३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती

१० जेष्ठ २०८२, शुक्रबार ११:४३

काठमाडौँ | कुनै पनि राजनीतिक पदमा निर्वाचित भएपछि वा नियुक्त भएपछि कृषि पेसालाई चटक्कै छाडेका उदाहरण थुप्रै भेट्न सकिन्छ । तर पर्वतको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले राजनीति र जनप्रतिनिधिसँगै आफ्नो कृषि पेसालाई समेत निरन्तरता दिनुभएको छ । फलेवास नगरपालिका–१० कुर्घाकी क्षेत्रीले व्यावसायिक काँक्राखेती गर्दै आउनुभएको छ । उहाँको काँक्राखेती हरियो काँक्रा उपभोग गर्नका लागि नभई भक्तपुरे लोकल जातको काँक्राको मूल बीउ उत्पादनका लागि हो ।

विगत दुई दशकदेखि व्यावसायिक कृषिमा होमिनुभएकी क्षेत्रीले तीन वर्षअघिसम्म व्यावसायिक गाईपालन गर्नुहुन्थ्यो । उहाँले १५ वटासम्म गाई पालेर दैनिक झण्डै एक सय लिटर दूध बिक्री गर्नुहुन्थ्यो । जब २०७९ सालको निर्वाचनमा फलेवास नगरपालिकाको उपप्रमुखमा विजयी हुनुभयो त्यसपछि व्यस्तताका कारण व्यावसायिक गाईपालन छाडेर व्यावसायिक काँक्राखेतीमा लाग्नुभएको हो ।

क्षेत्रीले २०५६ सालदेखि व्यावसायिक गाईपालन र तरकारीखेती गर्दै आउनुभएको हो । अहिले उहाँले सात रोपनी क्षेत्रफलमा व्यावसायिक काँक्राखेती गर्नुभएको छ । उहाँले हरेक वर्ष रू पाँचदेखि सात लाखसम्म काँक्राको बीउ बिक्री गरेर आम्दानी गर्दै आउनुभएको छ ।

उपप्रमुख क्षेत्रीले नै काँक्राखेतीलाई निरन्तरता दिएपछि गाउँलेसमेत काँक्राको व्यावसायिक उत्पादनमा सक्रिय भएर लागेका छन् । उहाँको पेसामा श्रीमान् सोमबहादुरले साथ दिनुभएको छ । गत वर्ष केही कम आम्दानी भएकामा यस वर्ष अनुकूल हावापानी र मौसमले उत्पादन पनि बढेकाले काँक्राको आम्दानी पनि बढ्ने अनुमान सोमबहादुरले गर्नुभएको छ । “हाम्रो परिवारले मात्र रू सात लाखसम्मको बीउ, बिक्री गर्छौँ, अरू व्यक्ति र समूहको गर्दा करोडौँको बीउ निर्यात गर्ने गरेका छौँ”, उपप्रमुख क्षेत्रीले भन्नुभयो, “जनताको सेवा गरेर बचेको समय कृषिकर्ममा लगाउने गरेकी छु” जनप्रतिनिधिको कर्मचारीजस्तो बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्मको कार्यसमय हुँदैन, साँझबिहान जतिबेला पनि जनताको सेवामा जानुपर्छ, कहिलेकाहीँ खाली रहेको समय तरकारी र गोठमा पालेका वस्तुभाउको स्याहारसुसारमा पनि लाग्ने गरेकी छु ।”

कृषिकर्म गरेर कोही पनि सानो नभइने बताउँदै उपप्रमुख क्षेत्री जुन ठाउँमा जे उत्पादन हुन्छ त्यही पेसालाई व्यावसायिक रूपमा अँगाल्न आफूले सुझाव दिने गरेको बताउनुहुन्छ । उहाँले आफू उपप्रमुख भएपछि धेरैजसो कृषकमुखी कार्यक्रम नगरबाट ल्याउन सफल भएको दाबी गर्नुभयो । उहाँ तत्कालीन सत्ता गठबन्धन माओवादी केन्द्रबाट विजयी हुनुभएको हो ।

उहाँसँग कृषिको करिब दुई दशक लामो साइनो र सङ्घर्ष रहेको छ । क्षेत्रीले भन्नुभयो, “म दिउँसो नगरमा भए पनि साँझबिहान गाईगोठ र खेतबारीमै हुन्छु । मैले भोग्ने दैनिक समस्या नगरवासीका साझा हुन् । त्यसैले नगरमा धेरैजसो किसानकै मुद्दा र आवाज उठाउने गरेकी छु ।”

क्षेत्रीको व्यावसायिक यात्रा २०६४ सालदेखि सुरू भएको थियो । सुरूमा होटल व्यवसाय गर्नुभएकी क्षेत्रीले किराना पसलसँगै सुरू गरेको होटलमा दूधको माग बढेपछि गाई पाल्न थाल्नुभएको हो । विसं २०७० मा चिर्दीमा चिसापानी दुग्ध सहकारी दर्ता गरेपछि उहाँ त्यसको संस्थापक सचिवसमेत बन्नुभएको थियो । बीस जना सेयर सदस्यबाट रु पाँच हजारका दरले लगानी गरेर दूधलाई व्यावसायिक रूपमा बजार पठाउन सहकारीमा आबद्ध गर्नुभएकी क्षेत्रीको पहलमा अहिले उक्त गाउँका झण्डै सात सय किसानले व्यावसायिक पशुपालन गरेर दूध बिक्री गर्दै आएका छन् ।

काँक्रासँगै क्षेत्रीले टनेलभित्र टमाटर र मौसमअनुसारका तरकारी उत्पादन गर्दै आउनुभएको छ । गाउँ छोडेकाको खेत भाडामा लिएर जेठो बूढो धानको बीउ उत्पादन गरेर बिक्री गर्नुहुन्छ । कुनै समय दूध, तरकारीलगायत कृषि उपजको बिक्रीबाट मासिक रु दुई लाखभन्दा बढीको आम्दानी गर्नुभएकी उहाँले उपप्रमुख भएपछि जनताको सेवामा बढी खटिनुपर्दा आम्दानी घट्दै गएको बताउनुभयो । तर पनि राजनीति र कृषिलाई सँगसँगै अघि बढाउने आफ्नो प्रयासमा कमी नआएको उहाँको भनाइ छ । आफूले कृषि र यस पेसाबाट पाएको सफलताबाट अरू किसानलाई पनि सफलताकै बाटोमा डोहोर्याउने उहाँको इच्छाले समेत सार्थकता पाउँदै गएको उहाँको भनाइ छ । “सबैलाई व्यावसायिक बनाउने हो, त्यसका लागि नगरपालिकामा हामी सबै हातेमालो गर्न आएका हौँ । जनप्रतिनिधि शासक नभएर सेवक हौँ भन्ने भावना भए सफल भइन्छ भन्ने लागेको छ”, उहाँले भन्नुभयो ।

फलेवास नगरपालिकाका कुर्घा, देवीस्थान, पाङ्गराङ्ग र विहादी गाउँपालिकाको बाँच्छाका किसानले व्यवासायिक रूपमा भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन् । यहाँ काँक्राको बीउ बिक्री गरेर वार्षिक रू छ करोड भित्रिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली