मङ्सिर १९, तुलसीपुर | खोला छेउमै देखिने झुपडी । वरिपरि काठले बारिएको छ । त्यो पनि ठूला–ठूला छिद्रा परेको । भित्र के छ ? बाहिरबाट हेर्दा सबै देखिन्छ । हिउदयाम सुरु भयो ।
अवरोधभित्र सिरेटो छिर्छ तर, राप्ती गाउँपालिका–५ भुल्केखोला निवासी ७८ वर्षीय बालाराम घर्तीले त्यस्ता सिरेटो खप्न थालेको वर्षौं भयो । उहाँ त्यस्ता सिरोटो खप्ने बानी नै परिसक्नुभएको छ । “२०६३ सालमा बाढी आएर घर बगायो, अहिले म बसेको ठाउँमा गोठ थियो”, उहाँले भन्नुभयो, “त्यही गोठलाई जग उठाएर म बस्ने छाप्रो घर बनाएको हुँ ।” उहाँले त्यो छाप्रोमा १६ वर्ष बिताइसक्नुभएको छ ।
जस्तापाताका लागि निवेदन दिएको जनाउँदै जस्ता आएपछि छाना बनाउने उहाँले बताउनुभयो । “हजुरहरु केही चिन्ता नगर्नुहोला । गुजारा भइ त राछ, क्यारे । टिन मिले छ भने गर्नुपर्ला”, उहाँले भन्नुभयो, “झन्झट छ । भताभुङ्ग हुन्छ । भत्काउने हो भने बर्बाद हुन्छ हजुर । मलाई यही राम्रो छ ।”
उहाँका दुई छोरा हुनुहन्छ तर, दुवै छोरा छुट्टै बस्नुहुन्छ । कहिलेकाहीँ जेठा छोराकामा गएर बस्ने गरेको भए पनि प्रायः त्यही छाप्रोमा उहाँको बास हुन्छ । त्यो छाप्रोलाई पनि उहाँले दुई तले बनाउनुभएको छ । तल खाना पकाउने र माथि सुत्ने बनाउनुभएको छ । उहाँकी श्रीमती बितेको पनि धेरै वर्ष भयो । उहाँ अहिले त्यही छाप्रोमा एक्लै जीवन बिताउनुभएको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भने यो घरमा टिन उपलब्ध गराउने बताउनुभयो । उहाँले अहिले त्यो घरबाट भित्र हावा छिर्ने र छिद्रा–छिद्रा परेकाले त्यसलाई पनि टालटुल पारिदिने बताउनुभयो । “वास पनि आधारभूत कुरा हो”, उहाँले भन्नुभयो, “हाम्रो पालिकाभित्रका कोही पनि नागरिक झुप्रोमा वास बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ, हामी त्यो अभियानमै छौँ ।”