Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बागलुङको पर्यटन क्षेत्रमा पलाएको आस !

By साझासवाल

चैत ६, काठमाडौँ । नेपाल भ्रमण वर्ष सन् २०२० घोषणा हुँदा बागलुङका पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार भयो । जिल्लामा नेपाल भ्रमण वर्षमा हजारौँ पर्यटक भित्र्याउने लक्ष्य थियो तर कोरोना महामारीका कारण देश प्रभावित हुँदा बागलुङ पनि स्वाभाविक हिसाबले प्रभावित भयो ।

राज्यको पुनःसंरचनापछि पहिलोपटक स्थानीय तहमा आएका जनप्रतिनिधि अधिकांशको मुख्य ‘एजेण्डा’ बनेको पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै गरेको नेपाल भ्रमण वर्षमा कोरोना महामारी बाधक बन्यो । दुई वर्षको अन्तरमा कोरोनाका विभिन्न भेरियन्टले असर परेको जिल्लाको पर्यटन क्षेत्र पुनः जुर्मुराउन थालेको छ ।

बागलुङ कालिका, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, गलकोटस्थित मूर्तिकला कार्यशाला, ढोरपाटन शिकार आरक्ष, गाँजाको दह र हाँडीकोटको टापुमा भरिभराउ पर्यटक देखिन थालेका छन् । “आन्तरिक पर्यटनका लागि गाँजाको दहमा यस वर्ष गुराँस महोत्सव नै भयो”, जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले भन्नुभयोे, “कोरोना मत्थर भएपछि पर्यटन प्रवद्र्धनको सुरुआत भएको छ ।”

जैमिनीकै हाँडीकोट टापुमा यस वर्षको फागु पूर्णिमा मनाउन सयौँ युवा पुगे । गुराँस फुलेर सिङ्गारिएको हाँडीकोटले लामो समयपछि आन्तरिक पर्यटक पायो । “साथीसँग मिलेर होली खेल्न हाम्रो रोजाइ बन्यो हाँडीकोट”, जैमिनी नगरपालिकाका लक्ष्मण पौडेलले भन्नुभयो, “सहरका पार्टी प्यालेसमा पुगेर गर्ने खर्च बच्यो, आफ्नै ठाउँमा गुराँससँग होली खेलियो ।”

बागलुङ नगरपालिकाले आयोजना गरेको बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्न हालै बागलुङ आउनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पञ्चकोट, शालग्राम सङ्ग्रहालय र बागलुङ कालिका भगवती घुमेर फर्किनुभयो । लुम्बिनी गार्डेन फाउण्डेशनको सहयोगमा भएको शिविरमा आएका स्पेनका नौ चिकित्सकलाई पनि यहाँका पर्यटकीय क्षेत्र घुम्न यसपटक कोरोनाले छेकेन । संसारकै लामो दाबी गरिएको बाङ्गेचौर–अदुवारी झोलुङ्गेपुल पुगेका स्पेनी नागरिक त लामो पुल देखेर दङ्ग परे । पुलमा बिदाको दिन सयौँ र अरु दिनमा पनि धेरै पर्यटक पुग्ने गरेका छन् ।

जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन यहाँ आउनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार ढोरपाटन शिकार आरक्ष घुम्नुभयो । बागलुङ बजारबाट ढोरपाटनसम्म पुगेका पोखरेलले गलकोट, बडिगाड, काठेखोला र बागलुङ नगरभित्रका अधिकांश पर्यटकीय क्षेत्र घुम्न भ्याउनुभयो । उहाँले प्रदेशको समृद्धिसँग ढोरपाटन शिकार आरक्षलाई जोड्नुपर्ने बताउनुभयो ।

शुक्रबार जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुँदै उहाँले नेपालको एकमात्र शिकार आरक्षका रूपमा रहेको ढोरपाटन स्वदेशमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो । तर कुन कार्यक्रमले समृद्धि आउने भन्ने खुलाउनुभएन । सङ्घीय सरकारको स्वामित्वको ढोरपाटनमा समृद्धिको योजना ल्याउने अधिकार पनि सङ्घमै छ ।

फागुनको दोस्रो सातायता बागलुङका विभिन्न पर्यटकीयस्थल र घरबासमा देखिएका पर्यटकले फेरि पर्यटन क्षेत्र जुर्मुराइरहेको सङ्केत गरेका छन् । “लामो समय हामीले हात बाँधेर बस्यौँ, अब त्यो दिन नआओस्”, अतिथि सत्कार सामुदायिक घरबासका सञ्चालक यामबहादुर थापाले भन्नुभयो, “कोरोनाले थला परेको व्यवसाय अब फेरि उठ्ने तयारीमा छ ।” यहाँका सबै स्थानीय तहले पर्यटकीय क्षेत्रको पुनःउत्थानका लागि लगानी र वातावरण तयार गर्नुपर्ने सर्वसाधारणको माग छ ।