पढ्न करिब 2 मिनेट लाग्छ

जेठ ३२, डोटी | जिल्लाको केआइसिंह गाउँपालिकालाई जिल्लामै पहिलोपटक आज साक्षर गाउँपालिका घोषणा गरिएको छ । ‘हाम्रो गौरव हाम्रो पहिचान, साक्षर गाउँ सबैको अभियान’ भन्ने नाराका साथ उक्त गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकामा रहेका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९५.८ प्रतिशत नागरिक साक्षर भएकाले गाउँपालिकालाई साक्षर घोषणा गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकाभरिमा भएका नागरिकमध्ये ९५.८ प्रतिशत नागरिक साक्षर भएकाले हामीले साक्षर गाउँपालिका घोषणा गरेका हौँ ।”

जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले स्थानीय तहमा केआइसिंह गाउँपालिका पहिलोपटक साक्षर गाउँपालिका घोषणा हुन सफल भएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “केआइसिंह गाउँपालिका पहिलो साक्षर गाउँपालिका हुन सफल भएको छ, सबैले यसरी नै साक्षर हुनसके हाम्रो जिल्ला निकट भविष्यमै साक्षर जिल्ला हुनेछ ।” आफूहरुले निकै मेहनेत तथा परिश्रम गरेर केआइसिंह गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, “साक्षर गाउँपालिका घोषणा गर्न हामी अहोरात्र खटियौ र सफल पनि भयौं, हामी यसैमा खुशी छौँ ।” उक्त कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझी, राष्ट्रिय अनुसन्धानका डोटी प्रमुख हरिष विष्ट, नेपाली काङ्ग्रेस डोटीका सभापति प्रदीपकुमार देउवा, वडाध्यक्ष, जिल्ला समन्वय समितिका सदस्य, गाउँ कार्यपालिकाका सदस्य, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको उल्लेख्य सहभागिता थियो । साक्षर गाउँपालिका घोषणामा स्थानीय झाँकी, विभिन्न विद्यालयका चेतनामूलक नाटक तथा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

यसैबीच केआइसिंह गाउँपालिका डोटीको आयोजना र सामुदायिक सेवा केन्द्र तथा समुदाय प्रहरी साझेदारी केन्द्र डोटीको संयोजकत्वमा लैङ्गिक हिंसा, घरेलु हिंसा, लागुऔषध, छाउपडी, बालविवाह, बहुविवाह र ट्राफिक जनचेतना विषयको कार्यक्रम गरिएको छ ।

‘प्रहरी मेरो साथी’अन्तर्गत जिल्ला प्रहरी कार्यालय डोटीले जिल्लामा पछिल्लो समय बालविवाह, घरेलु हिंसा, लागुऔषध, छाउपडी प्रथा अन्त्यका विषयमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । प्रहरीले सञ्चालन गरेको कार्यक्रमका कारण जिल्लामा हुने विभिन्न खाले आपराधिक क्रियाकलापमा कमी आएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले सञ्चालन गरेका विभिन्नखाले जनचेतनामूलक कार्यक्रमले समाजमा हुने आपराधिक क्रियाकलापमा कमी आएको छ, यो कार्य निरन्तररुपमा अगाडि बढ्नेछ ।” रासस