2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

रत्नेचौरका तोरीबारीमा टिकटक बनाउनेको भीड

माघ २, गलेश्वर |  उत्तरतिर लस्करै चाँदी झैँ सेता देखिने हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेंलै भएर फुलिरहेको तोरी ।  बेनी नगरपालिका–१, रत्नेचौर फाँट,  बीचमा चिटिक्कै परेको कालोपत्र सडकमा युवायुवतीको भीड । 

बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिखेर तोरीको फूल फुलेर सिङ्गो गाउँ नै पहेँलपुर भएको छ । तोरी फुलेको खेतको फाँटमा कालोपत्र गरिएको चिल्लो सडक मानिसहरुको भीडभाडले भाइरल बनेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण भुलिरहेका छन् । 

स्थानीयवासी सुनिता बोगटीले आफ्नो घरअगाडिको सडकमा दिनहुँ भीडभाड होला भनेर कहिल्यै सोचेकी  थिएन । घरअगाडि कालोपत्र सडक आसपासमा पहेँलपुर फुलेको तोरीबारीमा भीडभाड हुन थालेपछि उहाँ दङ्ग हुनुहुन्छ । 

केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्र भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन् । शुक्रबार, शनिबार र सार्वजनिक बिदा भएमा अन्य दिनमा बढी भीड लाग्ने गरेको छ । म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट एकैपटक घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्ने गरेको छ ।

कोरोना सङ्क्रमणको रोकथामका लागि स्थानीय प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाउने, भीडभाड गर्न नपाइने सूचना जारी गरेको छ । तर शनिबार माघेसङ्क्रान्तिको दिनमा करिब साढे दुई सयभन्दा बढी तोरीबारीमा तस्बिर लिन आएपछि प्रहरीको टोलीले भीड नगर्न आग्रह समेत गरेको थियो ।

बेनी–बागलुङ सडकखण्डको प्रयोग गरी तोरीबारीमा पुग्नेहरूको सङ्ख्या अत्यधिक भएपछि प्रहरीले शनिबार प्रवेशमा समेत कडाइ मात्रै गरेर रत्नेचौर प्रहरी चौकीबाट टोली नै परिचालन गर्नुपर्ने बाध्यता बन्यो । “तोरीबारीमा टिकटक बनाउनेहरू धेरै भेटिन्छन्, आन्तरिक पर्यटकका कारण रत्नेचौर भाइरल भएको छ,” स्थानीयवासी भानु माविका प्रधानाध्यापक भरत खत्रीले भन्नुभयो । उहाँका अनुसार, तोरी उत्पादन हुने सिजनबाहेक पनि कालोपत्र सडकमा तस्बिर, भिडियो खिचेर सामाजिक सञ्जाल तथा टिकटकमा राख्ने मानिसहरू मोटरसाइकल र गाडी चढेरै आउने गरेका छन् । चारैतिर हरियाली पहाड, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको संसारकै सातौँ अग्लो धौलागिरि हिमालको दृश्यसँगै समथर फाँटको पहेँलपुर तोरीले स्थानीयवासीको व्यापारमा समेत सघाएको छ । 

तोरीमा रमाउनै आसपासका क्षेत्रमा वनभोजसहित हालै खुलेका होटेलको कारोबारसमेत बढेको स्थानीय युवा सन्तोष महतको भनाइ छ । “तोरीबारी र कालोपत्र सडकले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ, घुम्न आउनेहरूको चहलपहललाई स्थानीयले राम्रो मानेका छन्,” महतले भन्नुभयो ।

तोरीबारीमा गएर फोटो र भिडियो खिच्दा क्षति हुने भएकाले धेरैले सडक आसपासबाटै खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । उता बेनी–४, सिङ्गा तातोपानीबाट घुम्न गएकी मोनिका शेरचनले टिकटकलगायत सामाजिक सञ्जालमा दैनिकजसो तोरीबारीको भिडियो र तस्बिर देखेपछि घुम्न आएको बताउनुभयो । “टिकटकमा देखेको भन्दा राम्रो लाग्यो, एकैपटक भीडभाड हुँदा मेला आएजस्तै भएको थियो,” उहाँले भन्नुभयो । कालोपत्र सडकबाटै तस्बिर लिँदासमेत प्रहरीले अनावश्यक दुःख दिएको भन्दै घुम्न गएकाहरूले आक्रोश पोखेका थिए ।

पूर्वसूचना विना प्रहरीले दुःख दिएको घुम्न गएकाहरूको गुनासो थियो । स्थानीयवासीले समेत तोरीलाई क्षति नहुने गरी तस्बिर र भिडियो लिन दिनुपर्ने भन्दै घुम्न गएकाहरुको पक्षमा बोलेपछि सबै उत्साहित भएका थिए । यता बढ्दो भीडभाडका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेको भन्दै हटाएको प्रहरीले जनाएको छ । रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्डअन्तर्गत ९०० मिटरको कालोपत्र सडकमा रत्नेचौर  र उपल्लाचौरका करिब पाँच घरधुरीले तोरी खेती गरेका छन् । घरआँगन, खेतबारीमा लगाएको तोरीको तेल खोज्दै गाउँमा आउने ग्राहकलाई समेत बिक्री गर्न नसकिएको कृषकको भनाइ छ । 

नेपालमा पाइने दुई रङको तोरीमध्ये म्याग्दीका पहेँलो तोरी खेती हुन्छ । पहेँलो तोरीमा २५ देखि ३० प्रतिशतसम्म तेलको मात्र हुन्छ । साढे दुई दशक अगाडिसम्म गाउँमा रहेको तोरी मिलमा जिल्लाका अन्य स्थानबाट समेत पैदल हिँडेर आउने गरेका थिए । तोरीमा रासायनिक मल, विषादीको प्रयोग न्यूनीकरण गर्न पहल गरिएको छ  । तेलहन बालीमा पर्ने तोरी ७० देखि ९० दिनमा पाक्छ । समथर भूभाग रहेको रत्नेचौरमा अहिलको तुलनामा दोब्बर तेरी उत्पादन गर्न सकिने कृषिका प्राविधिकहरुको भनाइ छ । तोरीबारीले रत्नेचौर कृषि पर्यटनको गन्तव्य बनेकाले स्थानीय तहबाट समेत तोरीको पकेट क्षेत्र बनाउन मागसमेत गरेका छन् ।

छिमेकी जिल्ला बागलुङको  कुडुले फेदीमा समेत प्रशस्तै तोरी हुन्छ । तोरीको बोटलाई सागका रुपमा तरकारीसमेत बनाउने गरिन्छ । गाउँबस्तीमा फुलेको तोरीले ग्रामीण सुन्दरतालाई समेत निखार ल्याउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक