2026-08-16 08:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

एनआरएन

श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह

साउन ३१, चीन । नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको उद्धार तथा तत्काल बसोबासका लागि सेल्टर हाउस स्थापना गर्न एनआरएनएले नेपाल सरकारसँग आग्रह गरेको छ। चीनको गोन्जाउमा शनिबारदेखि जारी एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनअन्तर्गत ‘सुरक्षित वैदेशिक रोजगार र पुनःएकीकरण’ विषयक सत्रमा सहभागीहरूले श्रमिक समस्यामा पर्दा सुरक्षित रूपमा राख्ने व्यवस्था नहुँदा एनआरएनए प्रतिनिधिहरूले समेत समस्या भोग्नुपरेको भन्दै सरकारले सम्बन्धित मुलुकमा सेल्टर हाउस स्थापना गर्नुपर्ने माग गरेका हुन्।

सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रमा सुरक्षित वैदेशिक रोजगार, सीपयुक्त जनशक्ति, विभिन्न देशमा रहेका नेपाली श्रमिकका समस्या, समाधानका उपाय तथा स्वदेश फर्किएपछि पुनःएकीकरणका विषयमा छलफल भएको थियो।

एनआरएनए उपाध्यक्ष तथा कार्यक्रमका सभापति खगेन्द्र न्यौपानेले धेरै नेपाली श्रमिक रहेका मुलुकमा सरकारले नै सेल्टर हाउस स्थापना गर्नुपर्ने बताए। श्रमिक समस्यामा पर्दा तत्काल सुरक्षित स्थानमा राख्ने व्यवस्था नहुँदा एनआरएनए प्रतिनिधिहरूले आफ्नै पहलमा व्यवस्थापन गर्नुपर्ने र कतिपय अवस्थामा त्यसकै कारण जेल जानुपर्ने अवस्थासमेत आउने गरेको उनले बताए । उनले आफुहरुले बर्शौदेखि यो माग गरेको भएपनी सरकारले सुनुवाइ नगरेकोमा सरकारको ध्यानाकर्षण गराए ।

न्यौपानेले वैदेशिक रोजगारीमा जाने नेपालीलाई सीप सिकाएर मात्र पठाउने व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए। त्यसका लागि सरकार र एनआरएनएको सहकार्यमा स्किल एकेडेमी तथा सीप परीक्षण केन्द्र स्थापना गर्नुपर्ने उनको भनाइ थियो।

उनले विदेशमा नेपालीलाई समस्या पर्दा एनआरएनए प्रतिनिधिले तत्काल सहयोग गर्दै आए पनि कानुनी मान्यता नहुँदा समस्या हुने गरेको भन्दै एनआरएनए प्रतिनिधिलाई अनररी अर्थात् अवैतानिक श्रमिक दूतका रूपमा मान्यता दिन पनि सरकारसँग आग्रह गरे।

प्रतिनिधि सभाका सांसद तथा पूर्वसञ्चारमन्त्री जगदीश खरेलले विदेशमा रहेका एनआरएनहरूले राजदूतसरह नेपालीको समस्या समाधानका लागि काम गरिरहेको भन्दै प्रशंसा गरे। अवैतानिक दूतको पद सानो देखिए पनि नेपाली श्रमिकका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भन्दै उनले आवश्यक विषयमा सरकारसमक्ष पहल गर्ने प्रतिबद्धता जनाए।

जगदीश खरेल, प्रतिनिधि सभा सदस्य तथा पूर्वसञ्चारमन्त्री: “विदेशमा रहेका एनआरएनहरूले राजदूतसरह काम गरिरहनुभएको छ। अवैतानिक दूत भन्ने पद सानो देखिए पनि यसको भूमिका महत्वपूर्ण हुन्छ। आवश्यक विषयमा सरकारसमक्ष पहल गर्न म प्रतिबद्ध छु।”

खरेलले प्रवासमा रहेका नेपालीका समस्या सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले नजिकबाट बुझेको उल्लेख गर्दै समाधानका लागि काम गर्ने बताए। उनले वैदेशिक रोजगारीमा जाने श्रमिकको सीप विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको पनि बताए।

प्रतिनिधि सभाका सांसद ऐन महरले वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनुपर्ने बताए। नेपाललाई अदक्ष कामदार पठाउने देशका रूपमा मात्र चिनिने अवस्थाको अन्त्य गर्न सीप विकासमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

ऐन महर, प्रतिनिधि सभा सदस्य: “वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउनुपर्छ। सीप विकासमा काम गर्नुपर्छ। नेपाल अदक्ष कामदार पठाउने देशका रूपमा मात्र चिनिने अवस्थाबाट अब माथि उठ्नुपर्छ।”

