८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

राजमार्ग विस्तारले पुरानो व्यापारिक केन्द्र डुम्रे बजार मासिने चिन्ता

२४ मंसिर २०७९, शनिबार ०५:५५

मङ्सिर २४,  डुम्रे | पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा सडक विस्तारका कारण यस क्षेत्रकै पुरानो व्यापारिक केन्द्र डुम्रे बजार मासिने अवस्थामा पुगेको छ । सडक विस्तारका कारण डुम्रे बजारका पुराना बासिन्दा विस्थापित हुने र पुरानो बजार मासिने अवस्था रहेको छ ।

राजमार्ग विस्तारका लागि मुग्लिन–पोखरा सडक विस्तार योजनाले राजमार्ग छेउका घरटहरा हटाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ । योजनामा सम्झौता भएअनुरुप पश्चिम खण्डभन्दा बढी घरटहरा पूर्वी खण्डमा हटाउनुपर्ने रहेको छ ।  

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाले राजमार्गको छेउमा रहेका घरटहरा हटाउन सुचना जारी गरेपछि बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारकी ७५ वर्षीया एकल महिला सरस्वती श्रेष्ठ विस्थापित हुनुपर्ने अवस्थामा पुग्नुभएको छ । 

“आफ्नो घरमूलीले बनाएको घर छोडेर जान मन छैन । परान यहीँ जाओस् भन्ने थियो । सर्नुपर्ने भएको छ तर, जाने ठाउँ छैन । रोगी छु कसरी घर बनाउने ? गाँसबास उठीबास भएको छ”, उहाँले भन्नुभयो, “हामीजस्ता घर बनाउन नसक्ने लाई सरकारले नै व्यवस्था गरे हुने हो । त्यस्तो गर्दैन ।”

आयोजनाले राजमार्ग विस्तारका क्रममा हटाउनुपर्ने भए पनि उहाँको अन्यत्र घर निर्माण गर्नसक्ने अवस्था छैन । “बाटो बढाउने भनेर हामीजस्ता काम गर्न नसक्ने लाई त उठीबास लगायो । पैसा दिएर मात्र के गर्नु आफूले घर बनाउन सक्दिन । खै अर्को ठाउँमा घर बनाउन जन पनि छैन धन पनि छैन । हामी जस्ताको घर कसले बनाइ दिने हो”, सरस्वती भन्नुभयो ।

सडक विस्तारका क्रममा डुम्रे बजारको अस्तित्व मेटिने सोही स्थानका ६३ वर्षीय जीवनकुमार श्रेष्ठ बताउनुहुन्छ । राजमार्ग विस्तारले घरबारविहीन बनाएको उहाँले दुखेसो व्यक्त गर्नुभयो । योजनाले दिएको रकमले घर बनाउन पनि र जग्गा पनि नभएका व्यक्तिलाई राज्यले नै व्यवस्थापन गर्नसके सहज हुने उहाँको भनाइ छ । 

एकल ज्येष्ठ नागरिकका समस्या समाधान गर्न सरकारले घर भत्काएपछि घर नै उपलब्ध गराउनुपर्ने ४८ वर्षीया एकल महिला बट्टै श्रेष्ठले बताउभयो । “घर भत्काएर हामी कहाँ जाने ? घर बनाउन पुग्ने रकम आउँदैन । हामीजस्ता विपन्न र एकललाई समस्या निम्त्याएको छ”, उहाँ भन्नुभयो । 

तनहुँ उद्योग वाणिज्य सङ्घ महिला उद्यमी व्यवसायी समिति पूर्वसभापति सरिता श्रेष्ठ पियाले तनहुँ, लमजुङ, मनाङ र गोर्खाको ऐतिहासिक व्यापारिक केन्द्रको संरक्षण राज्यले गर्नुपर्ने बताउनुभयो । पहाडकी रानी बन्दीपुरको ऐतिहासिक व्यापारिक महत्वपूर्ण क्षेत्रको संरक्षणमा सरकारको दायित्व भएको उहाँले बताउनुभयो । 

