काठमाडौँ | प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको उल्लेख गरेका छन् ।
उनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै बदलिँदो परिवेशमा डिजिटल माध्यमबाट हुने हिंसासमेत थप चुनौतीका रूपमा देखिएको बताएका छन् । संविधानको मर्मअनुरूप समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा रूपान्तरण गर्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन् । प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई सरकारले प्राथमिकता दिएको उल्लेख गरे । यी प्रयासलाई प्रभावकारी बनाउन कानुनको कार्यान्वयन, सामाजिक चेतना, संस्थागत जवाफदेहिता तथा तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ ।
यसै वर्ष भदौ महिनामा भोटेकोशी क्षेत्रमा गएको बाढीले पुर्याएको क्षतिको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्नेतर्फ विशेष सचेत रहनसमेत आग्रह गरेका छन् । अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आमनागरिकको सक्रिय सहभागिता तथा ऐक्यबद्धताका लागि उनले आह्वान गरेका छन् । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको हो ।