
काठमाडौँ | प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अदालतले अस्वीकार गरेको छ । साथै, मुद्दाको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै सात दिनभित्रै अन्तिम सुनुवाइका लागि पेसी चढाउन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार यस्तो आदेश दिएको हो । दानबहादुर कार्कीले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारसमेतलाई विपक्षी बनाई प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध उत्प्रेषणको रिट दायर गरेका थिए ।
रिटमा अन्तरिम आदेशको माग गरिएको भए पनि सर्वोच्चले डा. मनोजकुमार केसी नेपाल सरकारको २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्तिपत्र बुझेर कार्यभार सम्हालिसकेको अवस्था रहेको उल्लेख गरेको छ । अदालतले प्रहरी संगठनको नेतृत्व देशको शान्ति सुरक्षा कायम गर्ने विषयसँग प्रत्यक्ष जोडिएको सार्वजनिक महत्वको संवेदनशील विषय भएको ठहर गरेको छ । रिट निवेदकले उठाएका कानुनी प्रश्न र माग गरिएको न्यायिक उपचारको निरुपण अन्तिम सुनुवाइका क्रममा हुने प्रकृतिको देखिएको भन्दै तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको आदेशमा उल्लेख छ । सुविधाको सन्तुलनसमेतलाई विचार गर्दा निवेदकको मागबमोजिम हाल अन्तरिम आदेश जारी गर्न आवश्यक नदेखिएको सर्वोच्चको ठहर छ ।
तर, प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली सँग सम्बन्धित विषयको महत्व, गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गर्दै सर्वोच्चले मुद्दाको शीघ्र सुनुवाइ गर्नुपर्ने आवश्यकता औँल्याएको छ । अदालतले विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भएपछि वा लिखित जवाफ पेस गर्ने अवधि समाप्त भएपछि सात दिनभित्रै सुनुवाइका लागि पेसी चढाउन आदेश दिएको छ । साथै, पेसी स्थगित गर्न नपाइने पूर्वसूचना दुवै पक्षलाई दिएर नियमानुसार पेस गर्न पनि आदेशमा भनिएको छ । यस आदेशसँगै तत्कालका लागि डा. मनोजकुमार केसी प्रहरी महानिरीक्षक (आईजीपी) का रूपमा कार्यरत रहने बाटो खुलेको छ भने उनको नियुक्तिको वैधानिकतासम्बन्धी प्रश्नको अन्तिम निरुपण भने सर्वोच्च अदालतको अन्तिम सुनुवाइपछि हुनेछ ।