“साँगुरिएको क्षेत्रमा बसेको बजारलाई मासिने गरी राजमार्ग विस्तार गर्नुहुँदैन । ऐतिहासिक बजारको संरक्षणका लागि राजमार्ग विस्तारका क्रममा बजार क्षेत्रमा केही कम दूरी बनाएर संरक्षण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “कुनामा पहाड र छेउमा खोला रहेकाले डुम्रेको बस्ती हटेपछि सडकको महत्व रहदैन । बजारको संरक्षण गरेरै राजमार्ग निर्माण गर्नुपर्छ ।”

यहाँको बजार विस्थापनले व्यापारिक क्षेत्रको औचित्यको अन्त्य गर्ने उहाँको भनाइ छ । “प्रधानमन्त्रीले डुम्रे बजारको संरक्षण गर्ने आश्वासन दिनुभएको छ । हामी विश्वस्त छौँ । सरकारमार्फत नै संरक्षण हुन्छ भन्ने आशावादी छौँ”, पियाले भन्नुभयो । 

डुम्रे क्षेत्रको साँगुरिएको ठाउँमा एकल परिवारका घर बढी रहेको र सडक विस्तारको क्रममा घर भत्काएपछि राज्यले बासको व्यवस्थापन गर्नुपर्ने पिया बताउनुहुन्छ । “एकल परिवारका लागि जग्गा नै बाँकी रहँदैन । उहाँहरुको सन्तान नभएका परिवारलाई सरकारले नै बासको व्यवस्थापन गर्नुपर्छ”, उहाँले भन्नुभयो । 

उद्योग वाणिज्य सङ्घ डुम्रे बजार एकाइका सभापति हेमलाल विकले राजमार्ग विस्तारले डुम्रे बजारको ऐतिहासिक व्यावसायिक क्षेत्रको अस्तित्व हराउने बताउनुभयो । 

राजमार्गले डुम्रे बजारमा २५ मिटर विस्तार गर्दा २० देखि २५ घर मात्रै बाँकी रहने उहाँ बताउनुहुन्छ । “हामी विकास विरोधी होइनौँ । ऐतिहासिक क्षेत्रको संरक्षण हुनुपर्छ । घरबारविहीन हुने अवस्थामा पुगेका व्यक्तिको संरक्षणको सरकारले जिम्मा लिनुपर्छ”, विकले भन्नुभयो । 

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजना पूर्वी खण्डका सामाजिक विज्ञ चिन्तामणि शर्माले योजनाले जमिनरहित व्यवस्थापन गर्न लागेको बताउनुभयो । एकल तथा ज्येष्ठ नागरिकलाई एकदेखि तीन महिनासम्मको घरभाडा व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । 

“राजमार्ग विस्तारका क्रममा वडा तथा स्थानीय तहसँगको सहकार्य एवं समन्वयमा ज्येष्ठ नागरिक तथा एकल व्यक्तिको व्यवस्थापन गर्ने योजना बनाएका छौँ”, शर्माले भन्नुभयो, “त्यस्ता व्यक्तिको हकमा स्थानीय तहसँग समन्वय गरेर व्यवस्थापन र विकास निर्माणका कार्य अगाडि बढाउनेछौँ ।”

तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले घर भत्काउँदा लाग्ने खर्च व्यक्तिले नै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । राजमार्ग घरटहरा भत्काउँदा लाग्ने खर्चबाहेक स्थानान्तरणका लागि सोही व्यक्तिले नै गर्नुपर्ने प्रावधान रहेको उहाँले बताउनुभयो । 

“ज्येष्ठ नागरिक तथा एकल भएको खण्डमा उहाँहरुलाई थप रु २१ हजार व्यवस्था गरिएको छ । प्रशासन तथा सरकारले बनाइदिने अहिलेसम्म प्रावधान छैन । 

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी निर्माण कार्य भइरहेको छ । पूर्वी खण्डअन्तर्गत मुग्लिनबाट जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चिनियाँ कम्पनी चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यस राजमार्गको साइडमा ग्याबिन जाली लगाउने तथा पर्खाल लगाउने कार्य भइरहेको छ । 

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा राजमागृ विस्तार गरेर चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । 

चार लेनको राजमार्ग बनाउँदा सडक सीमा दुईतर्फी २५–२५ मिटर र बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटर र दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय