२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विद्यार्थीको तरकारी बारीमै सड्दै

१७ बैशाख २०७७, बुधबार ०३:४२

वैशाख १७, लम्की | टीकापुर पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेको गोलभेँडाले बजार नपाएर बारीमै सड्न थालेको छ । लकडाउनका कारण गोलभेँडाले बजार नपाएपछि विद्यार्थी चिन्तामा छन् । 

इन्स्टिच्युट परिसरमै खेती गरेका उनीहरुको बारीमा दैनिक पाँच क्विन्टल गोलभेडा निस्कन्छ । पकेट खर्च निकाल्न खेती गरेका विद्यार्थी निराश भएका छन् । ‘‘हामी विभिन्न तरकारी खेती गर्छौँ, यस वर्ष पनि गरेका थियौँ’’, विद्यार्थी कविता शाहीले भन्नुभयो, ‘‘गोलभेँडा त पूरै नष्ट हुने देखिएको छ । हिउँदमा गरिएको अन्य तरकारीले भने बजार पाएको थियो ।’’ 

वाली विज्ञानतर्फ डिप्लोमा तहका विद्यार्थीले इन्स्टिच्युट परिसरमा छ बिघा जमीनमा तरकारी खेती गर्ने गरेका छन् । ‘‘बाहिरी जिल्लाबाट टीकापुर पढ्न आएका विद्यार्थी खेतिपातीमा बढी सक्रिय छौँ’’,  शाहीले भन्नुभयो, ‘‘तरकारी खेतीबाट भएको आम्दानीले हाम्रो पकेट खर्च चल्छ, खाजा खर्च घरबाट माग्न पर्दैन ।’’

शिक्षालय प्रमुख टेकेन्द्र थापाले कामकाजी विद्यार्थीका लागि पोलिटेक्निकले विद्यार्थी कल्याण कोष स्थापना गरिदिएको बताउनुभयो । ‘‘कृषि कर्मका लागि विद्यार्थीलाई आवश्यक जग्गा, बीउ, मल र प्राविधिक सहयोग शिक्षालयले गरिदिन्छ’’, थापाले भन्नुभयो, ‘‘आम्दानीको ४० प्रतिशत शिक्षालयको खातामा जम्मा हुन्छ भने ६० प्रतिशत आम्दानी काममा संलग्न विद्यार्थीलाई दिइन्छ ।’’

इन्स्टिच्युट प्रमुख थापाले पोलिटेक्निक इन्स्टिच्युटमा बाहिरी जिल्लाका धेरै विद्यार्थी अध्ययनरत रहेकाले उनीहरुले फुर्सदमा गरेको तरकारी खेतीबाट आफ्नो खर्च निस्कने गरेको बताउनुभयो । ‘‘विद्यार्थीले अन्य तरकारी पनि लगाएका छन् । इन्स्टिच्युट हाताभित्र लटरम्म तरकारी फलेको छ’’, शिक्षालय प्रमुख थापाले भन्नुभयो, ‘‘यहाँ ६ विघा जमीनमा छुट्टाछुट्टै ६ वटा करेसाबारी छन् । यतिबेला करेसाबारीमा बन्दागोभी, करेला, बोडी, गोलभेँडा, खुर्सानी, काँक्रा, भिन्डीलगायतका तरकारी फलेका छन्, उत्पादित तरकारीले बजार पाउन सकेको छैन ।’’

विद्यार्थीको अधिकांश समय करेसाबारीमै बित्छ । उनीहरु कक्षा कोठाभन्दा बढी समय करेसाबारीमै बिताउँछन् । शिक्षालय प्रमुख थापाले विद्यार्थीले कक्षाकोठामा पढेभन्दा बढी लब्धाङ्क करेसाबारीको पाठ्यक्रमबाट प्राप्त गर्ने भएकाले पनि तरकारी खेती गरिएको बताउनुभयो ।‘‘ चालीस लब्धाङ्क सैद्धान्तिक र ६० लब्धाङ्क प्रयोगात्मकका आधारमा हुन्छ’’, प्रमुख थापाले भन्नुभयो, ‘‘‘पढेको भन्दा प्रयोगात्मकमा विद्यार्थीले धेरै सिक्छन्, तरकारी बिक्रीबाट उनीहरुको केही आम्दानी पनि हुन्छ ।’’

विद्यार्थी सुष्मा विकले तरकारी बेचेको रकम पढाइ शुल्क तिर्नमा  लगाउने गरेको बताउनुभयो । ‘‘केही बचेको रकम पकेट खर्च हुन्छ’’, विकले भन्नुभयो, ‘‘पढाइसँगै आम्दानीसमेत भइहेको छ । सानोतिनो खर्चका लागि अभिभावकसँग माग्नुपरेको छैन ।’’

टीकापुर पोलिटेक्निक इन्स्टिच्युट प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा सञ्चालित संस्था हो । यसलाई सुदूरपश्चिम प्रदेशको नमूना प्राविधिक शिक्षालय बनाउने सरकारको योजना भए पनि पर्याप्त बजेटका अभावमा यसले थुप्रै समस्या व्यहोर्दै आएको छ । संस्था स्थापनाका लागि तत्कालीन टीकापुर विकास समितिले २५ बिघा जमीन निःशुल्क उपलब्ध गराएको हो । हाल सो जग्गामा केही भौतिक पूर्वाधार निर्माण भएका छन् । संस्थाले आइएस्सी एजी, बीएस्सी एजीका साथै २०७५ सालदेखि भेटेरिनरी र डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाइसमेत शुरु गरेको छ । प्रमुख थापाका अनुसार संस्थामार्फत विभिन्न सीपमूलक तालीमसमेत सञ्चालन भइरहेका छन् । ती तालीमबाट धेरै व्यक्तिले रोजगारी प्राप्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान