिरको पोषिलो परिकार बनाई खाने चलन अझै पनि छ ।

असार १५ मा दही चिउरा खाने, मंसिर १५ मा न्वागी खाने, माघमा खिँचडी खाने तथा पुस १५ मा घिउखट्टे खाने चलनमा बैज्ञानिक तथ्य लुकेको पाइन्छ ।

चमसुर मिसाएर पकाएको खिरले शरीर दुखेको दुखाईलाई निको पार्दछ र यसले नव विवाहित जोडीलाई अति फाइदा पुर्याउदछ । त्रेता युगमा दशरथका ३ महारानीले खीर खाएरै गर्भ धारण गरेका थिए र राम, भरत र लक्ष्मण जन्मेका थिए ।

सुकमेल छैन भने तुलसीको पात प्रयोग गर्न सक्नुहुन्छ । दूध थोरै छ र मीठो खिर खाने मन छ भने प्रयोग हुने चामलको १० भाग चामललाई मसिनो पिसेर मिसाउनु भयो भने गज्जब हुन्छ । घ्यूमा चामल भुटेर पकाउनु भयो भने झन गज्जब श्वाद जसलाई ढकनी पनि भनिन्छ ।

आजको दिन सबैको घरमा खिर पाकोस तर म भन्छु खिर होइन ढकनी पकाउनु पर्दछ । किनकि खिरको नेपाली मौलिक शब्द हो ढकनी ।

रैथाने खानाको पहिचान तपाइको मौलिक शब्दबाट नै हुन्छ । जबसम्म तपाई आफ्नो शब्दलाई पछ्याउनु हुन्न तबसम्म तपाईको पहिचान हुँदैन । जबसम्म समोसा पनि नेपाली खानामा पर्छ तर त्यसको स्वरुप सिङ्गडा हो । जो सुद्द बेसार नुन र खुर्सानीको मिश्रणबाट बन्दछ । संसारको जुनसुकै खानालाई त्यहाँ को रैथाने शब्दले चिनारी दिएको हुन्छ ।

असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाए जसरी साउन १५ मा तात्तातो मसलेदार ढकनी (खीर) भोजन गरेर शरीरलाई सन्तुलनमा राख्ने यो पुरानो चलन र नेपाली संस्कार हो । पूजाआजा, अर्चना, श्राद्ध, विहे, वर्तबन्ध अनि कुनैपनि हिन्दू रीतितिथी मिल्दो संस्कार सम्पन्न गर्दा ढकनी (खिर )एउटा अपरिहार्य परिकारको रूपमा नेपालीहरू बिच लोकप्रिय छ ।

जसलाई २-३ दिन सम्म बिना फ्रीज २०-२२ डिग्री सम्म प्रिजर्ब गर्न सक्नुहुन्छ । बटुवा भई घुम्न जाँदा पनि खाजाको रुपमा खिरलाई झोलामा कोच्न सक्नुहुन्छ ।

कसरी तयार पार्ने 'ढकनी' यानेकि (खिर ) ?

४ देखि ५ जनालाई पुग्ने खिरको परिकार बनाउन करिव १ घण्टाको समय लाग्छ ।

आवश्यक पर्ने सामग्रीहरु:

दूध: ४ लिटर

शुद्ध घिउ: २०० ग्राम

अनदी या टैचनको चामल: ५०० ग्राम

चिनी या मिश्री: ३०० ग्राम

मरिच खस्रो पिसेको: १ सानो चम्चा

जाईफल: १ सानो दाना मसिनो गरि पिस्ने

काजु किसमिस बदम नरिवल: १०० ग्राम ( नभए पनि हुने )

बनाउने बिधि:

१. कसौडिमा घिउ राखी चामल हल्का खैरो हुने गरि भुट्ने

२. दुध राखी हल्का आँचमा ४५ मिनेट जति पकाउने !

३. पाकी सकेपछि बाँकि सामान राखी चलाउने र केहि समय छोपी राख्ने (सालको पात या चिउरी को पात को टपरी ले १५-२० मिनट छोपी राख्ने हो भने स्वादमा फरक पर्दछ ।)

अब ढकनी तयार भयो !

अब खिरसंग आलू, तामा या निउरोको अचारसंग मज्जा लिनुहोस् ।

आउनुहोस हजुरले पकाएको खिरमा अझै केही ट्विष्ट गरौ ।

खिर सेलाई सकेपछि फलफुलको सिजन मा फलफुलको पल्प बनाइ मिक्स गर्न सक्नुहुन्छ । आँप, स्ट्रवरी अतिनै उत्तम हुन्छ भने बाक्लो या साह्रो चिसो खिरमा कुनै पनि जुस मिसाएर बेग्लै स्वादको मजा लिन सक्नुहुन्छ ।

अझ हजुरहरुले चामलको सट्टा मकैको च्याँख्ला, कागुनो, हरियो मुंग दाल पनि प्रयोग गर्न सक्नुहुन्छ ।

लेखक ग्लोबल नेप्लिज सेफ फेडेरेसन का अध्यक्ष 'आली देखि थालीसम्मका अभियन्ता तथा होटल रायनका पाककला निर्देशक तथा टिभी रियालिटी शो 'सेफ नेपाल' का जज समेत हुनुहुन्छ ।

आज खिर खाने दिन: खिर एक, स्वाद र फाइदा अनेक, यसरी बनाउनुस्
Leave a Comment