2026-09-01 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

एमाले महाधिवेशनमा चम्कियो अल्लो कपडाको व्यापार, दिनकै एक लाख कमाउँछन् बुढामगर दम्पती

मंसिर १२, चितवन, कुलप्रसाद काफ्ले | प्युठानका खिमबहादुर बुढामगर दम्पतीलाई एमालेको १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थल सौराहामा अल्लो (सिस्नोको प्रजाति) को कपडा बेच्न भ्याइनभ्याई छ । अल्लोको धागोबाट आफैले बनाएको कोट, टोपी र झोला बेच्न उनीहरू प्युठानदेखि चितवन आएका हुन् ।

खिमबहादुर र उनकी श्रीमती चित्रकली बुढामगर दिनभर कपडा बेच्नमा व्यस्त देखिन्छन् । एमालेको महाधिवेशनलाई उनीहरूले राम्रो मौकाका रूपमा लिए । एमालेले चितवनमा महाधिवेशन गर्ने तय भएपछि बुढामगरका दम्पती अल्लोको कपडा बेच्न चितवन आउने निधो गरे । 

नारायणी नदी किनारमा १० मंसिरमा महाधिवेशनको उद्घाटन हुँदै थियो । उनीहरू ७ मंसिरमै चितवन आइपुगे । त्यही दिनदेखि नदी किनारमा मञ्चको अगाडि कपडा बेच्न थाले । राति नारायणगढ लिलाचोकस्थित एक अतिथि सदनमा बास बसे ।

बन्द सत्रका लागि सहभागीहरू १० मंसिरको राति महाधिवेशन प्रतिनिधि सौराहा आए । उनीहरू पनि कपडा बेच्नका लागि सौराहा आएका हुन् । ‘बन्दसत्र यहाँ (सौराहा) हुने भएपछि हामीहरू पनि यहीँ आयौँ । शनिबार ९५ हजारको व्यापार भएको थियो’, खिमबहादुरले भने । 

दैनिक सरदर एक लाखको व्यापार

अल्लोको टोपीलाई उद्योगबाट खुद्रामा बिक्री गर्दा प्रतिटोपी सात सय रुपैयाँमा बिक्री हुन्थ्यो । व्यापारीलाई दिने थोक मूल्य प्रतिटोपी पाँच सय रुपैयाँ थियो । अहिले महाधिवेशनलाई लक्षित गरेर खुद्रामा पनि प्रतिटोपी पाँच सय रुपैयाँमा नै बिक्री गरिएको उनले बताए ।

‘देशभरका महाधिवेशन प्रतिनिधिले लगाउन् भनेर थोककै मूल्यमा बिक्री गरेका छौँ’, उनले भने । स्टकोटलाई ३५ सय, जुवारी कोटलाई ४५ सय र फुल कोटलाई नौ हजारमा बिक्री गरिएको उनले बताए । त्यही मूल्यमा एउटा टोपी पनि दिने गरिएको उनको भनाइ छ । टोपी नलैजानेलाई पाँच सय रुपैयाँ छुट दिने गरिएको छ ।

उद्योगबाटै कपडा बेच्दा दिनमा उनीहरूको १५ हजार रुपैयाँजतिको व्यापार हुन्थ्यो । महाधिवेशनको उद्घाटनका दिनमा भने एक लाख आठ हजार रुपैयाँको व्यापार भएको उनले बताए । महाधिवेशनअघि ८ मंसिरमा ८० हजार र ९ मंसिरमा ७९ हजार रुपैयाँको व्यापार भएको उनी बताउँछन् । 

श्रीमान् श्रीमती नै अध्यक्ष र व्यवस्थापक

कपडा बनाउने उनीहरूको आफ्नै उद्योग छ । प्युठानमा कोठिहिमाल अल्लो कपडा उद्योग छ । उद्योगको अध्यक्ष उनकै श्रीमती चित्रकली हुन् भने व्यवस्थापक खिमबहादुर । ‘मुख्यत: हामी महाधिवेशनकै लागि भनेर आएका हाैं । महाधिवेशनमा व्यापार पनि सँगसँगै गरौँ भनेर आयौँ’, उनले भने, ‘पहिला त मान्छेहरूले यो कपडा खासै चिन्दैनथे । किन्दैनथे पनि । अहिले चाहिँ चिन्ने जतिले किनिरहेका छन् ।’

अल्लोको कपडाले गर्मीमा शीतल र जाडोमा न्यानो बनाउने उनी बताउँछन् । यो कपडाले सुगर र प्रेसर पनि नियन्त्रण गर्न सघाउने उनको भनाइ छ । चित्रकलीले २०६२ मा अल्लोको कपडा बनाउने तालिम लिएकी हुन् । मगर समुदायमा भांग्रा बनाउने र अल्लोको धागो निकाल्न जान्ने महिलासँग मात्रै पुरुषले विवाह गर्नुपर्ने विगतमा त्यहाँको चलन थियो । त्यस्तै, सीप नभएको पुरुषसँग मात्रै महिलाको विवाह गरिदिने प्रचलन थियो ।