परराष्ट्र मन्त्रालयको डायस्पोरा समन्वय महाशाखाका उपप्रमुख कृशु क्षेत्रीले विदेशमा नेपाली दूतावास तथा नियोगपछि नेपालीले एनआरएनएलाई नै सम्झने गरेको बताए। सरकारले औपचारिक रूपमा मान्यता नदिए पनि एनआरएनहरूले व्यवहारमा श्रमिक दूतकै रूपमा काम गरिरहेको भन्दै उनले एनआरएनएको भूमिकाको प्रशंसा गरे।

कृशु क्षेत्री, उपप्रमुख, डायस्पोरा समन्वय महाशाखा: “विदेशमा नेपाली दूतावास तथा नियोगपछि नेपालीले एनआरएनएलाई नै सम्झन्छन्। सरकारले औपचारिक मान्यता नदिए पनि एनआरएनहरूले श्रमिक दूतका रूपमा काम गरिरहनुभएको छ। यो भूमिका प्रशंसनीय छ।”

एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले वैदेशिक रोजगारीको क्षेत्रमा अझ धेरै काम गर्नुपर्ने भएकाले बृहत् छलफल आवश्यक रहेको बताए। उनले केही महिनाभित्रै नेपालमा वैदेशिक रोजगारसम्बन्धी छुट्टै बृहत् सम्मेलन आयोजना गर्ने जानकारी दिए।

डा. हेमराज शर्मा, अध्यक्ष, एनआरएनए: “वैदेशिक रोजगारको क्षेत्रमा अझ धेरै काम गर्नुपर्ने छ। यस विषयमा बृहत् छलफल आवश्यक भएकाले केही महिनाभित्रै नेपालमा छुट्टै सम्मेलन आयोजना गर्छौँ। एनआरएनएले यस क्षेत्रमा धेरै काम गरिरहेको छ र आगामी दिनमा थप कार्यक्रम पनि सञ्चालन गर्नेछ।”

एनआरएनए उपाध्यक्ष जुनु गुरुङले वैदेशिक रोजगारीमा रहेका नेपालीको मानसिक स्वास्थ्यका विषयमा भइरहेको काम तथा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमबारे जानकारी दिइन्। वैदेशिक रोजगारीका क्रममा देखिने मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान र समाधानका लागि थप कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो।

सम्मेलनले वैदेशिक रोजगारीमा अदक्ष कामदार मात्र नभई दक्ष जनशक्ति पठाउन सीप सिकाउने तालिम केन्द्र तथा सीप परीक्षण केन्द्र स्थापना गर्न पनि सरकारसँग आग्रह गरेको छ। सीपयुक्त जनशक्ति उत्पादन र विदेश पठाउने व्यवस्था गर्न सरकार, निजी क्षेत्र तथा एनआरएनएबीच सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

त्यस्तै, विभिन्न देशमा रहेका एनआरएन प्रतिनिधिले त्यहाँ समस्यामा परेका नेपालीलाई तत्काल उद्धार, कानुनी तथा अन्य सहयोग गर्दै आए पनि औपचारिक कानुनी अधिकार नहुँदा समस्या हुने गरेको बताएका थिए। एनआरएनएले यसअघि नै नेपाल सरकारलाई एनआरएनए प्रतिनिधिलाई अवैतानिक श्रमिक दूतका रूपमा मान्यता दिन ध्यानाकर्षण गराए पनि कार्यान्वयन नभएकाले सम्मेलनमा पुनः माग उठाइएको हो।

कार्यक्रममा विभिन्न मुलुकमा रहेका नेपाली श्रमिकको अवस्था, समस्या तथा समाधानका उपायबारे विषयगत प्रस्तुति गरिएको थियो।

दीपक पुनले दक्षिण कोरिया, एकनाथ खतिवडाले लाओस, खगराज गौतमले जापान, तिलोचन गौतमले मलेसिया, युवराज न्यौपानेले मकाउ लगायतका देशमा रहेका नेपाली श्रमिकको अवस्थाबारे जानकारी प्रस्तुत गरेका थिए। पत्रकार अनिल अधिकारीले पनि सम्बन्धित विषयमा प्रस्तुति दिँदै श्रमिकका समस्या र समाधानका उपायबारे प्रकाश पारे।

एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले संस्थाले वैदेशिक रोजगार तथा श्रमिकका क्षेत्रमा गरिरहेका कामबारे जानकारी गराएका थिए। कार्यक्रमको मोडरेशन यज्ञराज सुवेदीले गरेका थिए भने पत्रकार उद्धव भट्टराईले किनोट टिपोट गरेका थिए।

एनआरएनएले नेपालमा केही समयपछि वैदेशिक रोजगारसम्बन्धी छुट्टै बृहत् सम्मेलन आयोजना गरी सुरक्षित वैदेशिक रोजगार, सीप विकास, श्रमिक अधिकार, उद्धार तथा पुनःएकीकरणलगायतका विषयमा सरकार, सरोकारवाला निकाय र प्रवासी नेपालीबीच थप छलफल गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट