Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गर्मी भएको भन्दै रक्सि/मदिरा सेवन गर्दा झापामा दुई जनाको मृत्यु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | अत्यधिक मदिरा सेवन गर्दा झापामा दुई जनाको मृत्यु भएको छ। एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान कनकाई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका हुन्।

शिवसताक्षी नगरपालिका–११ घर भई हाल कनकाई–४ मा बस्दै आएका शिवाकोटीले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयबाट जानकारी पाएको उनले बताए। निजले कनकाईमा बसेर ज्यालादारीमा घर रङरोगनको काम गर्दै आएका थिए।

यसैगरी, विर्तामोड नगरपालिका–६ शुभबिहानी टोलस्थित सुङ्गुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर मृत भेटिएका छन्।

मगरको घर भारतको सिक्किम रहेको प्रहरीले जनाएको छ। स्थानीय सरोज लावतीले सञ्चालन गर्दै आएको फार्ममा मगरले सुङ्गुरलाई चारो खुवाउने र खोरको रेखदेख गर्दै आएका थिए।

उनको सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ। “मृत भेटिनुभएका दुवै जना अत्यधिक मदिरा सेवन गर्दै आउनुभएको अनुसन्धानका क्रममा खुलेको छ”, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले भने, “घटनाको थप अनुसन्धान भइरहेको छ।”

केहीदिन यता झापामा तापक्रम बढेर उच्च गर्मी भएका भन्दै बेलुका अत्यधिक मदिरा सेवन गरी सुतेका बेला दुवैको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको उनले बताए।

शिवाकोटीको शव सडकको किनारमा खाली खुट्टा भुइँमा पल्टिएको अवस्थामा र मगरको शव खोरको भुइँमा घोप्टो परेको अवस्थामा फेला पारेको थियो।