
काठमाडौँ | त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुई किलोभन्दा बढी सुनसहित दुई महिला पक्राउ परेका छन् । क्याथे प्यासिफिकको जहाजमार्फत् हङकङबाट काठमाडौँ आइपुगेका ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन जिनपिङलाई प्रहरीले गएराती नियन्त्रणमा लिएको हो ।
भन्सार चेकजाँचको क्रममा उनीहरुले मलद्वार र भित्री वस्त्रभित्र लुकाएर ल्याएकाे दुई किलो ३४८ ग्राम ८ थान गोलाकार अर्धठोस पदार्थ भेटिएको प्रहरीले जनाएको छ । बरामदको सुनको परिक्षण गर्ने काम भइरहेको बताइएको छ । पक्राउ परेका दुवै जनालाई भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी छ ।