काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत चितवन राइनोजविरुद्ध कर्णाली याक्सले १५३ रन बनाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो। कर्णालीका लागि हुसैन तलातले अर्धशतकीय इनिङ्स खेले। उनले ३३ बलमा २ चौका र ३ छक्काको मद्दतले अविजित ५१ रन बनाए। तलातले अन्तिमसम्म क्रिजमा टिकेर टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए।
कर्णालीका ओपनर अरिफुल इस्लामले आक्रामक सुरुवात गर्दै १५ बलमा ४ चौका र २ छक्कासहित ३५ रन बनाए। गुल्सन झाले ६ बलमा १८ रन थपे। उनले १ चौका र २ छक्का प्रहार गरे। पवन सर्राफले २१ बलमा १५, दीपक दुम्रेले १० बलमा ७, डेभिड मिलरले ८ बलमा ५, सोमपाल कामीले ९ बलमा ४ र मार्क वाटले १५ बलमा ६ रन बनाए। नन्दन यादव २ रनमा अविजित रहे। बलिङमा चितवनका कमल ऐरी, सलाहुद्दिन खान र उसामा मिरले समान २ विकेट लिए। सिकन्दर रजाले १ तथा रिजन ढकालले १ विकेट हात पारे।
कर्णालीले पावरप्लेमा ३ विकेट गुमाएर ४६ रन बनाएको थियो। एक समय ६९ रनमा ५ विकेट गुमाएर दबाबमा परेको कर्णालीलाई तलातले सम्हालेका थिए। उनले गुल्सन झासँग मिलेर महत्वपूर्ण रन थपेपछि कर्णालीले १५० रनको आँकडा पार गरेको हो। प्रतियोगिताको शीर्ष चारबाट बाहिरिसकेको कर्णाली र शीर्ष दुईमा पुग्ने सम्भावना गुमाइसकेको चितवनबीचको यो खेल प्रतिष्ठाको लडाइँका रूपमा रहेको छ। चितवनले भने एलिमिनेटर खेल्ने निश्चित गरिसकेको छ।