पढ्न करिब 2 मिनेट लाग्छ

साउन २०, डडेल्धुरा । प्रदेश नम्बर सातको पहाडी जिल्ला डडेल्धुरामा सत प्रतिशत रोपाइँ सकिएको छ ।

विशेष गरेर साउन महिना अन्तिम सम्म डडेल्धुरामा रोपाई सकिने समय भएपनि यो वर्ष भने साउन दोस्रो साता भित्रै सम्पुर्ण रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ ।

कृषकहरु वर्षातको सुरुवातसंगै रोपाइँमा लागेकाले यो वर्ष आगाडी नै रोपाइँ सकिएको कृषकहरुको भनाई रहेको छ । साउन १५ देखि २० सम्म पनि रोपाइँ हुने गर्दथ्यो तर यो वर्ष समयमा नै मनसुन सुरुभएकाले चाडै नै रोपाइँ सकिएको नवदुर्गाका किसान तारा विकले बताउनु भयो ।

किसानहरु रोपाइँको काम सकेर अहिले आफ्नौ दैनिकी काममा व्यस्त छन् । जिल्लाको पाखो जग्गा तथा रोपाइँका लागि उपयुक्त खेती जग्गा गरि धान लगाउने कुल ६ हजार २ सय ३६ हेक्टर क्षेत्रफल मध्ये असार मसान्त सम्ममा ६ हजार ४९ हेक्टर क्षेत्रफल जग्गामा रोपाइँ भईसकेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो ।

स्थानीय तहको चुनाव आगाडी नै आधा भन्दा बढि रोपाइँ चुनावका लागि भनेर कृषकहरुले सिद्धयाएका थिए । यो वर्ष जेठ देखि नै सक्रिय भएको मनसुनका कारण समयमै वर्षा भएपछि किसानहरुले पनि समयमै रोपाई गर्न शुरु गर्दा समयमै सम्पन्न भईसकेको जनाईएको छ ।

डडेल्धुरा जिल्लाको नवदुर्गा, सकायल, अशिग्राम, सदरमुकामको घटाल डोटी क्षेत्र, बगरकोट क्षेत्र, असिग्राम रुवाखोला, रुपाल, अजयमेरुको समैजी, भद्रपुर, देवलको खाल, शिर्ष र आलिताल क्षेत्र धान उत्पादनका लागि प्रसिद्ध मानिन्छन् । -बिरेन्द्र जैरुको सहयोगमा