दाङ फूलबारीका एक परिवारका सबै सदस्य देउखुरीस्थित आफन्तको घरमा गएका थिए । घरमा १५ दिनकी सुत्केरी कौशिला (नाम परिवर्तन) मात्रै थिइन् । मध्यरात कसैले ढोका ‘ढकढक’ बजायो।

घरमा एक्लै रहेकी कौशिलाको मुटुले ठाउँ छोड्यो । उनी बोल्न सकिनन् । केहीबेरपछि ढोका फोडेर एकजना भित्र छिरे । बाहिर अरू धेरै जनाको आवाज सुनिन्थ्यो । घर खानतलासी गर्दै माथिल्लो तलामा एक्लै पुगेका नकावधारीले महिलालाई देखेपछि घरका अरु सदस्यका बारेमा सोधे । उनले घरमा कोही नभएको जबाफ दिइन् । नकावधारीले त्यसैको मौका छोपे।, यो खबर आजको नागरिक दैनिकमा छ

हतियारसहितका ती नकावधारी सुत्केरी कौशिलामाथि जाइलागे । उनी प्रसवपीडामै थिइन् । ती व्यक्तिको जबरजस्ती करणीले पीडा बढ्यो । उनी चिच्याउन खोज्दै थिइन् । ‘कराइस् भने मारिदिन्छु भन्दै धम्की दियो,’ उनले भनिन्, ‘जति दुखे पनि बोल्नै नसक्ने अवस्था भयो।’ उनले आफूमाथि परेको बज्रपात कसैलाई भनिन्।

थाहा पाएमा घरपरिवारले आफूलाई हेला गर्लान् भन्ने डर थियो उनलाई । दुखाइ बढ्दै जान थालेपछि उनले आफूले भोग्नुपरेको पीडा देउरानीलाई सुनाइन् । कौशिलाले भनिन्, ‘घरमा कसैलाई पनि नभन्नु, मलाई हेला गर्न सक्नु हुन्छ भनेकी थिएँ ।’ देउरानीबाट केही दिनसम्म त कुरा फुस्केन । अन्ततः कुरा चुहियो । देउरानीले सासूलाई भनिछन्।

सासूले पीडितका पतलिाई । पति र सासू बारीमा काम गर्दै थिए । त्यहीबेला कौशिलालाई पतिले बारीमै बोलाए । उनी गइन् । ‘पतिले मलाई फरुवाले हान्न थाल्नुभएको थियो,’ उनले भनिन्, ‘सासूले नरोकेको भए त्यही दिन मरिसक्थें ।’ उनकै गल्ती देखाउँदै परिवारका सबै सदस्यले बारम्बार सताउन थाले । पति उनीबाट जसरी पनि मुक्त हुन चाहन्थे।

यही योजनाअनुरुप उनी विदेश गए । दिनरात परिवारका सदस्यहरुको गाली र दुर्यवहार बढ्दै गयो । तीन वर्षपछि घर फर्किए पनि पतिको व्यवहार परिवर्तन भएन । उनीमाथि घरबाट निस्कन दबाब पर्यो । त्यसपछि छोरी च्यापेर उनी माइतीको शरणमा पुगिन् । आफूलाई भोगको सबै कष्ट माइतीलाई बताएपछि उनी त्यहीं बस्न थालिन्।

उनका अनुसार पतिले विदेशबाट फर्केलगत्तै दोस्रो विवाह गरेका थिए । बहुविवाहको मुद्दा लाग्ने डरले उनले कान्छी पत्नीलाई घर भित्र्याउन सकेका थिएनन् । कौशिलालाई सम्बन्धविच्छेद गर्न बारम्बार धम्की दिएर उनका पतिले सताउन थाले । अन्ततः उनले पनि सहमति जनाइन् । एक अपरिचितले गरेको बलात्कारको पीडामा उनको परिवारले सहानुभूति देखाउन सकेन । बरु सम्बन्धै तोड्यो सदाका लागि।

कौशीला उदाहरण पात्र हुन् । बलात्कारको असह्य पीडा झेलेका पीडितहरु स्वयं यसको दोषी हुने गरेका घटना जिल्लामा कैयन् छन् । बलात्कार भइसकेपछि उनीहरुको परिवार घरबाट कसरी पन्छाउने भन्ने चिन्तामा रहन्छन्।

तुलसीपुरको एउटा परिवारले एक बलात्कृतलाई १३ वर्षमै विवाह गरी परिवारबाट पन्छायो । मामाघर जाने क्रममा बसमा सामूहिक बलात्कारको सिकार बनेकी ती किशोरीलाई परिवारले नै अलग गराइदियो । बलात्कारपछि रक्ताम्य भएर घर पुगेकी ती किशोरीलाई उपचारका लागि अस्पताल पुर्याएपछि परिवारले बलात्कार भएको थाहा पायो । अनि छोरीलाई घर लैजान मानेन । घरपरिवारको इन्कारपछि अस्पतालले पनि ती बालिकालाई परिवारसँग पठाउन कर गरेन।

उनलाई संरक्षण गृहमा राखियो र मनोसामाजिक प्रशिक्षण दिन थालियो । बालिका बिस्तारै शारीरिक तथा मानसिक रुपमा तयार हुँदै गइन् । तर घर लैजना परिवार पटक्कै सहमत भएन । महिला अधिकारकर्मीले परिवारलाई सम्झाउन गरेको सात महिनाको प्रयासपछि परिवार बल्ल छोरी लैजान राजी बन्यो । तर पीडितलाई परिवारका कुनै सदस्यले पनि सकारात्मक नजरले हेरेन । पीडितलाई गाली गर्न थालियो।

उनका अभिभावक केटाको खोजीमा लागे । तर ती बालिकाले विवाह गर्न इन्कार गरिन् । उनको बोली कसैले सुन्ने कुरै भएन । अन्ततः छिमेकी गाउँकै एक युवकसँग छोरीको इच्छाबेगर विवाह भयो ।जिल्लामा हुने बलात्कारका घटना र घटनापछिको अवस्था हेर्ने हो भने परिवार तथा समाजले बलात्कारको सम्पूर्ण दोष पीडितलाई नै थोपर्छ । पीडित नै ‘उस्तै’ भएका कारण घटना भएको अपजस लगाइन्छ।

एक वृद्धा आफ्नै भाइबाट बलात्कार हुँदा उनले न घरको आश्रय पाइन् न माइतीको । भारतमा बस्दै आएका भाइलाई दिदी असाध्यै माया गर्थिन् । उनले जीवनको अन्तिम कालखण्डको सहारा भाइ नै हुने सोचेकी थिइन् । तर तिनै भाइ ‘पिशाच’ बनेर प्रस्तुत भए । एउटा सुनसान रात सहोदर भाइले दिदीभाइको पवित्र सम्बन्ध सिध्याएनन् मात्रै, भाइप्रति असाध्यै प्रेम गर्ने दिदीलाई अर्धमृत पारेर छोडे।

पीडित दिदीले आफूमाथि परेको अन्यायको ‘निसाफ’ खोज्न कानुनी बाटो रोजिन् । बलात्कार गर्ने भाइविरुद्ध प्रहरीमा जाहेरी दिइन् । प्रहरीले भाइलाई पक्राउ गर्यो । आफूमाथि ‘कुकृत्य’ गर्ने अपराधी भाइ समातिएको खबरले दिदीको मन शान्त हुँदै थियो । तर भाइ पक्राउ परेपछि माइती पक्ष उनीविरुद्ध ओइरिए । उनी माइतीको नजरमा ठूलो ‘दुश्मन’ भइन् । केही काम बिग्रियो भने उनीतिरै औंला ठड्याइन्छ।

उनी माइतीकै आश्रयमा छिन् । वर्षौंअघि पतिले कान्छी भित्र्याएपछि उनी घरबाट निस्कन बाध्य भएकी थिइन् । अहिले माइती पक्ष नै चिढिएपछि उनलाई सबै बिराना लाग्न थालेका छन् ।बलात्कारका घटनापछि पीडितहरु शारीरिक तथा मानसिक रुपमा विक्षिप्त हुन्छन्।उनीहरुलाई आवश्यक स्वास्थ्योपचारसँगै मानसिक परामर्श आवश्यक हुन्छ।

पीडितलाई मात्रै हैन, पीडितका परिवारलाई पनि मानसिक परामर्श दिनुपर्छ । ‘कुनै परिवारले घटनालाई सहज रुपमा लिएको पाइँदैन । पीडितकै दोष देखाएर परिवार पन्छिन खोज्छ,’ एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन तथा राप्ती उपक्षेत्रीय अस्पतालकी नर्स राधा पौडेलले भनिन्, ‘पीडित र पीडितका परिवारलाई पनि सँगै राखेर परामर्श दिने गरिन्छ ।’ सुरुमा पीडितलाई स्विकार्नै नचाहने परिवार परामर्शपछि सहमत त देखिन्छन् तर पीडित निर्दोष रहेको देख्न चाहँदैनन्।

बलात्कृतकै दोष !