‘पहिला किनेर लगाउन सक्ने अवस्था थिएन । किन्न परे पनि पैसा हुन्थेन । त्यसैले महिलामा अनिवार्य यसको धागो निकाल्ने र बुन्ने सीप हुनुपर्थ्याे। छोरा मान्छेमा चाहिँ हलो तान्ने, डोको बुन्ने जस्ता सीप हुनुपर्थ्याे’, उनले भने, ‘अहिले चाहिँ किन्न पाइन्छ । मान्छेले विभिन्न जागिर गर्छन् ।’

उनीहरूले २०४२ सालमा विवाह गरेका हुन् । दुई जना छोरा र बुहारी छन् । छोराबुहारी पनि अल्लोकै कपडा बनाउने र बेच्ने काममा लागेका छन् । परिवारका सदस्यसँगै अरु नौ जनालाई पनि रोजगार दिएका छन् । धागो निकाल्न धेरै मान्छेको आवश्यकता पर्ने भएकाले अप्रत्यक्ष रूपमा हजारौँ जनाले पनि रोजगारी पाएको उनी बताउँछन् । कपडा उद्योगमा एक करोडभन्दा बढी लगानी रहेको उनले बताए । व्यापार बढ्दै गएकाले थप मेसिनको आवश्यक परेको छ । उनीहरूले अहिलेसम्म पनि हातले नै धागो निकाल्ने गरेका छन् । 

आफ्नै जग्गामा अल्लो खेती

प्युठानको नौबहिनी गाउँपालिका-६ र १० मा अल्लो बनाउने उनीहरुको उद्योग रहेका छन् । ‘घरतिर त दिनदिनै व्यापार हुँदैन । महिनामा भन्नुपर्दा तीनदेखि चार लाख रुपैयाँका कपडा हामीले बेच्ने गर्छाैं । यहाँ माैका मिलेको छ । दिनमै एक लाखको हाराहारीमा व्यापार भइरहेको छ’, चित्रकलीले भनिन् ।

ससुराले दिएको नौ रोपनी जग्गामा उनीहरुले अल्लो खेती गरेका छन् । त्यो देखेर अरुले पनि गाउँमा अल्लोको खेती गरेको उनी बताउँछिन् । अल्लोलाई स्थानीय भाषामा पुगा पनि भन्ने गरिन्छ । अल्लोका कपडा पनि विभिन्न किसिमका छन् । कुनै शतप्रतिशत अल्लोबाट बनेका कपडा छन् भने कुनैमा २५ देखि ७५ सम्म वुलन मिसाइएका कपडा पनि छन् । ‘कुनै कपडामा हामीले वुलन पनि मिसाएका छौँ । हाम्रो नेपालीलाई झिल्के देखिनुपर्छ, त्यसकारण हामीले मिसाएका हौँ’, उनले भनिन् । 

खरानी पानीमा पकाएर अल्लोको धागो निकालिन्छ । अल्लो पकाउने मेसिन खरिदका लागि पोखरा विश्वविद्यालय र कोरिया विश्वविद्यालयले अनुदान दिएको उनले बताइन् । ‘हाम्रो देशमा उत्पादन भएको कपडा लगाउने र अरुलाई पनि प्रोत्साहन गर्नुपर्छ । यो कपडा सस्तो र स्वास्थ्यका लागि पनि उपयुक्त छ’, उनले भनिन् । 

धागो निकाल्न नजान्ने महिलाको विवाह नहुने

विवाह भइसकेपछि श्रीमतीले आफ्नो श्रीमानका लागि भांग्रा र कछाड बनाइदिनुपर्ने परम्परा रहेकाले माइतीमा छँदै आमाले आफ्ना छोरीहरूलाई भांग्रा र कछाड बनाउन सिकाउने उनी बताउँछिन् । ‘धागो निकाल्न जानेन भने त्यस्तो महिलाको विवाह नै नहुने हुन्थ्यो । हाम्रो गाउँमा अझै पनि त्यस्ता महिला चार जना छन्, धागो निकाल्न नजानेर विवाह नभएका’, उनी भन्छिन्, ‘कोही हाम्रो उमेरका । कोही हामीभन्दा अलि जेठा छन् ।’

२०६२ सालमा तालिम लिएर उनले व्यावसायिक रूपमा अल्लोको कपडा बनाउन थालेकी हुन् । ‘सुरुमा त मैले धागो मात्रै बनाएर काठमाडौँमा लगेर बेचेको हो । तालिम लिएपछि कपडा नै बनाएर बिक्री गर्न थालेँ’, उनले भनिन् । आफूले बनाएका अल्लोका कपडा उनले काठमाडौँको भृकुटीमण्डपमा लगेर प्रदर्शनीमा पनि राखेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन