पढ्न करिब 2 मिनेट लाग्छ

फागुन १, कञ्चनपुर | तरकारी खेतीमार्फत युवालाई स्वरोजगार बनाउका लागि बेलौरी नगरपालिकाको कृषि शाखाले अनुदान रकम उपलब्ध गराएको छ ।

युवा लक्षित कार्यक्रमअन्तर्गत आठजना युवालाई रु ४० हजारका दरले अनुदान रकम उपलब्ध गराइएको हो ।

एक वर्षमा दुई मौसममा एक बिघा खेतमा व्यावसायिक तरकारी खेती गर्नका लागि अनुदान रकम उपलब्ध गराइएको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले बताउनुभयो । विदेशिने युवालाई गाउँमै रोजगारीका अवसर प्रदान गरी स्वरोजगार बनाउन रकम प्रदान गरिएको उहाँको भनाइ छ ।

“अनुदान पाएका युवालाई मौसमी र बेमौसमी तरकारी खेतीबारे प्राविधिक ज्ञान दिएर दक्ष बनाउँछौ,” उहाँले भन्नुभयो, “अनुदान रकम प्रदान गरी तरकारी खेतीका लागि प्रोत्साहित गरिएका युवालाई स्वदेशमै विदेशभन्दा बढी कमाइ गर्न सक्षम बनाउँछौ ।”

शाखाले प्रधानमन्त्री आधुनिकीकरण कार्यक्रमअन्तर्गत २० वटा पकेट क्षेत्र निर्धारण गरेको छ । दश हेक्टर जग्गामा धान, गहुँ, उखु, तरकारी र तोरी खेतीका पकेट क्षेत्र निर्माण गरी किसानलाई अनुदान रकम उपलब्ध गराउने योजना रहेको शाखाका प्राविधिक हरिश सेठीले बताउनुभयो ।

पकेट क्षेत्र बनाई खेती गर्ने किसानलाई शाखाका तर्फबाट रु दुई लाख नौ हजार र किसानले त्यत्तिकै रकमको व्यवस्था गरी खेती गर्नुपर्ने उहाँ बताउनुहुन्छ । सो कार्यक्रममार्फत सहकारी र कृषक समूहलाई प्रोत्साहित गरिनेछ । कार्यक्रमका लागि सूचना प्रकाशित गरिएकामा पकेट क्षेत्र निर्धारण गरी खेती गर्नका लागि २६ वटा सहकारी र समूहले निवेदन दर्ता गराएका छन् । छनोटमा परेका समूह र सहकारीलाई अनुदान रकमसँगै प्राविधिक सेवा उपलब्ध गराइनेछ ।रासस