-प्रनिश गिरी
धौलागिरिमा कम्युनिष्ट आन्दोलन उद्भव र विकास विषयक पुस्तकबारे अन्तरक्रिया कार्यक्रम केही दिन पहिला पर्वतको सदरमुकाम कुश्मामा गरिएको थियो । यो पुस्तकका लेखक बाग्लुडका कृष्णबहादुर केसी हुन् । उनी एक राजनीतिक व्यक्तित्व पनि हुन् । कार्यक्रममा जिल्लाका कम्युनिष्ट पार्टीहरुका जिल्ला नेतृत्व र कार्यकर्ता साथै अध्ययनमा चाख राख्ने केही विद्धत वर्गहरु सहित सर्वसाधारणको सहभागिता थियो । पुस्तक लेख्नु आफैमा सहज कुरा हैन । त्यसमा पनि सार्थक र उपयोगी विषयवस्तु समेटिएको पुस्तक लेख्नु झनै कठिन साध्य कार्य हो । उसो त बजारमा अनगिन्ती बेतुकका पुस्तकहरुको कमी छैन ।
यति भनिरहदा केसीद्धारा लिखित पुस्तक जसले धौलागिरिकै कम्युनिष्ट आन्दोलन उद्भव र विकासलाई उजिल्याउन खोजेको छ । पुस्तकको शीर्षक चयनबाट नै यसले पाठक माझ देखाउन र खुलाउन खोजेको विषय प्रष्ट हुन्छ । पुस्तकमा धेरै कुरा दिन भन्दा पनि धौलागिरिमा कम्युनिष्ट संगठन थालनीको शुरुवाती अवस्था, सहभागी व्यक्तित्वहरु, संगठन विस्तार, तत्कालिन अवस्थामा कम्युनिष्ट कार्यकर्ता संलग्न भई गरेका केही सामाजिक र राजनीतिक घटनाक्रमहरु, नेकपा माओवादी जनयुद्धको प्रभाव लगायतका विषयहरुको विवरणात्मक उठान गरिएको छ । केही कुराहरु छुटेका पनि छन् । लेखकले धौलागिरिकै कम्युनिष्ट आन्दोलनबारे पुस्तक लेख्थे या लेख्ने थिएनन् ? उनी एम.ए. राजनीतिशास्त्रमा गर्दै गरेका विद्यार्थी भएकोले पनि शोधकार्यका लागि यो विषयमा पुस्तक लेख्न पुगेको देखिन्छ । जे होस् उनले जे गरे राम्रै गरे भनी मान्नुपर्छ । एउटा बहसको शुरुवात भएको छ ।
पुस्तकको विषयवस्तु विवरणात्मक भएपनि धौलागिरिको कम्युनिष्ट आन्दोलनलाई सामान्य जान्न र बुझ्न खोज्ने पाठकहरुलाई सहयोग अवश्य पुग्ने छ । मैले यहाँ यो पुस्तकको समिक्षा र विश्लेषण गर्न खोजेको नभई पुस्तकबारेको अन्तरक्रिया कार्यक्रममा सहभागी भई सकेपछि मेरा मनमा उव्जिएका आफ्ना केही विचारहरु राख्ने जमर्को गर्दैछु । धौलागिरि अंचलबाट कम्युनिष्टहरुको योगदान मुलुकको राजनीतिक आन्दोलनमा कति छ भन्ने कुरा यहाँ उल्लेख गरिरहनुपर्ने कुरा हैन । राजनीतिको सामान्य ज्ञान राख्ने सवैलाई थाहा छ कि योगदान अतुलनीय छ । समग्र धौलागिरि अंचलबाट मुलुकको राजनीतिक आन्दोलनमा कम्युनिष्टहरुले पुराएको योगदानबारेमा केन्द्रित रहेर पुस्तक छापिएको कमै पाईन्छ । यही अभावको नेरोफेरोमा पुस्तक आउनु वामपन्थीहरुका लागि सुखद पक्ष हो । पुस्तक प्रकाशन गर्नु, पढ्नु अनि पढाउनु माक्र्सवादीहरुका लागि सामान्य हो भने त्यो भन्दा कयौ गुणा व्यवहारमा लागू गर्नु हुन्छ । मेरा एक शिक्षक मित्रलाई बामपन्थी लेखक मोदनाथ प्रश्रितले भनेको कुराले राम्रोसँग मन छोएको रहेछ ।
त्यो के भने प्रश्रितले उनीसँगको भेटमा भनेछन् –अहिलेसम्म माक्र्सवादको सिद्धान्त पढ्ने र पढाउने काम मात्र भो तर कहिल्यै व्यवहारमा ल्याईएन । माक्र्सवाद पढेर हैन रहेछ । व्यवहारबाट पो आउने रहेछ ।’ यो उनको भनाईमा सच्चाई छ । उसो त नेकपा एमालेका नेता समेत रहेका गौथलीको गुड नामक पुस्तक लेख्ने लेखक प्रश्रित शिक्षा मन्त्री भईसकेपछि अकुत सम्पत्ति कमाएर काठमाडौ बौद्धमा आलिशान बंगाला बनाएको भनी आलोचित छन् । केही कम्युनिष्टहरुमा बोली र व्यवहारमा सामान्जस्यता नहुँदा नेपाली जनताको नजरमा पाखण्डीको दर्जा पहिरिएका छन् । वास्तवमा केसीले पुस्तक लेखे । राम्रो काम गरे । उनले धौलागिरिको कम्युनिष्टको ईतिहास र केही नालीवेली बाहिर ल्याउने जमर्को गरे । अव बामपन्थी लेखक, बुद्धिजीवि, चिन्तकहरुको दायित्व के हुने ? यो महत्वपूर्ण प्रश्न हो । धौलागिरिको समग्र बामपन्थी ईतिहास, पार्टी संगठन, राजनीतिक आन्दोलनमा योगदान, बामपन्थी आन्दोलनले पारेको सामाजिक, आर्थिक, भौतिक, सांस्कृतिक प्रभाव साथै धौलागिरिमा नेकपा माओवादीको जनयुद्धले राजनीतिक परिवर्तनमा खेलेको भूमिका लगायतका विषयहरुमा गहन खोजी गर्दै विश्लेषणात्मक लेखनी आवश्यक छ ।
मुुलुक संघीयतामा जादै गरेको अवस्थामा अवको राजनीतिक जस र प्रभावका लागि साथै परिवर्तनका मुद्धाहरु संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समानुपातिक, समावेशी राजनीतिक प्रणालीलाई जोडदार स्थापित गर्न पनि बामपन्थी आन्दोलनको सटिक विश्लेषण र व्याख्या धौलागिरिबासीका माझ ल्याउनु बामपक्षधर लेखकहरुको अनिवार्य धर्म हो । मुलुक परिवर्तनको संघारमा छ । दशवर्षे जनयुद्ध र पटक पटक भएका जनआन्दोलनको उपलव्धि गुम्ने खतरा समेत नेपाली राजनीतिमा मडारिएको छ । यथास्थितीवादी र पुरातनपन्थीहरुले भारतीय विस्तारवादको आडमा लुटिएको स्वर्ग फेरि पाउने सपना पालेका छन् । यसबारेमा अव प्रगतीशील र परिवर्तनगामी लेखक र चिन्तकले जनताका सामु यथार्थ कुरा लैजान सक्नुपर्छ । नेपाली जनताले यतिखेरको कालखण्डमा कहिल्यै नपाएको पीडा र दुःख भोग्नुपरेको छ । पहिले महाविनाशकारी भूकम्पले हजारौ गरीव नेपालीको ज्यान लग्यो । वास लग्यो । अंगभंग बनायो । भूकम्पका कारण पीडा व्यहोरेको एक वर्ष भईसक्दा पनि सर्वसाधारण पीडितहरुले राहत पाएका छैनन् । भूकम्प पीडितका भत्केका घर र संरचना निर्माण गर्ने भनी गठन हुन लागेको पुर्ननिर्माण आयोगमा राजनीतिक भर्ती र पार्टीगत स्वार्थले गाजेको छ ।
पीडितको पीडालाई वेवास्ता गरिन्छ । अर्कोतर्फ भारतीय शासकले नाकावन्दी गरेर आफ्नो विवेकशुन्य राक्षसी अनुहार देखायो र नेपाली जनतालाई भोकमरी र रोगले थिलोथिलो पारेर भएपनि आफ्नो स्वार्थ पुरा गरेरै छाड्छु भनी अड्डी कस्यो । संविधान बन्न नदिएर रोकावट हाल्न खोज्यो । जसका कारण महंगी र कालावजारी अनि भ्रष्टचारले नेपाली जनतालाई रुवायो । यो सवै दुखदायी घटनाहरु विच बामपन्थी लेखक र बुद्धिजीविको भूमिका के हुने ? खाली कोठे गफ र गुटगत राजनीतिको माला जप्ने तर जनताको भावनालाई आत्मसात गरेर कलम चलाउन आँट र हिम्मत किन नगर्ने ? के यो सुहाउदो कुरा हुन सक्ला ? अवको २० वर्ष पछिको हाम्रो नेपाली समाज र मुलुकको आर्थिक प्रगति र भौतिक विकास अनि जनताको जीवनस्तर कस्तो हुने ? हामी विकसित मुलुकका सभ्य र धनी नेपाली भनेर कहिले चिनिने ? लगायतका विषयमा यथार्थवादी र वैज्ञानिक ढंगले जनवादी विचारहरु दिनसक्नु पर्दछ । समाजमा रहेका शोषण, अन्याय र अत्याचारका विरुद्ध नेपाली जनतालाई कसरी जागरुक बनाउदै उत्पादनमुखि कार्यमा संलग्न गराउने भन्ने विषयमा चिन्तन हुनु आवश्यक छ । जनतालाई खाली आन्दोलित बनाउने र उक्साउने तर जनताको पेट भर्नेतिर ख्याल नगर्ने बामपन्थी चिन्तनले अव काम गर्दैन । हिजोको समाज र वर्तमानमा धेरै अन्तर आईसकेको छ । विज्ञान र सूचना प्रविधिले भौतिक विकासमा धेरै फड्को मारिसकेको छ । यसलाई गंभीर भई बामपन्थी पार्टीले बुझ्न आवश्यक छ भने कम्युनिष्ट लेखक हुँ भन्ने जनवादी लेखकको पगरी गुथ्न चाहने लेखक महोदयले समेत यसबारेमा गंभीर हुनैपर्छ ।
हिजो बुर्जुवा शिक्षा भनी तिरस्कार गरेका पुर्व जनमुक्ति सेनाका हजारौ लडाकुहरु जनयुद्ध लडाई लड्दा शरीरमा लागेको गोलीको दाग हेर्दै मरुभूमिमा रगत पसीना बगाउन बाध्य छन् । तिनीहरुको मनमा शान्ति नआएसम्म यो मुलुकको शान्ति प्रक्रिया कसरी टुंगोमा पुग्न सक्छ ? नेपाली राजनीतिमा अझ कतिसम्म गुनपचेकाहरु छन् भने जनयुद्ध आवश्यक नै थिएन भन्ने तर्क गर्ने समेत छन् । वास्तवमा जनयुद्ध यो वा त्यो पार्टीपंक्ति र व्यक्तित्वले नेतृत्व गरेका भनेर पूर्वाग्रही चश्माले हेर्नु भन्दा पनि अधिकार र न्यायबाट बञ्चित रहदै आएका शोषित र पीडित नेपाली जनतामा वर्षौदेखि रहेको सत्ता र शक्ति प्रतिको आक्रोशको खतरनाक ज्वालामुखि हो । जुन जनताको ज्वालामुखिको रापमा सवै खाले जनविरोधी शक्तिहरु डढेर खरानीमा राग भए । यतिखेर केही बचे खुचेका पुरातन शक्तिहरु फेरि आफ्नो स्वार्थी फणा उचाल्न खोज्दै गरेको छनक पाइएको छ । आज पार्टीगत र गुटगत कट्टु समाल्दै ठिक्क हुने लेखकले कसरी जनताको पक्षमा लेख्न सक्छ ? भारतीय बाम बुद्धिजीवि र लेखकहरुको धौलागिरिमा खडेरी नै लागेको भने हैन । यहाँ प्रगतिशील लेखक संघ साथै पार्टी पिच्छे बुद्धिजीवि परिषद् नामका संगठन पनि छन् । ती संगठनहरुमा पढेलेखेका कलम चलाउन सक्ने व्यक्तिहरु भएपनि समयसापेक्ष प्रगतिशील विचारहरु पस्कने लेखकहरुको भने खडेरी नै छ भन्दामा अत्युक्ति नहोला ।
प्रगतिशील लेखक र बुद्धिजीवि नामधारीहरुले केही नयाँ विचार र चिन्तन पस्कन सकेमा राम्रो हुने थियो । सामाजिक, आर्थिक, साँस्कृतिक पक्षमा सुधारोन्मुख पक्ष र भएका विकृतिलाई बाहिर पर्दाफास गर्ने जमर्को गर्ने भन्दा पनि पद र पगरी पाउनमै तल्लीन हुने केही लेखक र स्वनामधन्य बुद्धिजीविहरुले कम्युनिष्ट आन्दोलनमा के योगदान पुराउलान् ? यो प्रश्नमा प्रशस्त आशंका छ । माक्र्स र एङ्गेल्सद्धारा १८४८ मा तयार पारिएको विश्वप्रसिद्ध कम्युनिष्ट पार्टीको घोषणापत्रमा साम्यवाद भनेको शोषणविहिन, वर्गविहीन र समतामूलक समाजको स्थापना गर्दै निजी सम्पत्तिको उन्मूलन गर्नु नै साम्यवादको ध्येय हो भनी दावी गरिएको छ । वास्तवमा भन्ने हो भने नेपाली समाज सामान्तवादी वर्गचरित्रबाट पूँजीवादी अर्थव्यवस्थामा हाम फालिसकेको छ । यहाँ पूँजीको बोलबोला छ । पूँजी आर्जन गर्न सक्नेको यहाँ बोलबोला छ भने गर्न नसक्नेलाई समाजले चिन्दैन । हुने र नहुने वर्ग विचको विभेदको खाडल गहिरो बन्दैछ । कम्युनिष्ट नामधारी प्राणी समेत आफै कसरी सुकिला र मुकिला बन्न सकिन्छ भन्ने चिन्तनमा छन् भने जनताका छोराछोरीलाई कसरी सुकिलामुकिला बनाउने भन्ने बारेमा सोच्ने उनीहरुलाई फुर्सद छैन ।
समाज र मुलुकको भौतिक विकासको आधार मानिने शिक्षा क्षेत्र तहसनहस भएको अवस्था छ । शिक्षामा राज्य नियन्त्रित शिक्षालाई भन्दा निजीतिर जनताको आकर्षण बढ्दो छ । जनयुद्धकालीन अवस्थामा माओवादीले केही हदसम्म बन्द गराईएका नीजि स्कुलमा अहिले हिजोका जनमुक्तिसेनाका छोराछोरीहरुले पढ्दैछन् । त्यो कसरी भन्नुहोला ? जनमुक्तिसेनाका लडाकु रोजगार गर्न खाडी मुलुक अरव, कतार पुगे । उनीहरुले आफूजस्तो भएपनि छोराछोरीको उज्जवल भविष्यको कामना गरी छोराछोरीलाई नीजिमा पढाउन सकीनसकी बाध्य भएका छन् । यही एउटा उदाहरण पनि काफी छ कि नेपाली समाजको उल्टो गति गमनलाई हेर्न । यो शिक्षाको विभेद कसरी हटाउने ? राज्यको शासकीय प्रणाली कसरी जनमुखी र जनवादी बनाउने बारेमा बामपन्थीहरुले तिखो र खरो कलम चलाउन आवश्यक छ । त्यो भन्दा पनि अझ महत्वपूर्ण कुरा जनताका सामुन्ने आफ्ना आदर्श नेताहरुका कमिकमजोरीलाई जनता माझ लैजाने हिम्मत गर्नुपर्छ । अझ अर्को कुरा कम्युनिष्ट पार्टी सदस्यको चरित्र र आचरण साथै जीवनशैली अनि उसले समाज र संगठनमा खेल्ने भूमिकाबारे प्रष्ट राख्नुपर्छ । मुनाफाखोर, दलाल, भ्रष्ट एनजिओकर्मी कम्युनिष्ट सदस्य हुने कि नहुने ? यो गंभीर प्रश्न हो । यस्ता अनगिन्ती सवालमा कम्युनिष्ट लेखक हु भन्नेले लेख्ने आँट गरोस् तव समानतामुलक समाज निर्माणमा केही टेवा पुग्न सक्ला ।
-लेखक सहारान्यूज दैनिकका सम्पादक हुन ।